☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुने

  |

जुम्ला : पर्यटन प्रवर्द्धन गर्ने जुम्लामा दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ। कर्णालीका धार्मिक तथा पर्यटकीय स्थललाई चिनाइ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जुम्लामा दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको हो। कर्णाली खेलकुद क्लब जुम्लाले पत्रकार सम्मेलन गरी यही भदौ २९ गतेदेखि जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको जानकारी दिएको हो।

म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने कर्णाली खेलकुद क्लब जुम्लाका अध्य्क्ष सरोज शाहीले बताए। ‘यो म्याराथन नेपाल ट्रेल सेरिज २०१९ को प्रमुख पाँच अल्ट्रा म्याराथनमध्ये  एक हो। यो सेरिजको सेमिफाइनलका रूपमा पनि म्याराथनलाई लिइएको छ,’ अध्यक्ष शाहीले भने। उनले म्याराथनको आवश्यक तयारी पनि पूरा गरेको जानकारी दिए।

सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले म्याराथन आयोजना गर्न लागिएको कर्णाली खेलकुद क्लब जनाएको छ।  म्याराथन कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट शुरु भएर टुडिखेल, कर्णाली अस्पताल, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउर, काभ्रा, चौथा, भुलभुले, चुचेमारा भएर रारातालमा पुगेर समापन हुनेछ। प्रतियोगितामा खुला महिला र पुरुष गरि दुई समूहमा म्याराथन हुने एथ्लेटिक्स धावक हरीबहादुर रोकायाले बताए।  बालबालिकाका लागि पाँच किलोमिटर र एक किलोमिटर दौड सञ्चालन गराइने उनले बताए।

उनका अनुसार दुवै समूहका विजेता धावकमध्ये प्रथमलाई ७५ हजार रुपैयाँ, द्वितीयलाई ५० हजार रुपैयाँ र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै टप टेनसम्ममा आउने खेलाडीलाई पाँच हजार नगद, ट्रफी, मेडल, सर्टिफिकेट उपलब्ध गराइने आयोजकले जनाएको छ। यो म्याराथनमा विजेता धावकले अन्नपूर्णमा पहिलो पटक हुन लागेको विश्व विख्यात, अल्ट्रा म्याराथन २०१९ को फाइनलमा विश्वका उत्कृष्ठ खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न पाउने बताइएको छ। म्याराथनमा सहभागिताको लागि दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ तोकिएको छ।

संघका केन्द्रीय अध्यक्ष  शाहले गरे एक लाख दिने घोषणा

एथ्लेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीव विक्रम शाह खेलकुद परिषदमा भइरहने चर्को राजनीतिले नेपालको खेल क्षेत्र अघि बढ्न नसकेको बताए। ‘अहिलेसम्म ४९ जिल्लामा एथ्लेटिक्स संघ छन्। संघले हरेक जिल्लाबाट नियमानुसार खेलाडी उत्पादन गर्नुपर्छ’ उनले भने, ‘नम्बर एक खेलाडी उत्पादन हुने जिल्ला भनकै जुम्ला हो। जुम्लामा खेल क्षेत्रको प्रयाप्त सम्भावना छ। यसले कर्णाली प्रदेशलाई नै चिनाउँदछ।’

उनले खेल क्षेत्रमा सरकारको ध्यान नपुगेको प्रति दुःख पोखे।  उनले हरेक एक वर्षमा गरी  पाँच वर्षसम्म एक/एक लाख रुपैयाँ कर्णाली खेलकुद क्लबलाई दिने घोषणा पनि गरे।

थाहाखबरबाट

प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६     9:21:44 PM
error: Content is protected !!