☰ open Loading... 19 April 2024|  

जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव
  | २० भाद्र २०७६, शुक्रबार २१:२८

जुम्ला, जुम्लामा कृषि, पर्यटन तथा  औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महोत्सवको उद्घाटन गरेका छन् ।महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले महोत्सव आर्थिक समृद्धिको एक आधार भएको बताए । प्रचारप्रसारकै अभावले जुम्लाको अर्गानिक उत्पादनले बजार नपाएको उल्लेख गर्दै महोत्सवले बजारीकरणमा इँटा थप्ने उनको भनाइ थियो । जुम्लाको समुचित विकास र यहाँका सम्भावनाको प्रचारप्रसार गरी आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकारले चासो दिएको उनले बताए ।

महोत्सव उद्घाटन समारोहमा सहभागी हुन प्रदेश सरकारका संघीय मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र पर्यटनमन्त्री नन्दसिंह बुढा पनि जुम्लामा पुगेका थिए । उद्घाटन समारोहमा मन्त्रीहरूसँगै विशिष्ट व्यक्तिको सहभागिता रहेको जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहारले बताए ।  महोत्सव व्यवस्थापनमा झन्डै एक करोड खर्च हुने उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पुरिचन्द्र देवकोटाले बताए । महोत्सव २९ भदौसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा अर्गानिक उत्पादन
महोत्सवमा एक सयभन्दा बढी स्टल राखिएका छन् । अधिकांश स्टलमा जुम्लामै उत्पादन भएका वस्तु राखिएका छन् । अर्गानिक वस्तुमा आधारित स्टलहरूमा अर्गानिक फापरको केक, कागुनाको खिर, जुम्ली मार्सी धानको चामल, सिमी, ओखर, चिनो, सेल रोटी, कोदाका रोटी, आलु चिप्सलगायत परिकार राखिएका छन् ।

त्यस्तै, जुम्लामा पाइने राडीपाखी र ऊनका कपडा राखिएका छन् । जिल्लाका पर्यटकीय स्थलका तस्बिर पनि प्रदर्शनीमा राखिएको छ ।  महोत्सवमा स्थानीय बासिन्दाको घुइँचो लागेको छ ।