☰ open Loading... 16 April 2024|  

कर्णालीका कर्मचारीले तलव पाएनन्
  | २७ भाद्र २०७६, शुक्रबार १२:१९

सुर्खेत । नेपालीहरुको महान चाड दशैको मुखमा कर्णाली प्रदेशका कर्मचारीहरुले भने मासिक तलवभत्ता नपाउने अवस्था देखिएको छ । कर्मचारीहरुको दरवन्दी र कार्यालयको पुनःसंरचना (ओ एण्ड एम) गर्ने नाममा कर्मचारीहरुको विचल्ली पारेर प्रदेशका प्रमुख सचिव काठमाडौं टाप कसेका छन् ।

ओएण्डएम अलपत्र पारेर मुख्य सचिव केवलप्रसाद भण्डारी काठमाडौं हानिएपछि बजेट कार्यान्वयनको सुरुवात गर्नुपर्ने समयमा कर्णालीको कर्मचारी प्रशासन लथालिंग अवस्थामा पुगेको छ । हरेक महिनाको २५ गते साधारणतया कर्मचारीहरुको चालु महिनाको तलवभत्ताको खर्च लेख्ने गरिन्छ । तर कर्णाली प्रदेशका कर्मचारीहरुले साउन महिनाको समेत तलव पाएका छैनन् ।

मन्त्रालय र संसद सचिवालयका राजनीतिक नियुक्ति पाएका र त्यहाँ कार्यरत कर्मचारीहरुले भदौ महिनाको तलवभत्ता बुझिसक्दा पनि मन्त्रालयकै महाशाखा÷शाखा र जिल्ला तहमा रहेका कार्यालयहरुका कर्मचारीहरुले तलव पाउन सकेका छैनन् ।

प्रमुख सचिव गैरजिम्मेवार बनेर समस्या समाधान नगरि काठमाडौं बसेको भन्दै सरकारका मन्त्रीहरु नै असन्तुष्ट रहेका छन् । कर्णाली प्रदेशका एक मन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘कर्मचारीको प्रमुख बनेको व्यक्ति नै ओएण्डएम लथालिंग पारी काठमाडौं बस्नु र कर्मचारीहरुले तलवभत्ता समेत समयमा पाउन नसक्ने अवस्था सिर्जना हुनु गम्भिर विषय हो ।’

ओएण्डएम गर्न विशेषज्ञमा नियुक्त भएका विश्वराज डोटेल कर्मचारीहरुको विरोध भएपछि राजिनामा दिएर सुर्खेत छोडेका छन् । खासगरि कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन (सिबिए) को कडा विरोध पछि उनले जिल्ला छोडेका हुन् ।

कर्मचारीहरुको दरवन्दी र कार्यालयको पुनः संरचना गर्ने नाममा कर्णाली प्रदेशमा रहेका कार्यालयहरु जथाभावी गाभ्ने र फरक–फरक सेवा समुहका कार्यालयहरुलाई समेत एउटै कार्यालयमा गाभेर संगठनात्मक संरचना बनाएको भन्दै कर्मचारीहरु असन्तुष्ट बनेका थिए । उनीहरुले यसरी कार्यालय गाभ्दा पेशागत सुरक्षा र पदोन्नतीको सुरक्षा कमजोर बन्ने बताएका थिए ।

सिबिएले भने विशेषज्ञ नियुक्ति नै गलत भएको भन्दै आपत्ति जनाएको थियो । कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन (सिबिए) सुर्खेतका अध्यक्ष मोहन गिरीले एक छलफल कार्यक्रममा २४ घ बाट रिटायर हुने बेला बढुवा भई उपसचिब बनेका डोटेलले सचिबको ओएण्डएम कसरी गर्न सक्छन् भनि गम्भिर आपत्ति जनाएका थिए । उनले विशेषज्ञको क्राईटेरिया के हो भनी प्रश्न समेत गरेका थिए ।

असोज सुरु हुन लाग्दा समेत तलवभत्ता पाउन नसकेका कर्मचारीहरु भने दशै अगाडी तलव नपाईने हो की भन्दै चिन्तामा परेका छन् । असोज १२ देखि दशै सुरु हुने भएकोले अबका १५ दिन भित्र यो समस्या समाधान हुनेमा उनीहरु विश्वस्त छैनन् । सिबिएका अध्यक्ष गिरीले भने सरकारले कुनै पनि हालतमा बैकल्पिक व्यवस्था गरेर भएपनि कर्मचारीहरुलाई तलवभत्ता दिनुपर्ने बताउछन् । ‘राष्ट्रसेवक कर्मचारीहरुलाई तलवभत्ता नदिएर दशै मान्न सरकारले पठाउदैन होला,’ गिरीले भने ।

यस बारेमा जानकारी लिन खोज्दा प्रदेश सरकारका प्रवक्ता विमला केसीले प्रतिक्रिया दिन चाहिनन् । प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीको भने फोन उठेन । सिद्धदर्शन दैनिकबाट