☰ open Loading... 20 April 2024|  

कर्णालीका १७ लाख ७० हजार जनताकाे प्रदेश सरकारले गर्याे वीमा
  | १ आश्विन २०७६, बुधबार १६:१५

सुर्खेत । कर्णाली प्रदेश सरकारले सबै प्रदेशवासी लाभान्वित हुने गरी सामूहिक दुर्घटना बीमा कार्यक्रम सम्बन्धी सम्झौता गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच बुधवार सम्झौता भई बीमा शुभारम्भ गरिएकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई थप राहत दिन बीमा कार्यक्रम लागू गरिएको बताउनुभयाे । ‘हरेक प्रकारका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको प्रदेश कर्णाली नै हो । भीरपाखा धेरै भएको प्रदेश हो । बर्सेनि धेरै मानिस भीरबाट खसेर मर्ने गरेका छन्,’ उहाँले भन्नुभयाे, ‘आगलागी, चट्याङ, बाढीपहिरो जस्ता विपत्ति कर्णालीमा आउने गरेको छ । सरकार तथा जनतालाई धेरै ठूलो राहत दिने अपेक्षासहित बीमा कार्यक्रम ल्याएको हो । सबै जनताको बीमा गर्ने भनेर कम्पनीसँग सम्झौता गरेका हौं ।’

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बीमा कार्यक्रमको सम्झौता ऐतिहासिक पल भएको बताउनुभयाे । ‘केही यस्ता कार्यक्रम हुन्छन्, जो कार्यक्रम हेर्दाखेरी सामान्य लाग्छन् तर यसले गहिरो प्रभाव पारिरहेको हुन्छ । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध निकायलाई क्रियाशील हुनका लागि आग्रह गर्दछु,’ मन्त्री भण्डारीले भन्नुभयाे, ‘मन्त्रालय, बीमा संस्थान, अन्य संस्था र स्वयं जनताले पनि ऐतिहासिक कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । समाजवाद उन्मुख अर्थतन्त्रका लागि यस्ता कार्यक्रम आवश्यक छ । समाजवाद उन्मुख देश हो भन्ने कुरा यस्ता कार्यक्रमले जनाउँछ ।’ कार्यक्रम अन्तर्गत चालू वर्ष १० हजार घरको बीमा गराइने उहाँले बताउनुभयाे ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कर्णाली सरकारले कर्णालीवासीकोे लागि सामाजिक न्याय गरेको बताउनुभयाे । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले समाजवादउन्मुख अर्थतन्त्रलाई टेवा पुर्‍याउन सामूहिक दुर्घटना बीमा सहयोगी हुने बताउनुभयाे ।

मौलिक हकमा रहेको सामाजिक सुरक्षाको कार्यक्रमलाई तीनै तहका सरकारले महत्त्व दिएको बताउँदै कम्पनीले निर्जीवन बीमा गर्ने, व्यावसायिक दक्षता बढाइ पहुँच विस्तार गर्दै आम्दानी गर्ने र नेपाल सरकारले ल्याउने यस्ता सामिाजिक सुरक्षामा सामाजिक उत्तरदायित्वको काम गर्ने बताउनुभयाे ।

‘कर्णाली प्रदेशमा धेरै जोखिम छन् । यी सबैलाई एकै पटक समाधान गर्न समस्या छ । सबैलाई एउटै डालोमा समेटेर १७ लाख ५० हजार जनताको बीमा गरिएको छ,’ उहाँले भन्नुभयाे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा कार्यान्वयन गरिएको विमा कार्यक्रम अन्तरगत कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको निशुल्क विमा सुविधा प्राप्त गर्नेछन । त्यसैगरि विपद दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रति घर ५ लाख रुपैयाँको विमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

विमा कार्यक्रमका लागि सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सामुहिक रुपमा गरिने विमाको प्रिमिएम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विमा कम्पनीलाई भुक्तानी गर्नेछ ।