☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

अटिजम पत्ता लगाउन सुर्खेतमा परीक्षण शिविर सञ्चालन गरिँदै

  |

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा असोज १४ र १५ गते अटिजम पहिचान शिविर सञ्चालन गरिने भएको छ । अटिजम केयर सोसाईटी कर्णाली प्रदेशका अनुसार कर्णाली प्रदेशमा ३५ सय भन्दा बढी अटिजम भएका बालबालिका रहेकोले पत्ता लगाउन शिविरको आयोजना गर्न लागिएको हो ।


यसअघि नै वीरेन्द्रनगरमा अटिजम परीक्षण शिविर आयोजना गरिसकिएको छ भने असोज १४ र १५ गते काठमाडौंबाट डाक्टर आउने र उनीहरुले अटिजम परीक्षण गर्नेछन् । कर्णाली प्रदेशका सांसद समेत रहनुभएका संस्थाका अध्यक्ष सुशील थापाले कार्यालय रहेको बीरेन्द्रनगरको वडा नं. ७ इत्राम, शिवालय चोकमा उक्त शिविर राखेका जानकारी दिनुभयो ।

उहाँले शंका लागेका बालबालिकालाई शिविरमा ल्याउन आग्रह गर्नुभएको छ । जाँच गर्न कुनै शुल्क लाग्ने छैन् । १३ महिनापछि आफ्नो छोरामा अटिजम भएको हो की भन्ने लागेको र १८ महिना पुग्दा मात्रै अटिजम भएको पत्ता लागेपछि आफुले यो अटिजमको बारेमा जनचेतना जगाउने, थेरापी गर्ने अभियानको सुरुवात गरेको उनको भनाई छ ।

‘मैले लाखौं रुपैंया छोराको उपचारका लागि खर्च गरेको थिएँ । अन्त्यमा अटिजम भएको पत्ता लाग्यो’ अध्यक्ष थापाले भन्नुभयो, ‘त्यसपछि यो अटिजम बारे जनचेतना जगाउनुपर्छ रु अन्य बालबालिकालाई थेरापी गरेर भएपनि उपचार गराउनुपर्छ भनेर म यसमा लागेको हुँ ।’

उनले विगत तीन दिनमा ४० जना वीरेन्द्रनगरमा अटिजम परीक्षण गर्न भनेर बालबालिका सम्पर्कमा आएको जानकारी दिनुभयो । ‘हामीले केहि पत्रिकामा सूचना राखेका थियौं’ उहाँले भन्नुभयो, ‘शंकास्पद ४० जना बालबालिकाका अभिभावकहरु हाम्रो स्म्पर्कमा आउनु भएको छ ।’

उहाँले प्रदेश सरकार यो वर्ष अटिजमका लागि भन्दै केहि बजेट विनियोजन गरेपनि उक्त बजेट कार्यान्वयनमा संस्थालाई असहज भएको बताउनुभयो ।प्रदेश सभा सदस्य तथा नेकपा संसदीय दलका सचेतक सीता नेपालीले कर्णालमिा कति जनामा अटिजम छ भन्ने अनुसन्धान गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । त्यसकालागि सदनमा आफूहरु कुरा उठाउन तयार रहेको उहाँको भनाई छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सरकारले अटिजम केयर सेन्टकालागि केहि बजेटको व्यवस्था गरेको बताउनुभयो । अटिजमलाई नीति तथा कार्यक्रममा पनि प्राथमिकताका साथ राखिएको उहाँको भनाई थियो ।

बच्चा गर्भमै रहेको समयमा ‘जिन’मा केही समस्या हुँदा बच्चालाई अटिजम हुने सम्भावना रहने सोसायटीकी लक्षी कार्कीले बताउनुभयो । उहाँका अनुसार यो समस्या एकदेखि डेढ वर्षको उमेरभित्रै थाहा पाउन सकिन्छ ।

अटिजमले बच्चाको शारीरिक वृद्धिमा खासै फरक नपारे पनि बच्चाको मानसिक विकासमा भने असर पु¥याउँछ । दोहोरो कुरा गर्न नसक्ने, उमेरअनुसार बोल्न, खेल्न नसक्नेजस्ता समस्या देखिने उहाँको भनाई थियो ।

‘अटिजम कहिले निको भने हुँदैन । तर, अटिजम भएका बालबालिकाले राम्रो साथ–सहयोग पाए भने उनीहरुको व्यवहारमा परिवर्तन भने ल्याउन सकिन्छ’ कार्कीले भन्नुभयो, ‘अटिजम भएका बालबालिकालाई छुटै साथ र सहयोगको आवश्यकता पर्छ र उनीहरुलाई शिक्षा–दीक्षा दिने तरिकासमेत पनि फरक हुन्छ । अटिजम कुनै चिकित्सकीय रोग भने होइन ।’

प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६     2:31:30 PM
error: Content is protected !!