☰ open Loading... 20 April 2024|  

मदिरा नियन्त्रण गर्दै प्रहरी
  | १५ आश्विन २०७६, बुधबार १२:३२

दैलेख, चामुण्डाविन्द्रासैनी नगरपालिका –८ रामनगर टोलका महिला यूवा तथा प्रहरीको साझेदारीमा घरेलु मदिरा कच्चा पदार्थ र मदिरा उत्पादन गर्ने भाडा नियन्त्रण गई नष्ट गरियो । गाउँभर मदिरा खाएर होहल्ला गर्नेलाई कार्वाही गर्ने उद्घोष समेत भयो । मदिरा नियन्त्रण गर्न थालेसंगै यहाँ सवै सचेत भएका समाजमा घरेलु हिसां पनि कम हुन थालेको वडाअध्यक्ष नारायण रेग्मीले बताए । नगरपालिकाभर मदिरा नियन्त्रणको अभियान थाल्नुपर्ने अध्यक्ष रेग्मीले जोड् दिए ।

जिल्लाका ११ स्थानीय तहमा रहेका प्रहरी यूनिटले स्थानीय सरकारसंग समन्वय गरेर १८ स्थानमा घरेलु मदिरा नियन्त्रणका लागि खोजतलास अभियान थालेको छ । ती स्थानहरुमा प्रहरीले गरेको खोजतलासबाट १६ सय ५३ लिटर मदिरा नष्ट गरिएको छ भने मदिरा बनाउने कच्चा पदार्थ ४हजार ३ सय ९७ लिटर नष्ट गरिएको दैलेख प्रहरीले जानकारी दिएको हो ।

जिल्लाका आठविस नगरपालिका, दुल्लुनगरपालिका, नारायण नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिका, गुराँस गाउँपालिकामा पर्ने प्रहरी यूनिटमार्फत एकै पटक अभियान थालिएको जनाईएको छ । मदिरा नियन्त्रणका लागि प्रहरीहरु गाउँगाउँमा पुगेको दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर वलीले बताए । ‘जिल्लाका १८ स्थानमा मदिरा नष्ट गर्ने काम सकिएको छ ।’ डिएसपी वलीले भने, नियन्त्रणका लागि अभियान जारी नै छ । दशैं तिहारमा घटना नहोस् भनेर अभियान थालिएको हो ।’ दुल्लुका हरेक वडाहरुमा जहाँ मदिरा बढी विक्रि र उत्पादन हुन्छ त्यहाँ नियन्त्रणका लागि टोली परिचालित भएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए ।

घरेलु मदिरामा पनि गाउँपालिकाले निगरानी बढाएको छ । जहाँ बढी झैझगडा हुन्छ पहिले त्यहाँ प्रहरीको सहायताले मदिरा बनउो सामाग्रीदेखी मदिरासम्म नष्ट गर्ने कार्य भईरहेको जनाईएको छ । घरेलु मदिराका कारण महिला हिंसा, बालहिंसा, अपराध जस्ता गतिविधिहरु हुन थालेपछि गाउँपालिका र प्रहरी मिलेर मदिरामा निगरानी बढाएको हो । भैरवी गाउँपालिका, नौमुले गाउँपालिका, महावु गाउँपालिकामा मदिरा नियन्त्रणपछि गाउँबस्तीहरु शान्त भएको महावु गाउँपापलिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडाहरुबाट मदिरा निगरानी राख्न थालिएको छ ।

अहिले स्थानीय अगुवाहरु, जनप्रतिनिधिहरु मिलेर मदिरा नियन्त्रण अभियानमा जुटेका हुन । उनीहरुलाई सहयोग गर्न प्रहरीहरु दिनरात खटेर लागेका छन् । अहिले चामुण्डामा घरघर पुगेर रक्सी खोजतलास गरि नष्ट गर्ने काम पनि तिव्र गतिमा भईरहेको छ । नगरपालिकालाई सुन्दर, मदिरा रहित नगर पालिका बनाउने उद्देश्य रहेको नगरपालिका प्रमुख सुर्यबहादुर शाहीले बताए । बजार क्षेत्र र गाउँहबाट घरेलु मदिरा जफत गरेर नष्ट कार्य गत वर्षबाटै भएको जनाईएको छ । मदिरामुक्त नगर बनाउँनका लागि आफुहरु घरेलु तथा बजारमा पाईने मदिरा विक्रिवितरणमा रोक लगाउनका लागि वडावडामा अभियानका रुपमा लागेको वडाअध्यक्ष निरकबहादुर शाहीले बताए ।

त्यस्तै ठाटीकाँध गाउँपालिकाभित्र पनि मदिरा उत्पादन र विक्रि वितरण कार्य रोकिएको छ । प्रहरीको सहयोगमा स्थानीय सरकारले मदिरा रोकेको हो । गाउँमा झैझगडादेखी विभिन्न हिसां हुन थालेपछि गाउँपालिकामा मदिरा रोकिएको गाउँपालिकाको उपाध्यक्ष सुस्मिता सिहंले बताईन् । ‘महिला हिसां गाउँमा बढ्न थालेपछि मदिरा विक्रिमा रोक लगाएका हौं ।’ उपाध्यक्ष सिहंले भनिन् ः जसले गर्दा परिवारमा कलह हुने र नकारात्मक असर पर्ने गरेकोमा अहिले कमी आएको छ ।’ नजिकैं गरेको दशैं तथा तिहार लगायतका पर्वलाई शान्तिपूर्ण बनाउन मदिरा नियन्त्रण अभियान स्थानीय सरकारले थालनी गर्नु निकै राम्रो काम भएको अधिकारकर्मी निर्मल अधिकारीले बताए ।