☰ open Loading... 20 April 2024|  

सालकोटमा पोष्टमार्टम भवन बन्यो तर प्रदेशले दिएन स्वीकृत
  | ३० आश्विन २०७६, बिहीबार ०७:२२

सुशील खड्का
सुर्खेत । पश्चिम सुर्खेत सालकोटमा नगरपालिकाको लागतमा पोष्टमार्टम भवन निर्माण गरेपनि सञ्चालनमा आउन सकेको छैन् । सामाजिक विकास मन्त्रालयले डाक्टरलाई पोष्टमार्टम सम्बन्धी तालिम नदिँदा निर्माण भएको भवन सञ्चालनमा आउन नसकेको हो ।

मन्त्रालयलाई पञ्चपुरी नगरपालिका र अस्पताल व्यवस्थापन समितिले भवन सञ्चालन अनुमति तथा डाक्टरलाई पोष्टमार्टम सम्बन्धी तालिम दिने व्यवस्था मिलाइदिन सिफारिस गरेपनि मन्त्रालयले कुनै सुनुवाई गरेको छैन् । पश्चिम सुर्खेतमा आत्महत्या, दुर्घटना लगायतका घटनाबाट नागरिकको मृत्यु भएमा पोष्टमार्टमका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर ल्याउनु पर्ने बाध्यता छ ।

भौतिक संरचना भएपनि नगरपालिकाको एकल प्रयासले मात्रै पोष्टमार्टम सालकोटमै गर्न नसकिएको पञ्चपुरी नगपालिकाका प्रमुख उपेन्द्र थापाले जानकारी दिनुभयो ।

आत्महत्या वा अन्य घटना भएमा पोष्टमार्टमकै लागि ४५ हजार खर्चेर वीरेन्द्रनगर धाउनु पर्ने बाध्यता रहेको उहाँको गुनासो छ । ‘ईलाका प्रहरी, ईलाका प्रशासन कार्यालय भएको ठाउँमा अनिवार्य पोष्मार्टम भवन आवश्यक पर्ने भएकाले नगरपालिकाको लागतमा भवन निर्माण ग¥यौं’ प्रमुख थापाले भन्नुभयो, ‘सञ्चालन गर्न कयौं पहल गर्दा पनि सुनुवाई भएको छैन् ।’

गत असारमै झण्डै २१ लाख खर्चेर भवन निर्माणको काम सम्पन्न गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीले जानकारी दिनुभयो ।

उहाँले दुई जना डाक्टरलाई पोष्टमार्टम सम्बन्धी तालिम दिने व्यवस्था गरिदिन मन्त्रालयलाई पत्रचार गरिसकेको बताउनुभयो । तालिम दिने खर्च नगरपालिकाले व्यहोर्छौं भन्दापनि सम्बन्धित निकायबाट सहयोग नपाएको गिरीले उल्लेख गर्नुभयो । पश्चिम सुर्खेतमा चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा झण्डै एक लाख नागरिकहरुको बसोबास छ ।