☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

बढ्दो अविश्वास, चुलिँदो चर्चा

  |

संसारभर नोबेल पुरस्कारका बारेमा उच्च चर्चा हुने गर्छ । जबजब यो पुरस्कार घोषणा हुने समय आउँछ, तबतब लेखकका साथै थुप्रै मानिस कसले जित्ला यो पुरस्कार भनी अनुमान गर्न थाल्छन् । अन्य पुरस्कार जस्तै यसका बारेमा पनि विवाद चल्दै आएको छ । पुरुषकेन्द्री पुरस्कार, वाम विरोधी पुरस्कार आदि जस्ता आरोप नोबेल पुरस्कारले झेल्दै आएको छ । पुरस्कारमा अति राजनीति हुने गरेको आरोप समेत सुनिँदै आएको छ । यी र यस्ता आरोपका तथ्य केकस्ता होलान् यसबारे चर्चापरिचर्चा होला नै । तर यस पटक एउटा आरोपलाई पन्छाउने कामभने पुरस्कार कमिटीले गरेको देखिन्छ, त्यो हो महिलालाई पुरस्कृत गर्नु ।

ओल्गातुकार्चुक
सन् २०१८ को साहित्य पुरस्कारको घोषणासँगै स्विडिस एकेडेमीले आफूमाथि लागेको एउटा आरोपलाई भने दूर गरेको बुझ्न सकिन्छ । साहित्यमा २०१८ को नोबेल पुरस्कार पोल्यान्डकी लेखिका ओल्गा तुकार्चुकलाई दिने घोषणा यसै महिना १० तारिख बिहीबारका दिन गरिएको छ । तुकार्चुक लेखिकाका साथै राजनीतिक कार्यकर्ता पनि हुन् । राजनीतिक कार्यकर्ता भएकै कारण कयौं पटक उनी आफ्ना भनाइहरुबाट विवादमा समेत पर्दै आएकी छन् ।

उनले २०१५मा सरकारी मिडियामा ‘मुक्त र सहिष्णु पोल्यान्ड’ आफ्नो परिकल्पना भएको बताएकी थिइन् । उनको यस भनाइका कारण हत्याको धम्कीसमेत खप्नु परेको थियो । एउटा लेखकले स्वतन्त्र र सहिष्णु मुलुकको कल्पना पनि गर्न नपाउनु विडम्बना नै हो । सचेत र जिम्मेवार लेखक राजनीतिक रुपमा पनि सचेत हुनु आवश्यक रहेको सर्वविदित तथ्य हो, तर यसैलाई लिएर लेखकले असुरक्षित हुनु कहाँ सम्म जायज होला !

तुकार्चुकलाई धम्की अहिले पनि नआउने होइन । उसको सुरक्षाका लागि प्रकाशन संस्थाले पनि मद्दत गर्दै आएको छ । उनी पोल्यान्डमा निकै प्रख्यात छिन् । उनलाई उक्त मुलुकको यो पिँढीको सबैभन्दा बढी प्रतिभा सम्पन्न उपन्यासकारमा लिइन्छ । उनको लेखनीमा यथार्थ र कल्पनाको बेजोड मिश्रण पाइन्छ ।

५७ वर्षीय यी लेखिका राजनीतिक कार्यकर्ता मात्र होइन, यिनी पर्यावरणविद् पनि हुन् । पोल्यान्डको दक्षिणपन्थी सरकारको उनी आलोचक हुन् । उनी जनावरलाई खुब प्रेम गर्छिन् । पाठकमा यिनको लेखनीको मोहनी यतिसम्म छ कि उनका पुस्तक सबैभन्दा बढी बिक्री हुनेमा पर्दछन् ।

तुकार्चुकका रचनामा रङ्गीचङ्गी दुनियाँ निरन्तर गतिमा नभइरहेका हुन्छन् । र, यिनले उभ्याएका पात्रहरु एक आपसमा संवाद गरिरहेका हुन्छन्, एकअर्कामा जोडिएका हुन्छन् । यसरी लेख्ने क्रममा उनको भाषा यस्तो हुन्छ, जसले सङ्क्षेपमा धेरै कुरा भन्छ । उनी शब्दको फारु गर्न सिपालु छिन् ।

उनको भाषामा बेग्लै र आकर्षक लय हुन्छ, काव्यात्मकता हुन्छ । ‘‘म सँग आफ्नै कुनै रुचिकर आत्मकथा छैन, जसलाई म स्मरण गरिरहुँ । म ती कुराहरुबाट बनेकी छु, जुन मेरो दिल र दिमागबाट उत्पन्न भएका छन् । तिनलाई म कहिल्यै बिर्सन सक्दिनँ,’’द पोलिस बुक इन्स्टिच्युटसँग कुरा गर्दै उनले भनेकी छन्, ‘‘म ती सबैखाले चिजहरुबाट बनेकी छु । मसँग बहुरङ्गी आत्मकथा छन् ।’’

तुकार्चुकका दर्जनभन्दा बढी पुस्तक छन् । उनले गतवर्ष ब्रिटेनको प्रतिष्ठित पुरस्कार ‘म्यान बुकर प्राइज’ पाइसकेकी छन् । साथै, उनकै मुलुकको ख्याति प्राप्त पुरस्कार ‘नाइकी लिटरेरी प्राइज’पनि हात पारेकी छन् । उनका पुस्तकको नाट्य रुपान्तरण हुनुका साथै संसारका २५ भन्दा बढी भाषामा अनुदित पनि भइसकेका छन् ।

१९६२ जनवरी २९ का दिन सुलेचोवमा जन्मिएकी तुकार्चुकले युनिभर्सिटी अफवार्सामा मनोविज्ञान पढिन् । साहित्यमा उनको प्रवेश कविता बाट भएको हो । पहिलो उपन्यास १९९३ मा ‘द जर्नी अफ द बुक–पिपुल’हो । उनको ‘फ्लाइट्स’ उपन्यास सन् २०१७मा अङ्ग्रेजीमा प्रकाशित भयो । नौ सय पृष्ठको उनको पुस्तक ‘द बुक्स अफज्याकोब’ सन् २०१४ मा प्रकाशित भएको थियो, पोल्यान्डमा यसको बिक्रीले तहल्कै मच्चाएको थियो । यद्यपि, पोल्यान्डका राष्ट्रवादी समुहले यो पुस्तकको तीव्र विरोध गरेका थिए । पुस्तकका अतिरिक्त उनले सिनेमाको पटकथा पनि लेखेकी छन् ।

पिटर ह्यान्के
कुनै बेलायिनी नोबेल पुरस्कारको खुलेरै विरोध गर्थे । यिनले २०१४ मा अस्ट्रियाको मिडियासामु त नोबेल पुरस्कार विजेतातर्फ सङ्केत गर्दै ‘झुटो महानता’ र एकछिनका लागि‘आदर सत्कार’ पाउने लेखक भनेका थिए । उनले बेलाबखत पोख्ने धारणाबाट निकै विवादित छवि बनाएका छन् ।

जर्मन साहित्यका पुरोधा मानिने नोबेल पुरस्कार विजेता लेखक थोमस म्यानले ह्यान्केलाई ‘निकै खराब लेखक’उपमादिएका छन् । तर उनका समकालीन र प्रशंसक त्यसबखत छक्क परे जुन बेला उनी सर्बियाका पूर्व राष्ट्रपति स्लोभोदान मिलेत्सोबिचको अन्तिम संस्कारमा सामेल भए । मानवता विरुद्धको अपराधमा मिलेत्सोबिच माथि मुद्दा चलिरहेको थियो, सोही समय २००६ माउनको निधन भयो । मिलेत्सोबिच चाहन्थे, लेखकले उनको बचाउका लागि बयान दिउन् । उनको निधनका बखत ह्यान्केले भाषण पनि गरेका थिए, जुन विवादित समेत भयो ।

ह्यान्केको जन्म त्यस्तो समयमा भयो, जुनबखत संसार दोस्रो विश्व युद्धको कालो छायाँमा थियो । जर्मन सैनिकपिता र अस्ट्रियाको स्लोभेनियामा अल्पसङ्ख्यक समुदायकी माताबाट १९४२ माउनको जन्म भएको थियो । पूर्वी बर्लिनमा केही समय बसेपछि उनी अस्ट्रिया गए र त्यहीँबाट उपन्यास लेखन आरम्भ गरे ।

१९६६ मा उपन्यास ‘द हर्नेट्स’ लिएर उनी साहित्य दुनियाँमा प्रवेश गरे । त्यसपछि उनले नाटक ‘अफेन्डिङ द अडियन्स’ पनि लेखे । यी पुस्तकले उनलाई ख्याति दिएपछि कानुनको पढाइ छाडेर पूर्णकालीन लेखक बने । उनको प्रशिद्ध कृतिहरुमा ‘सर्ट लेटर, लङ्ग फेयरवेल’ उपन्यासका साथै कविता–सङ्ग्रह ‘द इनरवल्र्ड अफ द आउटर वल्र्ड अफ द इनर वल्र्ड’ मानिन्छ । १९७१ मा उनकी माताले आत्महत्या गरेपछि उनले आफ्नी माताको सम्झनामा ‘अ सरो बियान्ड ड्रिम्स’ लेखे । ७७ वर्षीय यी लेखकको भाषा सरल हुन्छ, यिनले मानवीयअनुभवको विशेषता र परिधिको बाहिर रहेर प्रभावशाली रचना गरेका कारण यिनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिएको एकेडमेमीले बताएको छ ।

ह्यान्के साहित्यका साथै सिनेमासँग पनि जोडिएका छन् । यिनलाई मानिसको एक्लोपन र मृत्युको विषयले खुबै छुन्छ । २०१४ मा जब यीनर्वेमा इब्सेन पुरस्कार थाप्नपुगे, तब यिनलाई ‘फासीवादी’ समेत भनियो ।
आफूमाथि लागेको आरोपका विषयमा उनले अस्ट्रियाको प्रेस एजेन्सीसँग भने, ‘‘कुन खालको तिरष्कार हो यो ? यो मेरा लागि मात्र होइन, गम्भीर लेखन माथिको धावाहो ।’’यी लेखकलाई विवादको छायाँले सदा पछ्याइरहेको देखिन्छ, तर पनियिनी लेखनको दुनियाँमा सक्रिय छन् । यही कारण त यिनले २०१९ को नोबेल पुरस्कार हात पार्न सके ।

दुईवर्षको एकैपटक 

स्विडिस एकेडेमीले प्रतिष्ठित नोबेल पुरस्कार (साहित्यतर्फको) गतवर्ष यौन उत्पीडन काण्डका कारण घोषणा गर्न सकेन । एकेडेमीकी सदस्य क्याटरिना फ्रस्टेन्सनका पति ज्याँक्ला अरनाविरुद्ध यौन उत्पीडनको आरोप लागेको थियो । त्यसको फैसला हुन नसकेका कारण पुरस्कार घोषणा स्थगित हुन पुगेको थियो । बलात्कार मामिलामाउनी दोषी ठहर भएपछि उनलाई दुई वर्षको सजाय तोकिएको छ । फ्रस्टेन्सन समितिबाट बाहिरिनु, एकेडेमीको हितकै विषयमा टकराव उत्पन्न हुनु र पुरस्कार विजेताका नाम पहिल्यै लिक हुनु जस्ता कारणले नोबेल पुरस्कार विवादमा पर्दै आएको छ । यसबाट यो प्रतिष्ठित पुरस्कार प्रति नै पछिल्लो समय विश्वास कम हुँदै गएको देख्ने मानिस बढ्दै गएका छन् ।

विवाद, राजनीति र एकेडेमीको सोचका बारेमा थुप्रै खाले बहस गर्न सकिन्छ । पुरस्कृत प्रतिभाको रचनालाई नै लिएर पनि विवाद हुने गर्छ । यति हुँदाहुँदै पनि नोबेल पुरस्कारको विकल्प दुनियाँमा अर्को हुन सकेको छैन । यो पुरस्कारको राशि ९० लाख स्विडिस क्रोनर (७४०,००० पाउन्ड) रहेको छ ।

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मितिः शुक्रबार, कार्तिक १, २०७६     3:00:14 PM
error: Content is protected !!