☰ open Loading... 20 April 2024|  

महरा फेरि प्रहरी थुनामै, सकिएन थुनछेक बहस
  | १७ कार्तिक २०७६, आईतवार २०:१४

काठमाडौं – यौन दुर्व्यवहार आरोपको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आइतवार समेत प्रहरी थुनामै बस्नुपर्ने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस नसकिएकाले अदालतले महरालाई आइतवार समेत प्रहरी हिरासतमै पठाएको छ ।

शुक्रवारदेखि शुरू भएको मुद्दाको कारवाही प्रक्रियामा अभियुक्तको बयानपछि आइतवार वकिलको बहस भएको छ । आइतवार सरकारी वकिल कार्यालयको बहस सकिएर महराको तर्फबाट अधिवक्ता भेषराज आचार्य र लभप्रसाद मैनालीले मात्रै बहस गर्न पाएका छन् ।

सरकारी वकिल कार्यालयको तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल, हरिप्रसाद रेग्मी र सहायक जिल्ला न्यायाधीवक्ता सिर्जना ढकालले बहस गरेका थिए ।

बहस गर्दागर्दै कार्यालय समय सकिएपछि थप बहस सोमवार गर्ने गरी इजलास स्थगित भएको छ । सोमवार पुनः बहस भएपछि अदालतले आदेश सुनाउने जनाइएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरा सम्बन्धी मुद्दाको थुनछेक बहस भइरहेको छ । यसअघि शुक्रवार महराको बयान भएको थियो ।

बयानमा महराले आफू सो दिन बेलुका रोशनी शाही नाम गरेकी ती महिला कर्मचारीको डेरा रहेको क्षेत्रमा गएको तर घरभित्र प्रवेश नगरेको जिकिर गरेका छन् ।

थुनछेक बहसमा महराका तर्फबाट बहस गर्न २७ जना वकिलले वकालतनामा लिएका छन् । महरा सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते पक्राउ परेका थिए ।