☰ open Loading... 20 April 2024|  

साढे दुई करोडमा बनेको बसपार्क प्रयोगविहीन
  | १८ कार्तिक २०७६, सोमबार १०:०३

साढे दुई करोडमा निर्माण गरिएको दैलेखकको नारायण नगरपालिका–६ काँडाचौरस्थित बसपार्क तीन वर्षसम्म प्रयोगमा आउन सकेको छैन । यात्रुले जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा धुलैधुलोमा बस चढ्ने तथा ओर्लिने गर्नु परिरहेको छ ।

तीन वर्षअघि काँडाचौरमा बसपार्क निर्माण गरिएको थियो । यसमा दुई करोड ५० लाख लागेको थियो । नयाँ बसपार्कमा शौचालयसमेत निर्माण गरिएको थियो । अहिले शौचालय पनि प्रयोगविहीन भएको छ । बसपार्कमा फोहोर फाल्ने गरिएको छ ।

बसपार्क प्रयोगमा नआएपछि दसैँ–तिहारमा पिङ गाडिएको थियो । अहिले पनि स्थानीय बालबालिका पिङ खेल्ने गरेका छन् । स्थानीय सरकारले वास्ता नगर्दा करोडौँ लगानी खेर गएको स्थानीय गोपाल न्यौपानेले गुनासो गरे ।

लामो तथा छोटो दूरीका सवारीसाधन जिल्ला प्रहरी कार्यालय अगाडिको धुले चौरमै रोकिने गरेका छन् । यात्रुहरू त्यही चौरमा धुलैधुलोमा बस कुर्ने गरेका छन् । सडक छेउमै टिकट काउन्टर राखिएका छन् । जसले गर्दा लामो दूरीका मात्रै होइन, छोटो दुरीका यात्रुलाई पनि सकस हुने गरेको छ । दैलेख सदरमुकाम हुँदै भगवतीमाई, नौमूले, बेस्तडा, दुल्लुलगायतका स्थानबाट आवतजावत गर्ने यात्रुलाई अझ समस्या भएको छ ।

दैलेख सदरमुकामबाट सुर्खेत, नेपालगन्ज र काठमाडौंका लागि दैनिक ४० भन्दा बढी साना तथा ठूला सवारीसाधन चल्ने गरेका छन् । नयाँ बनेको बसपार्कको उचित व्यवस्थापन नहुँदा सडकमै पार्किङ गरिँदै आएको छ । यातायात व्यवसायीले पनि उचित व्यवस्थापन नभएको गुनासो गरेका छन् ।

काँडाचौर बसपार्क सञ्चालनका लागि पहल भइरहेको नारायण नगरपालिकाले जनाएको छ । यसका लागि तीन–चारपटक पत्राचार गरिसकेको जनाएको छ ।

नयाँपत्रिकाबाट