☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

फेरि सम्झिइए वामदेव, बर्दियाको नियति नदोहोरिने दाबी

  |

पोखरा । कास्की–२ बाट ‘रिङआउट’ भइसकेका नेकपाका उपाध्यक्ष वामदेव गौतम फेरि चर्चामा आएका छन् । यसअघि उमेदवार बन्ने कि नबन्ने कार्यकर्ताहरुको बहसले वामदेव कास्कीमा नेकपाभित्र चर्चामा आएका थिए । उनी नै आगामी उमेदवार हुनेसमेतका ठोकुवा गरे कतिपयले ।

तत्कालीन मालेको नेतृत्वकर्ता र स्व. रवीन्द्र अधिकारी पनि वामदेव निकटकै मालेको विद्यार्थी संगठन (अनेरास्ववियू) का अध्यक्ष थिए । उनै रवीन्द्रको निधनपछि रिक्त कास्की–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा उमेदवार बन्ने चर्चाले वामदेव सतहमा आए ।

भलै गौतम आफैले पछि उमेदवार नबन्ने प्रष्टीकरण दिए । उनी उमेदवार नबन्ने प्रष्टीकरण दिएपछि नेकपाले रवीन्द्रपत्नी विद्या भट्टराईलाई उमेदवार टुंग्याएको छ ।

त्यसपछि, शान्त भएको वामदेवको चर्चा मंगलबार फेरि दोहोरिएको छ । मंगलबार वामदेवको नाम कार्यकर्ताले नभई स्वयम् नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले लिएका हुन् । चुनावी तयारीको मुख्य एजेण्डासहित नेकपा कास्कीको सोमबार जिल्ला कमिटीको पूर्ण बैठक बसेको थियो । उक्त बैठकमा उमेदवार विद्या पनि सँगै थिइन् ।

सोही बैठकको निर्णय सुनाउन नेकपाले मंगलबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सोही बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कृष्ण थापाले कास्की २ मा ‘वामदेव नियती’ नदोहोरिने स्पष्ट पारे । उनको संकेत गत २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वामदेव गौतमको हारतर्फ केन्द्रित थियो । उक्त चुनावमा गौतम कांग्रेसका सञ्जय गौतमसँग सात सय ५३ मतान्तरले पराजित भएका थिए ।

वामदेवको पराजय हुनुमा त्यतिबेला ‘टुरिष्ट उमेदवार’ को ट्याग, स्थानीय संगठन परिचालनको सट्टा टुरिष्टबाटै प्रचारप्रसार, बाम गठबन्धनको सहयात्री (तत्कालीन माओवादी केन्द्र) लाई बेवास्ता लगायतका थिए । स्थानीय नेता तथा कार्यकर्ताहरुसँगको रुखो व्यवहार, दम्भ र विकासनिर्माणको आश्वासन समेत नदिनुलाई लिइन्छ ।

मंगलबार पत्रकार सम्मेलनमा कृष्ण थापाले भने, “अहिले हामीले टोल, वडा, स्थानीय तह देखि प्रदेश र जिल्ला तहलाई पूर्ण रुपमा परिचालन गर्छौँ, हामीले बर्दियाबाट पनि सिकेका छौँ ।” बर्दियामा स्थानीय तहलाई पूर्णत बेवास्ता पनि वामदेवको हारको कारक मानिन्छ । अध्यक्ष थापाले त्यसको स्मरण गर्दै उक्त गल्ती यहाँ नदोहोरिने बताए ।

उनले यतिमात्र भनेनन्, शिर्ष तहका नेताहरुसँग सहयोग लिए पनि चुनावको मूल परिचालन कमिटी भने आफै सम्हाल्ने घोषणा समेत गरे । कास्की–२, उपनिर्वाचन हुने देशकै एकमात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र हो । सत्तारुढ नेकपालाई कास्कीको चुनाव जितेर सरकार लोकप्रिय रहेको प्रमाणित गर्न चुनौती पनि उत्तिकै छ ।

यस्तोमा चुनाव प्रचारप्रसारका देशभरिका नै शिर्ष नेताहरु आउने पनि निश्चित छ । तर, अध्यक्ष कृष्ण थापाले यहाँ पनि बर्दियाकै प्रसङ्ग जोडे । “देशभरिबाट मान्छेहरु गए, भाषा बुझ्नुपनि छैन, सुन्नुपनि छैन,” उनले थपे, “हामीले निर्वाचन हुने ११ वटै वडाका नेताकार्यकर्ता, परिचालन गर्छौँ, सहयोग जसले पनि गर्न सक्छ, तर परिचालन भने स्थानीयस्तरमा नै हुन्छ ।”

नेकपाको दाबी– १३ हजार पाँच सय ४२ मतले जित्छौँ

कास्की नेकपा अध्यक्ष थापाले सोही कार्यक्रममा नेकपाको मतान्तर पनि घोषणा गरिदिए । अघिल्लो निर्वाचन (२०७४) मा यो क्षेत्रबाट रवीन्द्र अधिकारीले कांग्रेसका उमेदवार देवराज चालिसेलाई आठ हजार पाँच सय ४२ मतान्तरले हराएका थिए । उपनिर्वाचनमा त्योभन्दापनि पाँच हजार बढी मतान्तरले विद्याले चुनाव जित्ने दाबी थापाले गरे ।

चुनावको लागि नेकपाले दुई हजार छ सय ४१ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसको नेतृत्व स्वयम् जिल्ला अध्यक्ष कृष्ण थापाले गरेका छन् । यस्तै, निर्वाचन मूल कमाण्ड कमिटीको नेतृत्व नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले सम्हालेका छन् ।

नेकपाले कुल २६ वटा समिति तथा उपसमितिहरु बनाएर निर्वाचनमा लाग्ने जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६     6:39:32 PM
error: Content is protected !!