☰ open Loading... 19 April 2024|  

सुर्खेतमा निर्माण भइरहेकाे औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकियो
  | २३ कार्तिक २०७६, शनिबार १५:३१

सुर्खेत । कर्णालीका लघु तथा साना उद्योमीहरुका उत्पादनलाई बढवा दिन निर्माण भइरहेको औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकिएको छ । वीरेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय परिसरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

केन्द्र सरकार मातहत रहेकाे अाैद्याेगिक ग्राम प्रदेश सरकारलाइ हस्तान्तरण गरिदैँ । फायल तस्वीर

विगतमा केन्द्रीय सरकारको स्वामित्वमा रहेको ग्राम गत जेठमा कर्णाली प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयलाई हास्तान्तरण गरिएको थियो । ६ ब्लक रहेको ग्रामका पाँच भवनमा टिन छाउने काम जारी छ । बाँकी एक भवनको निर्माण भइरहेकाले निर्धारित समय अगावै काम सम्पन्न गरिने एसविए÷रविन जेभीका सञ्चालक यामबहादुर विसीले जानकारी दिए ।

‘दशैं, तिहार र छठ पर्वका कारण काम प्रभावित भएको थियो’ विसीले भने, ‘आगामी फागुनसम्म काम सक्नेगरी निर्माण जारी राखेका छौं ।’ व्यवसायीले पाउनु पर्ने भुक्तानी रकम नपाएपनि काम नरोकीएको विसीको भनाई छ । ६ करोड ४१ लाख लागतमा निर्माण भइरहेको औद्योगिक ग्रामको काम ०७४ फागुनबाट शुरु शुरु गरिएको हो ।

कर्णालीका लघु उद्यमी राखिने
साविकका भेरी र कर्णाली अञ्चलका साना उद्योगी तथा लघु उद्यमीलाई सामग्री उत्पादनका लागि निर्माण आरम्भ गरिएको औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण गरी सकिएको छ । प्रदेश मातहतमा आएको ग्रामका ६० कोठामा कर्णालीका उद्यमीहरुलाई राख्ने घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतका प्रमुख शम्भु पौडेलले बताए ।

निर्माणको काम अन्तिम चरणमा रहेकाले चालु आर्थिक वर्षबाट सञ्चालन गर्ने गृहकार्यमा लागेको पौडेलको भनाई छ । ‘निर्माण व्यवसायीले सम्झौता अगावै सक्ने बताएको छ’ पौडेलले भने, ‘औद्योगिक ग्राम सञ्चालनका लागि निर्देशिका बनाउने तयारी समेत कार्यालयले गरिरहेको छ ।’ ग्राम बनेपछि यहाँका उद्यमीहरुले सीप भएपनि उत्पादनका लागि ठाउँ पाएनौं भन्ने गुनासो अन्त्य हुने विश्वास पौडेलको छ ।

कर्णालीमा विभिन्न सामग्रीहरु उत्पादन गर्ने उद्यमीहरु रहेकाले उनीहरुको प्रवद्र्धन हुने र उत्पादित सामग्री विक्री गर्न ग्रामले सहयोग पुग्ने अपेक्षा पौडेलको छ ।

‘विगतमा सीप भएपनि सरकारले ठाउँ नदिएको गुनासो उद्यमीहरुबाट आइरहेको थियो’ पौडेलले थपे, ‘ग्राम बनेपछि यस्ता गुनासाहरु समाधान हुनेछन् ।’ कस्ता कस्ता उद्यमीहरुलाई ग्राममा राख्ने भन्ने समन्वय समेत कार्यालयले मन्त्रालयसंग गरिरहेको छ । औद्योगिक ग्राममा ६० कोठा छन् ।