☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

डोल्पाको उच्च हिमाली भेगमा वर्ल्डको इन्टरनेट

  |

सुर्खेत । कर्णालीका दुर्गम जिल्ला हुम्ला र डोल्पाका उच्च हिमाली भेगमा पहिलोपटक इन्टरनेट सेवा सुरु भएको छ। डोल्पाको डोल्पोबुद्ध र हुम्लाको लिमीमा इन्टरनेट सेवा सुरु भएको हो। नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाको सहयोगमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले कर्णालीका उच्च हिमाली भेगमा इन्टरनेट सेवा जडान गरेको हो।

जसअनुसार डोल्पाको डोल्पोबुद्ध गाउँपालिका र वडा कार्यालयमा इन्टरनेट जडान गरिएको छ। डोल्पोबुद्धमा रहेको स्वास्थ्य चौकी र माध्यमिक विद्यालयमासमेत इन्टरनेट जडान गरिएको लिमिटेडका परियोजना प्रमुख किरण देवकोटाले बताए। ‘पाँच हजार मिटर उचाइमा रिपिटर टावर निर्माण गरेर इन्टरनेट सेवा सुचारु गरेका छौं’, उनले भने, ‘यो हाम्रा लागि ऐतिहासिक अवसर पनि हो।’

इन्टरनेट सेवा विस्तारपछि स्थानीयलाई सूचना तथा सञ्चारको पहुँचमा पुर्‍याउन सफल अनुभूति भएको उनले बताए। कर्णाली प्रदेशको सबैभन्दा उच्च स्थानमा टावर स्थापना गरेर नागरिकलाई इन्टरनेट सेवाको पहुँचमा पुर्‍याइएको छ। यसअघि चारहजार दुईसय मिटरको उचाइमा रहेको हुम्लाको लिमी उपत्यकामा लिमिटेडले सेवा प्रदान गरिसकेको छ।

गाउँमा टेलिकमको फोनले नियमित काम नगरिरहेको बेला इन्टरनेट सेवाले गाउँपालिकाको काममा सहज बनाएको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए। ‘सरकार नीति तथा सेवाग्राहीलाई अनलाइनबाट सेवा दिन डोल्पा सदरमुकाम दुनै जानुपथ्र्यों’, अध्यक्ष गुरुङले भने, ‘फोनले राम्रोसँग काम नगर्ने गाउँपालिकामा इन्टरनेट सेवा पुग्दा सहज भएको छ।’

सरकारले सबै स्थानीय तह, विद्यालय र स्वास्थ्य चौकीमा इन्टनेट सेवा पुर्‍याउन ग्रामीण दूरसञ्चार शाखामार्फत वल्र्डलिंकले कर्णालीका स्थानीय तहमा इन्टरनेट सेवा पुर्‍याउन दुई वर्षदेखि काम गरिरहेको छ। इन्टरनेट पुर्‍याउन सात जिल्लाका एक सय ७० स्थानमा रिपिटर टावर निर्माण गरेको परियोजनाका राजेन्द्र विष्टले बताए।

उनकाअनुसार कर्णालीसहित रुकुमपूर्व र रोल्पाका स्थानीय तहसहित झण्डै १२ सय कार्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ। बाँकी इन्टरनेट नपुगेको स्थानीय तहमा इन्टरनेट सेवा विस्तारको काम जारी रहेको विष्टको भनाइ छ।

प्रकाशित मितिः शनिबार, कार्तिक २३, २०७६     3:33:49 PM
error: Content is protected !!