☰ open Loading... 19 April 2024|  

बालविवाहविरुद्ध कर्णालीका धर्मगुरुहरु : सानैमा हुने विहे रोक्ने अठोट
  | २४ कार्तिक २०७६, आईतवार १३:३३

सुशील खड्का
सुर्खेत । कर्णालीमा पछिल्लो समय बालविवाह गर्नेको संख्या बढ्दो छ । उमेर नपुग्दै विहे गर्नेक्रम बढेपछि प्रहरीले यसविरुद्ध अभियान सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा कर्णालीका सबै जिल्लामा रहेका प्रहरी कार्यालयहरुले धर्मगुरुहरुलाई बालविवाहविरुद्ध लाग्न आग्रह गरेका हुन् ।


अधिकांश बालविवाहमा धर्मगुरुहरु (पण्डित, लामा, पास्टर र मौलाना) हरुको सहभागिता हुने भएकाले पनि उनीहरुलाई सचेत बनाइएको प्रहरीको भनाइ छ । प्रहरीको अगुवाइको भएको अभियानमा यहाँका धर्मगुरुहरुले अब आफूहरुले बालविवाह नगराउने र गरेको देखेमा प्रहरीलाई खबर गर्ने प्रतिबद्धता जनाएका हुन् ।

विगतमा केही पण्डित र धर्मगुरुहरुले बालविवाह गराए पनि अबदेखी बालविवाह भएमा तत्कालै प्रहरीलाई खवर गर्ने नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य विकास पौडेलले बताए । बालविवाह, जातिय छुवाछुत र बोक्सी आरोप जस्ता घटना न्यूनिकरणमा प्रहरी एक्लैले मात्र नसक्ने भन्दै उनले यसको निराकरणमा पूरोहितहरुको पूर्ण साथ रहने जानकारी दिए । ‘कुनै पनि धर्मकोे दर्शन र गन्र्थमा यस्ता कार्य गर्नु भन्ने उल्लेख छैन’ पौडेलले भने, ‘प्रहरीले दिएको प्रशिक्षणले यस्ता घटना निराकरण गर्नमा थप पुनर्ताजकिय गराएको छ, अबदेखी गाउँ समाजमा घटना रोक्नमा सहजिकरण गर्नेछौं ।’

यस्तै पाष्टर गोमानसिंह बस्यालले साप्ताहिक रुपमा चर्चमा हुने कार्यक्रममा यी घटना रोक्नमा छुट्टै प्रवचन दिने व्यवस्था गर्ने उल्लेख गरे । ‘हामी नियमित रुपमा चर्चमा प्रथना कार्यक्रम राख्छौं, त्यहाँ आउने सबै अभिभावकलाई यस्ता घटनाहरु निराकरण गर्नमा गम्भीर बन्न सचेत गराउँने छौं ।’ चर्चहरुमा किशोरकिशोरीहरुको बढी उपस्थिति रहने भएकाले आगामी दिनमा उमेर नपुग्दै विवाह तथा जातिय छुवाछुत गर्नु र बोक्सीको आरोप लगाउनु कानुनी रुपमा दण्डनीय भएको जानकारी गराउने बस्यालले बताए ।

प्रहरीले कर्णालीका विभिन्न पाँच सय जना धर्मगुरुहरुलाई बालविवाह रोक्ने अभियानमा सामेल गराएको हो । बालविवाह, बोक्सीको आरोप लगाउने तथा जातीय छुवाछुत जस्ता घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा धर्मगुरुहरुलाई कानूनी प्रशिक्षण दिइएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालय, सुर्खेतले चालू आर्थिक वर्ष २०७६÷७७ मा सल्यानमा बालविवाहका तीन मुद्दा दर्ता भएको जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा सुर्खेत र दैलेखमा ७÷७, सल्यानमा ३ र जुम्लामा दुई गरी १९ मुद्दा दर्ता भएका थिए । त्यस्तै, प्रहरीले चालू आर्थिक वर्षको हालसम्मको अवधीमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष प्रहरीले ५९ जोडीको उद्दार गरेको थियो । पाँच सय जना हिन्दु, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर कानूनी प्रशिक्षण दिएको जानकारी दिनुभयो । प्रशिक्षणमा सुर्खेतमा एकसय, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा ३२ र रुकुम पश्चिममा २३ जना पुरोहित सहभागी थिए ।

कानुनबारे जानकारी दिएका हौं

पूर्णचन्द्र जोशी, डीआइजी, कर्णाली प्रदेश

कर्णालीका दश जिल्लाका सबै धर्मका पुरोहितलाई कानूनी रुपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने भएकाले यो अभियान शुरु गरेका हौं । विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै रहन्छ ।

उहाँहरुलाई यस विषयमा कानूनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै हुन सक्दैन् । कर्णालीमा बालविवाहको दर उच्च रहेकाले यसलाई निराकरण गर्नु पुरोहितको पनि उत्तिकै साथ आवश्यक छ ।

कानूनले बालविवाहलाई अपराधको रुपमा परिभाषित गरेको छ । मुलुकी फौजदारी संहिता, २०७४ मा बालविवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. तीस हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रहरीले पुरोहितहरुलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्ला–जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । आशा छ यसरी सञ्चालन गरिएको अभियानले बालविवाह न्युनिकरणमा ठूलो सहयोग पुग्नेछ ।