☰ open Loading... 19 April 2024|  

नेपाल प्रहरी, जनताको अपेक्षा र निराशा
  | २४ कार्तिक २०७६, आईतवार १३:४२

शंकर श्रेष्ठ

बिश्वको जुनसुकै राष्ट्रमा प्रहरी राज्यद्वारा स्थापित संगठन हो । जसलाई राज्यको आन्तरीक शान्ति सुरक्षा ब्यबस्था मजबुद तथा  प्रभाबकारी बनाई नागरीकलाई स्वतन्त्रतापुर्बक बाच्न पाउने संबैधानिक अधिकारको रक्षा गर्ने माण्डेट दिईएको हुन्छ । प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धान मार्फत नागरीकको जीऊ, धन तथा स्वतन्त्रताको रक्षा गर्दछ ।

प्रहरी हरेक राष्ट्रको कानुन कार्यान्वयन गर्ने वा गराउने प्रमुख निकाय हो ।  कुनै पनि राज्य अस्थित्वमा रहनका लागि त्यस राज्यमा आफ्नो नागरीकहरुको आबश्यकता पर्दछ । बिना नागरीकको राज्य अस्थित्वमा रहन सक्दैन । राज्यमा रहेका बहुसंख्यक नागरीकहरुलाई अनुशासनमा राखि राज्य सञ्चालन गर्नका लागि सम्बन्धित देशका नागरीकहरुले बिभिन्न माध्यमबाट छनौट गरि सरकार अस्थित्वमा रहन्छ । जसले निति नियम, कानुन तथा ब्यबस्था निर्माण गरि नागरीकहरुलाई शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य थुप्रै सेवा सुबिधाहरुको ब्यबस्थापन गरिएको हुन्छ ।

नेपाल प्रहरी

बिश्वका अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि समाजमा शान्ति सुरक्षा स्थापनार्थ, नागरीकलाई स्वतन्त्रतापुर्बक बाच्न पाउने अधिकारको सुनिश्चितताका लागि नेपाल प्रहरी अस्थित्वमा आएको हो । नेपाल प्रहरीले सत्य सेवा सुरक्षणमको मूल मन्त्रलाई शिरोधर गरि सत्यको वकालत गर्दै नेपाली जनतालाई सेवा तथा सुरक्षा प्रदान गर्ने प्रण गरेको हुन्छ । सोही मर्मलाई आत्मसाथ गर्दै  नेपाल प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानको माध्यमबाट नागरीकको जीऊ, धन तथा स्वतन्त्रताको रक्षा गर्दछ ।

मानव सभ्यताको बिकाससंगै समाजको शान्ति सुरक्षा तथा पहरेदारी गर्न बिभिन्न नामहरुबाट सुरक्षा निकाय (प्रहरी) अस्थित्वमा रहेको पाईन्छ । नेपालको सन्दर्भमा शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको पाईन्छ । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए ।

अगष्ट १९१४ मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे । चन्द्र शमशेर कै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न  विभिन्न सवालहरू जारी गराए ।

सन् १९१९ (बि.सं. १९७६ पौष) को अन्त्यतिर  काठमाडौं उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतूले जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरियो । यस सवालले काठमाडौं उपत्यकामा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरिएको पाईन्छ भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक स्थापना गरिएको पाईन्छ । बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरियो ।

बि.सं.२००७ सालको परिवर्तन पश्चात नेपालका बिभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो । तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए । सन १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई संगठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो । यसको सुझावको आधारमा सन् १९५५ (बि.सं. २०१२) मा नेपाल प्रहरी ऐन,२०१२ निर्माण गरि प्रहरी संगठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो । त्यसपश्चात क्रमिकरुपमा नेपाल प्रहरीको संगठनिक बिकास भई जनताको सेवा र सुरक्षामा योगदान पुर्याउदै आईरहेको छ ।

नेपाल प्रहरीद्वारा गरिएका सफल अनुसन्धान

समाजमा शान्ति, सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान र  कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले हालसम्म आईपुग्दा चर्चित तथा जघन्य प्रकृतिका अपराधका घटनाहरुको सफल अनुसन्धान मार्फत अपराधिक घटनामा संलग्न ब्यक्तिहरुलाई कानुनी कठघरामा पुर्याउन सफल भएको छ ।  जहाँ कानुन मरेको छैन भन्ने आभास हुन्छ ।

  • न्यायधीश रणबहादुर बम हत्याको सफल अनुसन्धान:- २०५९ जेठ १८ मा हत्या गरिएका सर्बोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यारा नेपाल प्रहरीले दुई बर्षको कठिन मेहनत पछि पत्ता लगायो ।
  • हेमकर हत्याकाण्डको सफल अनुसन्धान:- नेपालगन्जका दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको २०६२ फागुन २३ मा सामूहिक हत्या भयो । घटनाको १३ वर्षपछि पत्ता लाग्यो ।
  • रानीबारी हत्याकाण्ड सफल अनुसन्धान: ३१ असार २०६९ मा इन्जिनियर दम्पती हेमन्त र इन्दिराको लाजिम्पाटस्थित डेरामा बिभत्स हत्या निकै चर्चित घटनाको अनुसन्धानमा करिब एक दर्जन छानबिन समिति गठन हुँदा पनि केही खुल्न सकेको थिएन । एक दशक भन्दा बढिको कठिन मेहनतले नेपाल प्रहरीले सफलता प्राप्त गर्यो ।
  • बडिखेल हत्याका अभियुक्त १२ वर्षमा पक्राउ:१६ असोज ०६० का दिन दसैँको महाअष्टमीका दिन ललितपुरको लेलेमा भानु नगरकोटीको र उनका परिवारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरियो । २०७२ भदौ २ मा उक्त घटनाको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरि कानुनी कठघरामा उभ्याउन सफल भयो ।
  • १८ वर्षपछि फादर ग्याफ्ने हत्याको सफल अनुसन्धान: अमेरिकी नागरिक फादर ग्याफ्नेका हत्या  २०५७ कात्तिक ८ गते ललितपुरमा हत्या भएको थियो । सेन्ट जेभियर्स स्कुलका शिक्षकसमेत रहेका उनको हत्याको अभियुक्तलाई नेपाल प्रहरीले करिब दुई दशक पछि  २०७२ वैशाख ७ गते पक्राउ गरेको थियो ।
  • अपराधका राजा मानिने फ्रान्सका नागरीक सिरियल किलर चार्ल शोभराज नेपाल प्रहरीले पक्राउ गरि हाल नेपालको केन्द्रिय कारागारमा रहेका छन् ।
  • हाल मात्र केहि अति-बिशिष्ट तथा बिशिष्ट ब्यक्तिहरुलाई समेत प्रहरीले अनुसन्धान गर्न हिरासतमा राखि सम्मानित अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाईएको छ ।

माथि उल्लेखित नेपाल प्रहरीले सिमित स्रोत साधनका बाबजुत पनि अपराध अनुसन्धानमा प्राप्त गरेको सफलतलाई नजरअन्दाज गर्न सकिदैन र प्रहरीलाई स्वतन्त्ररुपले काम गर्ने वातावरण भएको खण्डमा जस्तासुकै अपराध र अपराधमा संलग्न ब्यक्तिहरु चाहे देशका अतिबिशिष्ट श्रेणीका ब्यक्तित्व नै किन नहुन एक न एक दिन कानुनी दायरामा आउनै पर्दछ भन्ने उदाहरण मिलेको छ ।

यद्यपी नेपालमा घटेका  केहि जघन्य अपराधहरुको अनुसन्धानमा नेपाल प्रहरीलाई सफलता प्राप्त नभएको यथार्थलाई भने नकार्न सकिदैन, नेपाल प्रहरीका केहि सदस्यहरु आफै अपराधिक गतिबिधिमा संलग्न भएका तथ्यहरुसमेत यथार्थ हो तर केहि सिमित ब्यक्तिहरुले गरेको गलत कार्यलाई संगठनको गरिमा संग जोडेर हेर्ने प्रबृति कत्तिको सहि हो र गलत भन्ने कुरा पनि सचेत नागरीकले बुझ्नु पर्दछ ।

एकाध प्रहरीका नालायक सदस्यहरुले गरेको अपराधलाई सिंगो प्रहरीसंग जोड्नु जायज पक्कै होईन । प्रहरीले गरेका जनमैत्री कामहरुको पनि मुल्यांकन हुनुपर्दछ र बर्षौ पछि पनि नेपाल प्रहरीले जघन्य अपराधहरुको सफल अनुसन्धान गरेको तथ्यांकबाट देख्न सकिन्छ ।

जसबाट के अनुमान लगाउन सकिन्छ भने नेपाल प्रहरी अब आफ्नो संगठन सुधारको स्वर्णिम युगमा छ र ती केहि जघन्य तथा चर्चित अपराध जुन पत्ता लागेको छैन तर अनुसन्धानको प्रक्रियामा छ, ती अपराधहरुको समेत एक दिन पत्ता लाग्ने कुरा बिश्वास गर्न सक्ने ठाँऊ छ । जसका लागि नेपाल प्रहरीलाई समयानुकुल प्रबिधि मैत्री बनाउदै लैजाने, स्वतन्त्र कर्तब्य पालन गर्न दिने र नागरीकको साथ आबश्यक पर्दछ ।

म नेपाल प्रहरीमा आबद्ध भएको पाँच बर्षमा लागेको छ । मेरो आफ्नो जागिरको निकै पुबार्धमा नेपाल प्रहरीका निकै सम्मानित ब्यक्तित्व हुनुहुन्छ । उहाँले एउटा प्रशिक्षणको दौरानमा भनेको एउटा बाक्यांस मेरो मष्तिष्कमा जिबित छ र म निकै प्रभाबित पनि भएको थिए । त्यो बाक्यांस हो “ नेपाल प्रहरी प्रति आम नागरीकको अपेक्षा धेरै छ तर आम नागरीकहरुको दृष्ट्रिकोणमा नेपाल प्रहरीलाई नकारात्मक तरिकाले हेरिन्छ, गोली गरिन्छ वा अपहेलना समेत गरेको देखिन्छ, त्यसबाट तिमीहरु कहिल्यै बिचलित नहुनु, नेपाल प्रहरी प्रति आमनागरीकको दृष्ट्रिकोण जतिसुकै गलत भए पनि सोही ब्यक्तिलाई कुनै समस्या वा अप्ठारो परेको समयमा भगवानलाई सम्झनु भन्दा पहिले नेपाल प्रहरीलाई सम्झन्छन् किनभने नेपाल प्रहरी प्रति आम नागरीकको प्रति ठुलो अपेक्षा छ ।“

नेपाल प्रहरीको बिकल्प नेपाल प्रहरी नै हो”

अन्य कुनै निकाय नेपाल प्रहरीको बिकल्पमा रहन वा स्थापित हुन सक्दैनन् । नेपाल प्रहरीलाई कमजोर बनाउन र प्रहरीको अस्तित्व तथा गरिमालाई कमजोर बनाएर नेपाल प्रहरीलाई बदनाम गर्ने र आफु हाबी हुन चाहन ठुलै कसरतहरु बेला बेलामा नभएका पनि होईनन तर नेपाल प्रहरीले आफ्नो गरिमा र साख बचाई समाजमा शान्ति सुरक्षा स्थापनार्थ गरेको योगदान, बलिदानका कारण त्यस्ता तत्वहरु हावाको बेगसरी निस्तेज हुदै आफ्नो बाटो लागिरहेका छन ।

यसको अर्थ के हो भने समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने जिम्मेवारी प्राप्त नेपाल प्रहरी समाजमा घट्ने साना-तिना पारिवारीक झै-झैगडा, प्राकृतिक तथा कृतिम बिपदका देखि लिएर राष्ट्रिय तथा अर्न्तराष्ट्रियस्तरमा तरंग पैदा गर्ने खालको अपराधहरुको अनुसन्धानमा समेत नेपाल प्रहरी जोडिएको हुन्छ । जसका लागि नेपाल प्रहरी नै एक मात्र आधिकारिक निकाय हो । नेपाल प्रहरीलाई देशका दुरदराजमा सरकारको प्रतिनिधिको रुपमा हेरिएको हुन्छ । आम नागरीकहरुको घरदैलोमा पुगेर आम जनतालाई म सुरक्षित छु भन्ने कुराको बिश्वास दिलाएको हुन्छ, जनताको सुखदुखको साथी हो प्रहरी । साना-साना पारिवारीक झगडामा समेत नेपाल प्रहरीले मध्यस्थताको भूमिका निर्बाह गरिरहेको हुन्छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत नेपाल प्रहरीले आम नागरीकहरुसंग सम्बन्ध सुमधुर बनाउन, प्रहरी एक्लैको पहलबाट समाजमा शान्तिसुरक्षा स्थापना कठिन हुन्छ नागरीक र प्रहरी हातेमालो गरि शान्त र सुरक्षित समाज निर्माण गर्नु पर्दछ भन्ने अभिप्रायबाट नागरीकलाई बर्दि बिनाको प्रहरीको संज्ञा दिई समाजमा शान्ति सुरक्षा प्रदान गर्न तथा अपराधको नियन्त्रण तथा सफल अनुसन्धानमा नागरीकसंग हातेमालो गर्ने, आम नागरीकहरुलाई सु-सुचित गर्ने, जानकारी गराउने कार्य समेत आयोजना गरिरहँदा पनि किन नेपाल प्रहरी प्रति आम नागरीक निराश छन् वा सकारात्मक सोच बिकास हुन सकेको छैन् । त्यसका लागि मेरो आफ्नो नितान्त ब्यक्तिगत बुझाईलाई यसरी चित्रण गरेको छु ।

नेपालको आधुनिक ईतिहासलाई अध्ययन गर्दा निरङ्कुस राणा शासनको अन्त्यका लागि गरिएको बि.सं. २००७ सालको जनआन्दोलन, बि.सं. २०३६ सालको बिद्यार्थी आन्दोलन, बि.सं. २०४६ सालको बहुदल प्राप्तीका लागि गरिएको आन्दोलन, जुन आन्दोलनलाई मत्थर पार्न र हिंसक गतिबिधिलाई नियन्त्रण गर्न देशका विभिन्न सहरहरूमा निषेधाज्ञा (कर्फ्यू) लागु गरियो । प्रहरीले सिलसिलेवार आबश्यक बल प्रयोग गर्ने सन्दर्भमा लाठी, अश्रुग्यास तथा गोलीको समेत प्रयोग गर्यो । चैत्र २२ गते पाटनको कृष्णमन्दिरबाट केही सुरक्षाकर्मीलाई स्थानीय जनताहरूले नियन्त्रणमा लिई बन्दी बनाए ।

सारा पाटन शहरका जनताहरू मिलेर पाटनलाई बाहिरबाट कोही आउन नसक्ने गरी बन्द गराए । सरकारको बिरोधमा केहि उपत्यकाबासीहरु घरेलु हातहतियार लिएर सडकमा उत्रिए र केहि प्रहरी र नागरिक दुबै पक्षहरु हातहत भए केहिले ज्यान समेत गुमाए । त्यसबेला प्रहरी र आन्दोलनरत नागरीकहरु बिच ठुलो सत्रुताको सम्बन्ध बन्यो, प्रहरीले आफ्नो कर्तब्यपालनको लागि गरेको कारबाहीलाई आमनागरीकबाट दमनको रुपमा बुझियो । जुन प्रहरी र आमनागरीक बिचको नकारात्मक सम्बन्ध बिस्तारको स्रोत बनिरहेको छ  ।

  बि.सं. २०५२ देखि तत्कालिन नेकपा माओबादीले सरकार बिरोधी आन्दोलनको घोषणा गरि हतियार उठाउने निर्णय गर्यो ।  तत्कालिन हतियारधारी नेकपा माओबादीलाई दवाउन तथान नियन्त्रण गर्न नेपाल प्रहरीले नै नेतृत्व गर्नु पर्यो । हतियारधारी माओबादी पनि नेपाली नागरिकहरु नै थिए, नेपाली दाजुभाई बिच काटाकाट मारामारको अबस्था सिर्जना भयो । यस अबस्थामा पनि सरकारको प्रतिनिधी प्रहरी र अन्य नागरीक बिच दुश्मनीको आधारस्तम्भ खडा भयो । जनआन्दोलन, २०६२/०६३ को आन्दोलन, त्यसपछि शुरु भएको मधेश आन्दोलन समेतमा नेपाल प्रहरी र आमनागरीकहरु बिच धेरै पटक ठुलै संघर्ष भयो ।

 जुन नेपालको आधुनिक ईतिहासमा भएका ठुला र महत्वपुर्ण आन्दोलनहरु हुन जसले सयौ बर्ष देखि जरा गाडेर रहेको निरुङकुस राणा शासन देखि लिएर बहुदल प्राप्ती र राजतन्त्रको समेत अन्त्य गर्यो भने राज्यको मूलधारमा आउन नसकेका समुदायलाई समेत अधिकार प्रत्यायोजन तथा मूलधारमा ल्याउनका लागि महत्वपुर्ण भुमिका खेल्यो । यस बाहेक नेपालमा साना-तिना छुटपुट आन्दोलनहरु कति भए त्यसको कुनै एकिन तथ्यांक छैन ।

तर नेपालमा जति पनि आन्दोलनहरु भए त्यसमा नागरीक र नेपाल प्रहरी बिच जहिले पनि जुहारी चल्यो र एक आपसमा बिपक्षी बनेको अनुभुति गरियो । समाजमा घट्ने साना-तिना घटना देखि लिएरआपत-विपद पर्दा प्रहरीलाई सम्झने तर सडकमा तिनैमाथि ढुङ्गा मुढा प्रहार गर्ने अनौठो अभ्यास हामीकहाँ हुने गरेको छ ।

सभ्य मुलुकमा हामीकहाँ जसरी छिसिक्क केही भयो कि सुरक्षा दिन बसेका प्रहरीमाथि नागरिकले ढुङ्गा प्रहार गर्दैनन्, त्यसो गर्नु अलोकतान्त्रिक मात्रै होइन असभ्यताका सूचक पनि हो । नेपालको आन्दोलनको यथार्थ अध्ययन गर्ने हो भने हिंसक तथा अराजकताको माध्यमबाट आफ्नो माग पुरा गर्नु पर्दछ वा हिंसक आन्दोलनबाट मात्र माग पुरा हुन्छ भन्ने धारणाले आर्कषित भएको देखिन्छ ।

            यस अबस्थामा नेपाल प्रहरी र आन्दोलनरत बहुसंख्यक आमनागरीकहरु बिच मतको भिन्नता भएको देखिन्छ । एकातिर सार्बजनिक सम्पतिमा क्षति पुर्याउने, अराजकता बढाउने कार्य नियन्त्रण गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको हुन्छ र अर्का तिर आन्दोलनरत पक्ष जुन हिंसा, अराजकता, तोडफोड तथा सरकारी सम्पतिमा क्षति पछि मात्र सरकारको ध्यानाकर्षण हुन्छ भन्ने मानसिकताबाट प्रेरित भएको हुन्छन ।

नेपाल प्रहरीले त्यस्ता उश्रृखल गतिबिधीलाई नियन्त्रणमा राख्न सरकारको निर्देशन मार्फत आम नागरीक माथि बल प्रयोग गर्नु पर्दछ । यस्तो अबस्थामा आन्दोलनरत बहुसंख्यक नेपाली नागरीकहरुले आन्दोलनको मर्मलाई कमजोर बनाउने तत्वको रुपमा नेपाल प्रहरीलाई दोष दिदै आई रहेका हुन्छन् ।

हरेक आन्दोलनहरु सरकारको बिरुद्धमा गरिएका हुन्छन् अर्थात सार्बजनिक सम्पतिको क्षति, अराजकता तथा सम्बन्धित देशको कानुनी ब्यबस्थालाई चुनौती दिने अभिप्रायबाट निर्देशित हुन्छन जसका लागि नेपाल प्रहरी सरकारको तर्फबाट त्यस्ता गैर-कानुनी कार्यहरुको हरहमेसा ढालको रुपमा उभिने अर्थात दुई पक्ष बिच प्रत्यक्ष रुपमा लडाई भईरहेको हुन्छ । जसले गर्दा नेपाल प्रहरी प्रति नेपाली नागरीकको सोच सकारात्मक बन्न नसकेको अबस्था देखिदैन ।

            नेपाल प्रहरी समुदायमा बसेर समुदायका नागरीकहरुसंग समन्वय गरि पाएको जिम्मेवारी पुरा गर्न कटिबद्ध हुन्छ तर जुन समयमा समुदायमा हुने साना-साना सरकार वा स्थानिय प्रशासन वा अन्य कुनै सार्बजनिक निकायको बिपक्षमा आम नागरीक आन्दोलनरत हुँदा त्यसको कानुनत: नियन्त्रण नेपाल प्रहरीले गर्दछ किनभने नेपाल प्रहरी संगठन स्थापनाको मुल मर्म नै समाजमा अराजकता तथा गैर-कानुनी कामहरु नियन्त्रण गरि समाजमा शान्ति, सुरक्षा, अमनचयन तथा सुशासनको प्रत्याभुति गराउने हो । जसका लागि नेपाल प्रहरीले आबश्यक बल प्रयोग गर्दछ । अनि आन्दोलनमा लाठी प्रहार गर्ने प्रहरी र लाठी खाने आमनागरीक बिचको सम्बन्ध कसरी मजबुद बन्न सक्छ ?

नेपाल प्रहरी जसले अपराधबाट पिडित ब्यक्ति र अपराध गर्ने पिडक बिचको सम्बन्धको अध्ययनबाट पिडितलाई कानुन बमोजिम न्याय प्रदान गर्न आफ्नो जिम्मेवारी पुरा गर्ने तथा अपराधीलाई कानुन बमोजिम दण्ड सजाय दिलाउन पहल गर्ने कार्य गरिरहँदा अपराधमा संलग्न हरेक तप्का नेपाल प्रहरीको बिपक्षमा वकालत गर्ने एउटा ठुलो जमात नेपालमा सक्रिय छन् जसले नेपाल प्रहरीको साना कमजोरीलाई पहाड बनाएर कु-प्रचार गर्दछ ।

हरेक समाजमा अझ भन्ने हो भने हाम्रो जस्तो संक्रमणकालिन अबस्थाबाट बारम्बार गुज्रिएको मुलुकमा अपराधिक मनसाय भएकाहरुको चलखेल ब्यापक रहन्छ । राज्य संयन्त्रमा उनीहरुकै हालिमुलाई रहन्छ । यस्तो समयमा प्रहरीले गरेको राम्रो कामको प्रचार भन्दा प्रहरीबाट भएका कमि-कमजोरीहरुलाई पहाड बनाएर आम-नागरीक समक्ष कु-प्रचार गर्ने गरिएकाले पनि आमनागरीकले नेपाल प्रहरीलाई शंकाको घेराबाट हेर्ने गरेको पाईन्छ ।

आजको आधुनिक समाजमा एकै पटक करोडौ मानिसहरु समक्ष पुर्याउने सामाजिक सञ्जालहरुको प्रयोगले समेत यस्ता चुनौतीहरु देखा परेका छन् । यसबाट के बुझ्न सकिन्छ भने नेपाल प्रहरीलाई कमजोर बनाई आफ्नो केहि सिमित स्वार्थहरु पुरा गर्ने र राज्यलाई सधै अन्धकारमा धकेल्ने प्रयास भईरहेको छ । प्रहरीलाई कमजोर बनाएर वा अनाबश्यक हस्तक्षेप गरेर राज्यमा सुशासनको परिकल्पना गर्नु मुर्खता हो । नेपाल प्रहरी आम नागरीकको पक्षमा स्तम्भ झै खडा रहने संगठन हो नकि अपराधीहरुको चंगोलमा फस्ने संगठन ।

माथि उल्लेखित तथ्यहरु नै प्रहरी  र जनताबिचको सुमधुर सम्बन्ध निर्माणको अबरोध हो । प्रहरीलाई स्वतन्तरुपमा आफ्नो कर्तब्य पुरा गर्न सक्ने वातावरण दिनु पर्दछ । हरेक ठाँउमा अबिश्वासको खाडल निर्माण गरेर प्रहरीबाट ठुलै अपेक्षित नतिजा खोज्नु पनि मुर्खता मात्र हुनेछ । सिमित स्रोत साधनको बाबजुत पनि नेपाल प्रहरीले प्राप्त गरेको नतिजा तथा जोगाएको साखलाई कम आकलन गर्न पक्कै मिल्दैन ।

अपराध अनुसन्धान भन्ने कुरा बिधुतिय बत्तीको स्वीच अन गर्ने बित्तिकै झ्याप्पै बलेको जस्तै छिटो नहुन पनि सक्छ, केहि जटिल प्रकृतिका अपराधहरुको अनुसन्धानमा दशकै लाग्न सक्छ त्यसको ज्वलन्त उदाहरण अहिले रौतहटको घटनालाई लिन सकिन्छ ।

अहिलेको आधुनिक बिश्वका बिकसित मुलुकहरुका प्रहरी संगठनहरु पुर्णत प्रबिधी-मैत्री अनुसन्धान प्रणालीमा ढलिसकेको अबस्था छ, प्रहरीलाई स्वतन्त्ररुपमा काम गर्ने राजनितिक स्थायित्व समेत छ तर पनि केहि चर्चित अपराधका घटनाहरु पत्ता लाग्न नसकेका उदाहरणहरु प्रशस्त मात्रामा देखिन्छ, प्रबिधिमा यति कम लगानी, राजनितिक अस्थिरता तथा मानिसको चेतनाको स्तर समेतले प्रहरीलाई आफ्नो जिम्मेवारीलाई सहजतापुर्बक पुरा गर्न बाधा अबरोध निर्माण भएका छन् ।

नेपाल प्रहरीका जवान देखि अधिकृतहरुले न्यूनतम सेवा सुविधाका बाबजुत पनि काम प्रतिको उत्साहलाई जिबित राखि अन्य कुनै कुराहरुको प्रबाह नराखी चाडपर्ब, घरपरिवार समेतको खुशीलाई संगठनको खुशीसंग सम्झौता गरेर कर्तब्य पुरा गर्न तत्पर बनिरहेका छन् । हिमाली क्षेत्रमा हुने माईनस डिग्री तापक्रममा समेत जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर कर्तब्य पालन गर्ने नेपाल प्रहरीलाई स्वतन्त्ररुपमा बिना कुनै हस्तक्षेप कर्तब्य पुरा गर्ने वातावरण निर्माण गरि अपराध अनुसन्धान तथा शान्ति सुरक्षा निर्माण गर्न प्रबिधिमा लगानी गर्न सकिएको खण्डमा नेपाल प्रहरी बिश्व कै नमुना प्रहरी बन्न सक्दछ । (लेखक प्रहरी निरीक्षक हुन् ।)