☰ open Loading... 20 April 2024|  

बुराँसेका किसान किबी खेतीमा आकर्षित
  | २७ कार्तिक २०७६, बुधबार १९:३७

सल्यान : छत्रेश्वरी गाउँपालिका–२ बुराँसेका तेजबहादुर योगी मकै, आलुलगायतका खाद्यन्न बाली लगाउँथे। परम्परागत खेतीमा मेहनत धेरै भए पनि आम्दानी कम हुने भएपछि उनी विकल्पको खोजीमा लागे। यसै क्रममा उनले किबी खेती परीक्षणका रुपमा सुरु गरे। किबी रोपेको केही वर्षमै राम्रै आम्दानी हुन थालेपछि उनले अहिले ३५ रोपनी क्षेत्रफलमा झन्डै ७०० विरुवा किबी लगाएका छन्।  उनी मात्रै होइन, बुराँसेका २२ जनाले अहिले व्यावसायिक किबी खेती गरिरहेका छन्। बुराँसेमा चार हजार २०० किबी विरुवा रोपिएको योगीले बताए।

‘अन्य खाद्यन्नबालीभन्दा किबीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँका २२ जनाले व्यावसायिक खेती गरिरहेका छौं,’ उनले भने, ‘यो वर्षभित्रै करिब १५ हजार संख्या पुर्‍याउने लक्ष्य राखेका छौं।’  यहाँ प्रतिबोट ५० किलोसम्म फल फल्ने किसान योगीले बताए। किबीको विरुवा प्रतिगोटा ३०० र फल प्रतिकिलो ४०० रुपैयाँमा बिक्री भइरहेको किसान जलेश्वर बस्नेतले बताए। यहाँका किसानहरुले किबीको फल र विरुवाबाट वार्षिक २० देखि २५ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन्।

राम्रो उत्पादन भएपछि बजारको समस्या नहुने अर्का किसान हीरालाल योगीले बताउँछन्। २० रोपनी क्षेत्रफलमा किबी खेती गरेका योगीले यस सिजनमा बराँसे गाउँबाट ४० देखि ४० क्विन्टल किबी पोखरा, काठमाडौं र चितवन पठाएको बताए। ‘किबी खेती गर्न किसान उत्साहित छन्,’ उनले भने, ‘स्थानीय सरकारले किसानलार्य सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम ल्याउन जरुरी छ।’  बुराँसेलाई किबीको पकेट क्षेत्रका रुपमा विकास गर्न कृषि मन्त्रालय र कृषि विकास कार्यालयसँग छलफल भइरहेको चित्रबहादुर केसीले बताए।