☰ open Loading... 20 April 2024|  

गर्भवतीसँग उपमेयर : चिसो भुइँमा गर्भवती, सोफामा जनप्रतिनिधि
  | २७ कार्तिक २०७६, बुधबार १९:३८

दैलेख : जिल्लाको नारायण नगरपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको गर्भवती महिलासँग उपमेयर भेटघाट कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमका क्रममा चिसो भुइँमा गर्भवती महिलाहरू बसिरहेका थिए। उनीहरूका अगाडि राखिएका सोफा सांसद, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीलगायतका अतिथिले भरीभराउ थियो। नगरपालिका स्वास्थ्य शाखाले बुधबार नगरपालिकाको प्राङ्गणमा उक्त कार्यक्रममा आयोजना गरेको हो। कार्यक्रम गर्भवतीहरू महिलाहरूको स्वास्थ्यको बारेमा जानकारी दिन आयोजना गरिएको हो। कार्यक्रममा सहभागी गर्भवती महिलाहरूले आफूहरूलाई भुइँमा राखेकाले चिसोमा बस्न असहज भइरहेको बताइरहेका थिए।

कार्यक्रममा सहभागी एक महिलाले गुनासो गदै भनिन् ‘स्वास्थ्यका बारेमा जानकारी लिन आएको त चिसोका कारण बिरामी पर्ने चिन्ता लागेको छ।’ अर्की गर्भवती महिलाको गुनासो पनि उस्तै थियो। उनले भनिन् ‘गर्भवतीको स्वास्थ्यका बारेमा जानकारी दिन स्थानीय सरकाले चालेको कार्य राम्रो भए पनि देखाउनका लागि गर्भवतीलाई चिसो भुइँमा राखेर कार्यक्रम गर्नु राम्रो होइन।’ यता, कार्यक्रममा गर्भवती महिलाहरूलाई चिसोमा राखेको भन्दै जनगुनासो आएपछि नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल र नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले केही प्राविधिक समस्याका कारण गर्भवतीलाई व्यवस्थित ठाउँमा राख्न नसकेको स्वीकार्दै कार्यक्रम स्थलमा माफी मागे।

कार्यक्रम स्थलमा माफी माग्दै नगर उपप्रमुख मल्ले धेरै गर्भवती आमाहरूको सहभागिता भएका कारण हलमा नअट्ने भएकाले बाहिर प्रांगणमा कार्यक्रम गरिएको बताइन्। नारायण नगरपालिकाले नगरभित्र रहेका सम्पूर्ण गर्भवती महिलाहरूलाई सम्मानका साथ आत्मविश्वास बढाइ गर्भवती भएको अवस्थामा खानपानको महत्त्व र स्वस्थ रहने उपायबारे जानकारी दिइएको थियो। कार्यक्रममा नारायण नगरपालिकाभित्रका एक सय ११ जना गर्भवती महिलाहरूलाई अण्डा, फलफूल, क्याल्सियम, बिउ बिजन, नुन साबुन, नकट, झोला, लगायतका सामग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख खड्काले बताए।