☰ open Loading... 18 April 2024|  

बलात्कारको आरोप लागेपछि साल्ट ट्रेडिङ्ग सुर्खेतका हाकिम फरार
  | १ मंसिर २०७६, आईतवार १९:३६

सुशील खड्का
सुर्खेत । बलात्कारको आरोप लागेपछि सुर्खेतमा एक सरकारी कार्यालयका हाकिम फरार भएका छन् । वीरेन्द्रनगरमा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका प्रमुख रामबावु गुप्ता फरार भएको हुन् । उनीमाथि एक युवतीले कार्यालयमै बलात्कार गरेको आरोप लगाएकी छन् ।

गुप्ताले कार्यालयमा बोलाएर आफूमाथी बलात्कार गरेको भन्दै ती युवतीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । युवतीको उजुरी प्रहरीमा दर्ता भएपछि गुप्ता फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । जागिर लगाइदिने भन्दै आफूमाथि गुप्ताले यौन शोषण गरेको ति युवतीले उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित युवतीले पाँच दिन पहिला नै गुप्ताविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । युवतीको निवेदनको आधारमा गुप्ताविरुद्ध जबर्जस्तीकरणी गरेको अभियोगमा मुद्दा दर्ता भएको एसपी दिल्लीराज पन्तले जनाए ।

उजुरीपछि गुप्ता फरार रहेको र उनको खोजी भइरहेको एसपी पन्तको भनाइ छ । प्रहरीले गुप्ता फरार रहेको बताए पनि पीडित पक्षले भने प्रहरीले पक्राउ गर्न नचाहेको आरोप लगाएका छन् । पीडकलाई कानुनी दायरामा ल्याएर न्याय दिलाउन समेत पीडित पक्षको माग छ ।