☰ open Loading... 19 April 2024|  

प्रादेशिक औद्योगिक क्षेत्रका लागि चौरासेको जग्गा उपयुक्त
  | ११ मंसिर २०७६, बुधबार ११:४४

सुर्खेत । कर्णाली प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि लेकवेशी नगरपालिका–९ चौरासेको जग्गा उपयुक्त देखिएको छ । उद्योग मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसहितको टोलीले गरेको पूर्व सम्भाव्यताले चौरासेको जग्गा नै उपयुक्त देखिएको हो ।


यसअघि सम्भाव्यता अध्ययन गरिएको लेकवेशी नगरपालिकामा पर्ने रानीचौतारी र खाँडदेवी सामुदायिक वनस्थित दक्षिणतर्फ निर्माण गर्ने भनिएको जग्गाभन्दा चौरासेमा एकहजार विगाह जग्गा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सहायक निर्देशक रामाशंकर जयसवालले जानकारी दिए ।

‘चौरासेमा जीपीएस रेखाङ्कनका क्रममा जग्गा उपयुक्त देखियो’ जयसवालले भने, ‘पूर्व सम्भाव्यता अध्ययनका क्रममा मुआब्जा दिन नपर्ने तर औद्योगिक क्षेत्र निर्माण गर्ने बलियो आधार भेटाएका छौं ।’ चौरासेमा औद्योगिक क्षेत्रका लागि छनौट भएको स्थलमा पानी सहज रुपमा लैजान सकिने, सडकको सहजता र विद्युत सहज विस्तार गर्न सकिने क्षेत्र रहेको स्थलगत अध्ययनका क्रममा भेटिएको जयसवालले उल्लेख गरे ।

औद्योगिक क्षेत्रका लागि हेरिएको जग्गा खाँणदेवी, पोखरीकाँडा र रानीचौतरा सामुदायिक वन क्षेत्रको हो । चौरासेमा औद्योगिक क्षेत्र निर्माण गर्न लेकवेशी नगरपालिकाका जनप्रतिनीधि, सामुदायिक वन, स्थानीय राजनीतिक दल समेत एकवद्ध छन् ।

टोलीले एक महिनामा पूर्व सम्भाव्यताको प्रतिवेदन बुझाउने र लगत्तै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाउने जनाएको छ । औद्योगिक क्षेत्र निर्माणको चर्चा लामो समयदेखी चलेकाले यसैवर्ष आयोजना वातावरणीय मुल्याङ्कन (इआइए) गरेर आगामी वर्षदेखी निर्माणको काम अघि बढाउने तयारीमा लिमिटेड जुटेको छ ।

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले लामो समयदेखी औद्योगिक क्षेत्र निर्माणको चर्चा रहेपनि काम अघि नबढेकाले ठूला उद्योग सञ्चालन गर्न नसकिएको बताए । ‘चौरासेकै जग्गा उपयुक्त हो भने तत्काल प्रक्रिया अघि बढाउन आग्रह गर्दछु’ रावतले भने, ‘सरकारले जति छिटो औद्योगिक क्षेत्र निर्माण ग¥यो त्यति नै फाईदा नीजि क्षेत्रलाई हुने भएकाले गम्भीर हुन अनुरोध छ ।’ पूर्व सम्भावयता अध्ययन टोलीमा लिमिटेडका इन्जिनियर, अर्थशास्त्री, नापीको टोली सहभागी थियो ।