☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

पर्यटकलाई कर्णाली महँगो

  |

सुशील खड्का
सुर्खेत । आर्थिक मापनमा कमजोर रहेको कर्णाली प्रदेश पर्यटनमा अब्बल छ । पर्यटनमा अब्बल भएकै कारण प्रदेश सरकारले पनि यसलाई प्राथमिकता दिएको छ । पर्यटकलाई आकर्षित गरेर प्रदेशको आर्थिक अवस्थामा सुधार ल्याउने कसरतमा प्रदेश सरकार जुटेको छ । तर पनि कर्णालीमा अपेक्षाअनुसार पर्यटक भित्रिएका छैनन् ।

डाेल्पामा रहेकाे शे-फाेक्सुण्डाे ताल र रिग्माे गाउँ ।

पर्यटकलाई आकर्षित गर्न र यहाँ रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि सरकारले बजेट पनि विनियोजन गरेको छ । देशकै मुख्य पर्यटकीय गन्तव्यहरु राराताल, शेफोक्सुण्डो, काँक्रेविहार रहेको कर्णालीमा पर्यटक आगमनको अवस्था भने सन्तोसजनक छैन । यहीक्रममा यहाँ पर्यटक कम भित्रिनुको कारणबारे अध्ययन गरिएको छ । पर्यटन विज्ञको टोलीले गरेको स्थलगत अध्ययनमा महँगो भएका कारण कर्णालीमा पर्यटक कम भित्रिएको तथ्य भेटिएको हो ।

देशका अन्य स्थानको तुलनामा पर्यटकका लागि कर्णाली महँगो भएको विज्ञहरुले बताएका हुन् । कर्णाली महँगो भएको र यहाँका पर्यटकीय स्थलसम्म पुग्न सहज नहुँदा पर्यटक अपेक्षा अनुसार आउन नसकेको अध्ययनमा भेटिएको हो । एउटै जिल्लामा दुइ थरी रुट परमिट वापतको शुल्क तिर्नुपर्ने र सहज पहुँचमार्ग नहुँदा पर्यटकलाई महँगो पर्ने गरेको छ । यही कारणले पर्यटक कर्णालीमा कम आएको पर्यटन विज्ञले बताएका छन् ।

महँगो शुल्क, कमजोर सडक सञ्जाल, गरिबीले सेवा र सत्कारमा प्रभाव, सुविधायुक्त होटलको अभाव, महँगो हवाइ भाडा र पर्यटन सम्वन्धी दक्ष जानकारको अभावका कारण कम मात्र पर्यटक कर्णालीमा आउने गरेका विज्ञहरुको भनाइ छ । हाल कर्णालीको पर्यटन विकास सम्बन्धि गुरुयोजना बनाइरहेका विज्ञहरुले स्थलगत अध्ययन गरेर यस्तो तथ्य बाहिर ल्याएका हुन् ।

पर्यटन विज्ञ रामचन्द्र सेडाइँले भने,‘पर्यटक कर्णालीमा आउन चाहान्छन्, यहाँ पर्यटकलाई लोभ्याउने थुप्रै गन्तव्यहरु पनि छन् । तर कर्णाली पर्यटकका लागि महँगो भयो, त्यही भएर चाहेजति पर्यटक भित्रिएनन् ।’ उनले पर्यटकका लागि स्थानीय उत्पादन र शुल्कमा पुनर्बिचार गर्नुपर्ने बताए ।

कर्णालीमै स्थानीय उत्पादन खान पाइन्छ भन्नेबारे प्रचार नहुँदा पर्यटकलाई खानासमेत बाहिरबाटै बोकेर ल्याउने गरेको विज्ञहरुले बताए । यसले पनि पर्यटन व्यवसाय फस्टाउन नसकेको उनीहरुको तर्क छ । रारातालसम्म पुग्ने बाटो स्तरीय नहुँदा पर्यटकले चाहेर पनि त्यहाँ पुग्न नसकेको उनीहरुले बताए । पछिल्लो एक वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने कर्णालीमा २१ हजार दुई सय ९१ जना बाह्य पर्यटक भित्रिएका छन् ।

जसमा झण्डै १७ हजार हुम्लाहुँदै कैलाश मानसरोवर जाने भारतीय तिर्थयात्री पर्दछन् । हुम्लामा गतवर्ष मात्रै १७ हजार चार सय ८९ जना पर्यटक पुगेका छन् । यस्तै डोल्पामा दुई हजार ६ सय ८८, सुर्खेतमा ६ सय ५४, मुगुमा तीन सय ३४, जुम्लामा ६२, कालिकोटमा २१, दैलेखमा १४, रुकुम पश्चिममा १३, सल्यानमा नौ र जाजरकोटमा सात जना मात्र बाह्य पर्यटक पुगेका छन् ।

कर्णालीमा अन्तरिक पर्यटकहरु भने ६ लाख ५४ हजार आठ सय ६४ जना घुम्न आएका छन् । विगतमा कमिकमजोरी जेजस्तो भए पनि अब बन्ने यहाँको पर्यटन गुरुयोजनाले सम्पूर्ण तथ्यसहित समावेश गरेकाले प्रदेश सरकार गम्भीर हुन्पर्ने विज्ञहरुको सुझाव छ ।

‘बढीभन्दा बढी पर्यटक कर्णालीमा भित्र्याउने आधार हुँदा पनि कमजोर भौतिक पूर्वाधारले पर्यटकहरु कम आएका छन्’ विज्ञ टोलीका संयोजक सेडाइँले भने, ‘निकै मेहनत गरी बनाइएको गुरुयोजना अनुसार अब सरकारले लगानी गरे पाँच वर्षमा अपेक्षाअनुसार कर्णालीमा पर्यटन क्षेत्रमा सुधार ल्याउन सकिन्छ ।’ हाल जुम्ला पुगेका पर्यटक सडककै कारण राराताल नपुग्ने गरेको उनको भनाइ छ ।

 

पर्यटक भित्राउने महत्वाकाँक्षी लक्ष्य

झण्डै सात महिनादेखी तयार भइरहेको प्रदेशको पर्यटन विकास सम्बन्धी गुरुयोजना निर्माणको अन्तिम चरणमा छ । गुरुयोजनामा कर्णाली प्रदेश घुम्नैपर्ने प्राकृतिक पर्यटकीय गन्तव्य तथा गतिशिल अन्तर्राष्ट्रिय प्रवेशद्वारको रुपमा स्थापित भई समृद्धितर्फ लम्किएको हुने परिकल्पना गरिएको छ ।

यस्तै पाँच वर्षमा कर्णालीको दिगो आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने महोत्वाकाँक्षी लक्ष्य पनि गुरुयोजनामा समेटिएको छ । दुई चरणमा सरकारले तीव्र गतिमा काम नगरे कर्णालीमा अपेक्षाकृत पर्यटक भित्र्यायन नसकिने गुरुयोजनामा उल्लेख छ ।

आगामी पाँच वर्षमा आन्तरिक पर्यटक आठ लाख २६ हजार ७९ र बाह्य पर्यटकमा भारतीय पर्यटक मात्र ५९ हजार एक सय ४९ र अन्य देशका पर्यटकहरुको संख्या ३८ हजार पु¥याउने लक्ष्य छ । तर सन् २०२९ मा कर्णालीमा १५ लाख आन्तरिक, भारतीय र अन्य देशका २÷२ लाख पर्यटक भित्र्याइने गुरुयोजनामा उल्लेख छ ।

कर्णाली आउने पर्यटकका लागि प्रमुख गन्तव्य सुर्खेत

कर्णालीमा घुम्न आउने पर्यटकको लागि प्रमुख गन्तव्य सुर्खेतलाई बनाउन निर्माधिन गुरुयोजनाले मार्गदिशा गरेको छ । पर्यटन गुरुयोजना निर्माण विज्ञ समूहका संयोजक रामचन्द्र सेडाइँले यस्तो जानकारी दिए । उनले सुर्खेतलाई प्रमुख गन्तव्य बनाएर भेरी र कर्णाली करिडोर हुँदै हवाइ, गाडी र पदमार्गबाट पर्यटकलाई यहाँका अन्य पर्यटकीय गन्तव्य पु¥याउनुपर्ने विषय गुरुयोजनामा समावेश गरिएको जनाए ।

‘भेरी हुँदै डोल्पाको शे–फोक्सुन्डो ताल तथा कर्णाली हुँदै रारा र हुम्लाको लिमि उपत्यकासम्म पर्यटकलाई जानसक्ने गन्तव्य तय गरेर गुरुयोजना बनाएका छौं’ सेडाइँले भने, ‘उच्च हिमालमा ग्रेटहिमालयन ट्रेलमार्फत पर्यटकलाई शे–फोक्सुण्डो–हुम्ला जोड्दा धेरैदिन पर्यटकलाई कर्णालीमै भुलाउन सकिन्छ ।’

कर्णाली आएका पर्यटकलाई कर्णालीबाट सुदूरपश्चिम तथा भेरी करिडोरका पर्यटकलाई प्रदेश पाँच र तीनमा जोड्न सकिनेगरी स्पष्ट मार्गचित्रसहित गुरुयोजना बनिरहेको उनको भनाइ छ । ‘गुरुयोजनाअनुसार मात्रै पर्यटन क्षेत्रमा सरकारले बजेट छुट्याएर विकास गरे अबको पाँच वर्षमा कर्णालीको पर्यटन अपेक्षाकृत सुधार हुन्छ’ सेडाइँ भन्छन्,‘गुरुयोजना एकातिर, लगानी अर्कैतिर नहोस् ।‘

अब काठमाडौंमा अन्तिम सुझाव संकलन गरेर पुस १५ गते कर्णाली सरकारले पर्यटन गुरुयोजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

गुरुयोजनाको मर्मअनुसार पर्यटन क्षेत्रमा लगानी

कर्णाली प्रदेश सरकारले अब निर्माण हुने पर्यटन गुरुयोजना अनुसार नै पर्यटनमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णालीलाई पर्यटकीय हवका रुपमा विकास गरिने बताए । यहाँका पर्यटकीय क्षेत्रमा दु्रत गतिमा पूर्वाधार विकास गर्ने र बढी पर्यटक भित्र्याउन गुरुयोजना फलदायी हुने उनको दाबी छ ।

पछिल्ला वर्षमा कर्णालीको पर्यटन विकासमा लगानी नभएको स्वीकार गर्दै मन्त्री बुढाले अब गुरुयोजना अनुसार नै सरकार अघि बढ्ने प्रतिवद्धता जनाए । ‘गुरुयोजना विना काम गर्दा उपलव्धी नहोला भनेर गुरुयोजना बनाउन लागेका हौ’ मन्त्री बुढाले भने, ‘आगामी वर्षदेखी गुरुयोजना अनुसार नै पर्यटकीय क्षेत्रमा सरकारले बजेट विनियोजन गर्दै कार्यान्वयन गर्नेछ ।’

प्रकाशित मितिः शनिबार, मंसिर १४, २०७६     12:52:48 PM
error: Content is protected !!