☰ open Loading... 19 April 2024|  

बांगेशिमल उद्यान बनाउन डिपिआर
  | १४ मंसिर २०७६, शनिबार १८:५६

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ बाँगेशिमलामा ‘बाँगेशिमल उद्यान’ बनाउन डिपिआर निर्माण गरिएको छ । सशस्त्र प्रहरी वेस क्याम्प जाने बाटो नजिकै रहेको खाली जग्गामा ‘बाँगेशिमल उद्यान’ निर्माण गर्ने उदेश्यले २ नम्बर वडा कार्यालयले डिपिआर तयार गरेको हो ।


३० वर्षदेखी खाली रहेको जग्गा अतिक्रम हुन थालेपछि वडा कार्यालय उद्यान बनाउने गरी घेरवार गरेको थियो । शुरुमा बाल उद्यान निर्माण गर्ने तयारी थालेको कार्यालयलाई वडाका अगुवाहरुले बांगेशिमल उद्यान बनाउन सुझाव दिएका छन् ।

शनिबार कार्यालयले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सहभागीहरुले बालबालिकादेखि वृद्धवृद्धालार्ई आकर्षित गर्नेगरी उद्यान बनाउन बताएका हुन् । सहभागीहरुले कर्णाली राजमार्गसंग जोडिएको र बांगेशीमल आउने पर्यटकहरुलाई गढी जाने सडकको स्तरोन्नति गर्न वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीलाई आग्रह गरे ।

प्रमख सुवेदीले उद्यान निर्माणमा आवश्यक बजेटको व्यवस्था गर्ने वचन दिएका छन् । उद्यानका लागि निर्माण गरिरहेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा गार्डेन, पार्क, म्युजियम, मन्दिर लगायतका आकर्षक संरचनाहरु निर्माण गरिने २ नम्बर वडा कार्यालयका अध्यक्ष बलबहादुर रोकायले जानकारी दिए ।

खाली जग्गा अतिक्रम हुनुभन्दा आकर्षक उद्यान गर्न डिपिआर गरेको रोकायले बताए । ‘बजेटको जोहो गरेर आगामी आर्थिक वर्षदेखी निर्माणको थालनी गर्नेछौं’ रोकायले भने, ‘उद्यान बनाउन झण्डै तीन करोड बजेट आवश्यक रहेकाले डिपिआर लगत्तै त्यसको व्यवस्थापन गर्न लागेका छौं ।’