☰ open Loading... 19 April 2024|  

काव्य गोष्ठीमा साहित्यिक पत्रिका दुरविन विमोचन
  | १४ मंसिर २०७६, शनिबार १९:४१

सुर्खेत । कर्णाली वाङ्मय प्रतिष्ठानले आफ्नो साहित्यिक पत्रिका दुरविनको दोस्रो अंकको विमोचन गरेको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विमोचन गरेकी हुन् ।

विमोचन कार्यक्रममा बोल्दै मन्त्री केसीले साहित्य सबैले लेख्न र बुझ्न नसक्ने भएपनि साहित्य समाजको लागि लेखिन जरुरी भएको बताइन । समाजमा भएका विकृतिलाई उजागर गरेर चेतनाको विकास गर्न सक्ने रचना नै साहित्य भएको उनको भनाई थियो ।

साहित्यकारले सरकारले गरेका कमीकमजोरीहरु समेत औल्याएर राष्ट्र निर्माणमा योगदान दिनु पर्ने उनको भनाई थियो । उनले भनिन्, ‘साहित्यले सभ्यताको संस्कार बसाउन सक्नु पर्छ ।’

साहित्य अप्ठ्यारोबाट जन्मिने भएकोले यसले समाजलाई सजिलोतिर लैजाने कार्य गरेको बताउँदै सरकारले पनि साहित्यको पूवद्र्धनका लागि विशेष भूमिका खेल्न सक्नुपर्ने मन्त्री केसीले बताइन् ।

कर्णालीको गरिबी अन्त्य र दिगो विकासका लागि साहित्यको विकास गराउन जरुरी भएको मन्त्री केसीको कथन थियो । कार्यक्रममा दुरविन पत्रिकाको समालोचना गर्दै बलभद्र भारतीले दुरविनले साँच्चिकै दुरविनको काम गरेको बताए ।

दुरविन भित्र भएका रचनाहरुको समेत विश्लेषण गर्दै भारतीले भने, ‘सिंगो कर्णालीको विषयवस्तुलाई साहित्यका माध्यमबाट उजागर गर्ने र सिंगो साहित्य जगतका लागि पनि दुरविन एउटा दस्तावेजको रुपमा प्रकाशन भएको छ ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन साहित्यकार खोपिराम लम्सालले संस्थाको निरन्तरता र प्रकाशनको निरन्तरता ठूलो भएको बताए ।

उनले भने, ‘सुर्खेतमा रहेर साहित्यकर्ममा लागिरहेका साहित्यकारहरुलाई प्रशिक्षणको व्यवस्थापन गर्न सकेको खण्डमा अग्रज र अनुज बीचमा सेतुको कार्य स्थापित गर्न सकिने थियो ।’

भावनाले थिचिएका साहित्यकारलाई सैद्धान्तिक पाटोको ज्ञान दिने गरि काम गर्ने संस्थाको खाँचो भएको लम्सालले बताए । साहित्यमा लाग्नेहरुले भाषा, तत्वको घटकको बारेमा अध्ययन गर्न जरुरी भएको उनको भनाई थियो ।

साहित्यकार डा. दीपक गौतमले साहित्यको जीवन भनेको भाव भएकोले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताए । साहित्यकारको स्तर उसको रचनाले निर्धारण गर्ने भएकोले कुन स्तरको रचना छ र कुन स्तरको साहित्यकार हो भन्ने स्पष्ट हुने उनको भनाई थियो ।

प्रतिष्ठानका अध्यक्ष सीता यरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सल्लाहकार विष्णु महताराले गरेका थिए भने कार्यक्रममा दुई दर्जन स्रष्टाहरुले रचना वाचन गरेका छन् ।

अधिकारी सम्मानित

कर्णाली वाङ्मय प्रतिष्ठान गुर्भाकोट सुर्खेतले कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतलाई सम्मान गरेको छ । विगत लामो समयदेखि नेपाली भाषा साहित्य संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष योगदान दिएको भन्दै प्रतिष्ठानले अधिकारीलाई सम्मान गरेको संस्थाका अध्यक्ष सीता यरीले बताइन् ।

दुरविनको विमोचन तथा बृहत काव्य गोष्ठीको अवसरमा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अधिकारीलाई सम्मान गरेकी छन् ।

अधिकारी विभिन्न एक दर्जन बढि साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । साहित्य तथा पत्रकारिताका क्षेत्रमा कलम चलाउँदै आएका अधिकारीका चार वटा कृति समेत प्रकाशित छन् । कर्णाली वाङ्मय प्रतिष्ठान स्थापनाको छोटो अवधिमै विविध कार्यहरु गर्दै आएको सुर्खेतको सक्रिय साहित्यिक संस्था हो ।