☰ open Loading... 18 April 2024|  

विवाद समाधानका लागि कांग्रेस संस्थापन पक्ष प्रयासरत
  | २९ मंसिर २०७६, आईतवार १२:३९

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवाद समाधानका लागि संस्थापन पक्षले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास जारी राखेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले विवाद समाधानका लागि वार्ता समितिमार्फत् निकास खोजिनुपर्ने अडान राखेपछि संस्थापन पक्ष शनिबारदेखि सहमतिको प्रयासमा छ ।

सहमतिकै प्रयास स्वरुप उपसभापति विमलेन्द्र निधिले महामन्त्री डा. शशांक कोइरालाकै निवास पुगेर विवाद समाधानका बारेमा छलफल गरेका छन् । उपसभापति निधि र महामन्त्री कोइरालाबीच उनकै निवास महाराजगञ्जमा विवाद समाधानका बारेमा छलफल भएको हो ।

“उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालबीच कोइराला निवास महाराजगञ्जमा भर्खर छलफल सम्पन्न भएको छ,” प्रवक्ता विश्वप्रकाश शर्माले भने, “चार मुख्य विषयमा पार्टीभित्र सहमति निर्माण गरेर अघि बढ्ने सहमति भएको छ ।” यद्यपि, उनले सहमति निर्माण गरिने चार मुख्य विषयका बारेमा भने खुलाएका छैनन् ।

प्रवक्ता शर्माले आइतबार दिउँसो १ वजे बस्न गइहरेको केन्द्रीय कार्यसमिति बैठक अघि उपसभापति निधि र पौडेल समूहले वार्ता संयोजक बनाएका पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच फेरि छलफल हुने जानकारी दिएका छन् । यसअघि शनिबार बेलुकी उनीहरुबीच सिंह निवास चाक्सीबारीमा छलफल भएको थियो । तर, उक्त छलफलले कुने निष्कर्ष भने निकालेको थिएन ।

गत बिहीबार सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिकाको विषयलाई बैठकका एजेण्डा नबनाएपछि वरिष्ठ नेता पौडेल समूहले केन्द्रीय समिति बैठक बहिष्कार गरेको थियो । बहिष्कारकाबीच बसेको बैठकमा सभापति देउवाले पार्टीका केन्द्रीय विभाग बढाउने लगायतका विभिन्न नौ वटा एजेण्डा प्रस्ताव गरेका छन् । ती एजेण्डाहरु सहमतिमा पारितका लागि सभापति देउवा प्रयासरत छन् ।