☰ open Loading... 16 April 2024|  

भाग एक : नाम घरेलु महोत्सव, धन्दा फेन्सीको व्यापार
  | ५ पुष २०७६, शनिबार १८:२७

सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरमा शुक्रबारदेखी तमझमका साथ प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव शुरु भयो । महोत्सवको नामबाटै स्पष्ट हुन्छ की पक्कै पनि कर्णालीका मात्रै घरेलु उत्पादनहरु राखिएको छ ।

तर महोत्सव स्थलमा घरेलु उत्पादनभन्दा कमाउनकै लागि महोत्सव आयोजना गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले आयातित सामग्रीको प्रदर्शन गरिरहेको छ । महोत्सवको प्रवर्द्धक कर्णाली प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय छ ।

महोत्सवमा रहेका स्टलहरुमा ६० प्रतिशत व्यापार हिस्सा बाह्य व्यापारको छ । सरकारबाट लाखौं रकम लिएर आयोजकले फेन्सीदेखी अन्य विविध स्टलहरु राखिरहेको छ । कर्णालीकै पहिचानको विषय भएकाले महोत्सवलाई सफल बनाइदिन आयोजकले आग्रह गरिरहेको छ ।

पहुँच भएका लघु उद्यमीका केही स्टल महोत्सवमा राखिएको छ । साना उद्यमीहरुले भने महोत्सवमा स्टल राख्न कम्तीमा २५ हजार तिर्न भनेपछि स्टल राख्न नसकिएको शिव पेपर कप उद्योगका सञ्चालक लोकमाया रेग्मीले बताइन् ।

‘आयोजकले १५ हजारभन्दा तल घट्न नसक्ने भनेपछि स्टल राख्न सकिएन्’ रेग्मीले भनिन्, ‘स्टल राख्दैमा व्यापार हुँदैन्, त्यहाँ हामी जस्ता साना उद्योगहरुबाट उत्पादित सामग्रीको प्रदर्शन मात्रै गर्ने हो । आयोजकले लघु उद्यमीको नाम दिएर समेट्न नसक्नु राम्रो हैन् ।’

महोत्सवमा ४० प्रतिशत घरेलु उद्योगका स्टल रहेका महोत्सव मुल आयोजक समितिका सह–संयोजक दिपकबहादुर बुढाको दावी छ । ‘घरेलु उद्योग मात्रै राख्दा नागरिक नआउने भएकाले अन्य स्टल राख्नु परेको हो’ बुढाले भने, ‘बाह्य स्टल राख्दैमा घरेलु उत्पादन ओझेलमा पर्छन भन्नु गलत हो ।’ घरेलु उत्पादन महोत्सवमा राख्न २० देखी ३० प्रतिशत छुट दिएको दावी बुढाको छ ।