☰ open Loading... 29 March 2024|  

भाग २ ः छुटविनै महोत्सवमा कृषि र उद्योग मन्त्रालयको झण्डै १० लाख सहयोग
  | ६ पुष २०७६, आईतवार १४:१३

सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरमा जारी महोत्सवमा कर्णाली प्रदेशको कृषि र उद्योग मन्त्रालयले छुटविनै झण्डै १० लाख रकम दिने सम्झौता गरेको खुलेको छ । महोत्सवको प्रवद्र्धक रहेका यी दुई मन्त्रालयले नाै लाख ७० हजार रकम महोत्सव आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशलाई दिने खुलेको हो ।

याे पनि पढ्नुहाेस् : भाग एक : नाम घरेलु महोत्सव, धन्दा फेन्सीको व्यापार


महासंघले कर्णालीका उद्यमीहरुलार्ई कम्तिमा ३० देखी ४० प्रतिशत छुटमा स्टल राखेको दावी गरेको थियो । कृषि मन्त्रालयले प्रतिस्टल राखे वापत २५ हजार र उद्योग मन्त्रालयले २३ हजार पाँचसय दिने उल्लेख छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले महासंघलाई स्टल राखिदिएवापत पाँच लाख रकम दिने सम्झौता गरेको छ । तर उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले भने मौखिम सहमतिमा चारलाख ७० हजार दिने सहमति गरेको छ । कृषि मन्त्रालयले सम्झौताप्रति उपलव्ध गराएपनि उद्योग मन्त्रालयले भने सम्झौता पत्र दिन मानेन् ।

कृषिले महोत्सव अवधिमा २० स्टल राखेवापत् २५ हजारका दरले पाँच लाख रकम उपलव्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । तर महोत्सवमा कति ओटा स्टल छन् भन्ने एकिन तथ्याङ्क मन्त्रालयसँग छैन् ।

‘उपयुक्त कृषि उद्यमी, समूह, सहकारी, संघ र संस्थालाई सिफारिसका आधारमा पठाइनेछ’ सम्झौतापत्रमा भनिएको छ, ‘कृषिसँग सम्बन्धित उत्पादनहरु कृषक समूह, सहकारी, उद्यमीहरुले प्रदर्शनी गर्नेछन् ।’

उद्योगका ७ स्टल मात्रै
कर्णालीका १० जिल्लाकै प्रतिनिधित्व हुनेगरी महोत्सवमा २० स्टल राख्ने सम्झौता गरिएको मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य बताउँछन् । महोत्सवमा १० पर्यटन र १० उद्योगतर्फका स्टल राख्ने मौखिक सहमति आयोजकले मन्त्रालयसंग गरेको थियो ।

तर महोत्सवमा शनिवारसम्म ७ वटा मात्रै उद्योगतर्फका स्टल राखिएको छ । यी मध्य ६ उद्योग सुर्खेत र एक जाजरकोटका हुन् । कर्णालीका अन्य जिल्लाहरुका उद्योगीहरु महोत्सवमा सहभागी गराइएको छैन् ।

‘पहुँचका आधारमा देखाउनकै लागि केही उद्यमी देखाउँनकै लागि सहभागी गराएजस्तै गरिएको छ’ मन्त्रालयका एक कर्मचारीले भने, ‘जुन उदेश्यले महासंघसँग मौखिम सम्झौता गरिएको थियो सोहीअनुसारका उद्योग र पर्यटनसम्बन्धि स्टलहरु छैनन् ।’