☰ open Loading... 20 April 2024|  

मालपोतमा सेवा भन्दा झमेलै झमेला
  | २९ पुष २०७६, मंगलवार ११:०१

सुर्खेत । मालपोत कार्यालय सेवाग्राहीको भीडभाड हुने कार्यालय हो । यो कार्यालयमा जग्गाको किनबेच, रोक्का र फुकुवा र लगत कट्टा गर्ने लगायतका काम हुन्छन् । त्यसकारण पनि सेवाग्राहीको भीड बाक्लो हुने नै भयो । त्यसमा पनि वीरेन्द्रनगरमा रहेको मालमोत कार्यालयमा हिजोआज थामिनसक्नु भीड हुने गरेको छ । सरकारी कार्यालयबाट प्रवाह हुने सेवा र सुविधा नागरिकले सहज रुपमा पाउनु पर्दछ ।

तर मालपोत कार्यालयमा समयमै काम नहुने र सास्ती बढी हुन थालेको गुनासो बढ्न थालेको छ । आइतवार र सोमबार विहान दश नबज्दै हाम्रो टीम मालपोत कार्यालय सुर्खेतमा पुग्दा थामि नसक्नु गरी सेवाग्राही भीडले भरियो । प्रत्येक कोठाको बाहिर सेवाग्राहीहरु लाइनमा बसे । दश बज्ने वित्तिकै कर्मचारी आउलान् र काम गरौंला भन्ने आशले लाइनमा बसेका सेवाग्राहीहरु आक्रोशित देखिन्थे । कारण साढे १० बजेसम्म पनि कर्मचारी कार्यकक्षमा आएनन् ।

मालपोत कार्यालयप्रति गुनासो आउनु नयाँ भने होइन । विगतमा पनि यस्ता धेरै गुनासाहरु सुनिन्थे । विगतमा धेरै सेवाग्राहीले गर्ने गुनासो हुन्थ्यो, ‘कर्मचारीले पैसा नदिएसम्म कामै गर्दैनन्’ । तर यसपाली भने त्यो गुनासो सुनिएन । बरु समयमै काम नहुने गरेको र काममा अलमल हुने गरेको गुनासो बढी सुनियो । यो कार्यालयको सेवाप्रवाह अझै पनि जनमैत्री बन्न सकेको देखिएन । एउटै कामका लागि हप्तादिन लगाउनुपर्ने बाध्यता र झन्जटिलो प्रक्रिया, सूचना बोर्डको अभावका कारण सामान्य नागरिकले सहजै रुपमा सेवा पाउने अवस्था छैन ।

समयमै आउँदैनन् कर्मचारी
सोमवार विहान साढे नौ बजे नै वीरेन्द्रनगरमा रहेको मालपोत कार्यालयमा पुगेको थियो । नौ बजेर ४५ मिनेटमा कार्यालयको गेट खुल्यो । त्यतिबेला सेवाग्राहीहरुको लाइन लामो भइसकेको थिएन । जब १० बज्यो, तब कार्यालयमा रहेका सबै कोठाका ढोका पनि खुले । आफ्नो काम गराउनका लागि सेवाग्राहीहरु कोठाकोठामा पुगेर लाइनमा लागे ।

१० बज्ने वित्तिकै कर्मचारी कार्यालयमा हाजिर हुनुपर्ने हो । तर सोमवार तेस्तो देखिएन । कर्मचारी समयमै नमाएपछि सेवाग्राहीहरु कुरिरहेका थिए । केही कर्मचारीहरु १० बजेपछि फाटफुट रुपमा कार्यालयमा छिरे । तर कार्यालयको नेतृत्व गर्ने र कर्मचारीलाई निगरानी गर्ने कार्यालय प्रमुख लक्ष्मी खत्री भने १० बजेर १९ मिनेमा मात्र कार्यकक्षमा प्रवेश गरिन् ।

त्यतिवेला उनको कार्यकक्ष बाहिर लामो लाइन थियो । त्यो देखेर उनी भन्दै थिइन्,‘ओहो ! लाइन त लामो भइसकेछ, अरु कोही (कर्मचारीहरु) आउनु भएको छैन ?’ सेवाग्राहीले अरु कर्मचारी नआएको सुनाएपछि उनले पालैपालो भित्र आउन भनिन् । साढे १० नबज्दासम्म कर्मचारीहरु कार्यालयमा नआउने गरेको सेवाग्राहीको भनाइ छ ।

एउटै कामका लागि हप्तादिन
दैलेखका शेरबहादुर रावल जग्गा रोक्का गर्न पुस १० गते सुर्र्खेत आए । जग्गा धितो राखेर ऋण लिने प्रक्रियामा लागे । जग्गा रोक्काका लागि पुस ११ गते मालपोत कार्यालयमा पुगे । तर उनले जग्गा रोक्काको प्रक्रिया पुरा गर्न भने झण्डै महिनादिन लाग्यो । त्यस्तै सुर्खेत मेहलकुनाका गोपाल खड्का पनि जग्गा रोक्काको प्रक्रियाका लागि मालपोत कार्यालयमा पुगे । तर उनले पनि जग्गा रोक्का गर्न झण्डै हप्तादिन लगाउनु प¥यो ।

रावल र खड्का मात्रै होइन, सामान्य कामका लागि पनि सेवाग्राहीले कम्तिमा पनि हप्तादिन लगाउनुपर्ने बाध्यता छ । पहिलो एकैदिनमा हुने काम अचेल कम्तिमा एक हप्ता लाग्ने गरेको सेवाग्राही मीना खड्काले बताइन् । जग्गा फकुवाका लागि कार्यालयमा पुगेका पवन श्रेष्ठले तीन दिनसम्म धाउँदा पनि आफ्नो काम नभएको भन्दै आक्रोश पोखे ।

किन बढ्यो भीड ?
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै जग्गाको कारोबार पनि ह्वातै बढेको छ । सुविधा खोज्दै अन्य जिल्लाबाट वीरेन्द्रनगर बसाइ सरी आउनेक्रम बढ्न थालेको हो । दिन प्रतिदिन वीरेन्द्रनगर आउनेहरुको संख्या बढेपछि जग्गाको मूल्य पनि आकासिएको छ ।

‘दिन प्रतिदिन जग्गाको कारोबार बढेको छ, एक दिनमै पाँचसय बढी सेवाग्राहीहरु आउँछन्’ कार्यालय प्रमुख खत्री भन्छिन, ‘जग्गाको कारोबार बढेपछि कार्यालयलाई थामि नसक्नु भएको छ, सेवाग्राहीको भीडअनुसार भौतिक संरचना र कर्मचारीको अभाव छ ।’ राजधानी भएको र सेवा सुविधा बढ्ने आशमा वीरेन्द्रनगरमा मान्छेहरु बाहिरबाट भित्रिन थालेका छन् । वीरेन्द्रनगरमा जग्गा र घडेरी किन्नेहरुको संख्या बढेसँगै मालपोतमा भीड बढेको हो ।

खाजा खानै एक घण्टा, नेट छैन भन्दै फकाउँदै !
सामान्यतया खाजा खान कति समय लाग्ला ? १५÷२० मिनेट वा आधा घण्टा । तर सेवाग्राहीको भीडले अस्तव्यस्त हुने यो मालपोत कार्यालयका कर्मचारीले भने खाजा खानमै एक घण्टा भन्दा बढी समय लगाउँछन् । सेवाग्राहीको लाइनले कार्यालय हाता नै भरिएको हुन्छ ।

आफ्नो पालो कतिबेला आउला भनेर सेवाग्राहीहरु लाइनमै उठ्ने र बस्ने गरिरहेका हुन्छन् । तर कर्मचारी भने घडी हेर्दे खाजा खाने समय भयो भन्दै बाहिर निस्कन्छन् । खाजा खाएर कर्मचारी आउलान् भन्दै लाइनमा कुरिरहेका सेवाग्राही त्यतिबेला झर्किन्छन्, जतिवेला कर्मचारीहरु खाजा खाएर पनि घाम तापेर समय विताउने गर्छन् ।

त्यतिमात्र होइन, अचेल कर्मचारीलाई कामबाट छुटकारा पाउने गतिलो वहाना बनेको छ इन्टननेट । अनलाइन प्रणालीमा काम थालेपछि कर्मचारीले सेवाग्राहीलाई नेट छैन भन्दै फिर्ता पठाउने गरेको भेटिएको छ । आइतवार मालपोत अधिकृत लक्ष्मीकुमार विकको कार्यकक्षमा काम गराउने भीड थियो ।

घण्टौंदेखि सेवाग्राहीहरु लाइनमा थिए । तर अधिकृत विकले नेट छैन भन्दै लाइनमा बसेकाहरुलाई भने,‘आज नेट गयो, तपाइँहरु अब भोली आउनुहोला ।’ त्यतिबेला साढे तीन मात्र बजेको थियो । नेट नभएको र काम नहुने भनेपछि सेवाग्राहीहरु निराश भएर फिर्ता भए ।

नाम मात्रको नागरिक वडापत्र
कार्यालयको सेवालाई प्रभावकारी बनाउन हरेका कार्यालयमा सूचना बोर्ड अर्थात नागरिक वडापत्र अनिवार्य हुन्छ । जो सेवाग्राहीका लागि सहयोगी पनि बन्छ । नागरिक बडापत्रमा नै कार्यालयबाट प्रवाह हुने सेवा र सुविधा प्राप्त गर्ने तरिका, लाग्ने शुल्क, काम हुने अवधि र सेवा लिन आवश्यक हुने कागजातबारे स्पष्ट लेखिएको हुन्छ ।

यही बडापत्रको आधारमा नागरिकले सरकारी सेवा प्राप्त सहज रुपमा गर्दछन् । तर तर मालपोत कार्यालय सुर्खेतको नागरिक वडापत्र भने आफै अस्तव्यस्त छ । कार्यालय हाताभित्रै वडापत्र भए पनि त्यसले सूचना दिनसक्ने अवस्थामा छैन । वडापत्र एकातिर मधुरो छ भने अर्काेतिर सबैको नजर त्यसमा पुग्ने स्थानमा छैन । भित्तामै वडापत्र राखिएको भए पनि सेवाग्राहीको भीडले वडापत्र देख्न सकिने अवस्था नै छैन । जसले गर्दा कार्यालयमा पुगेका सेवाग्राहीहरु अलमलमा पर्दै आएका छन् ।

सहायता कक्ष नहुँदा अलमल
मालपोत कार्यालय सबैभन्दा बढी व्यस्त र सेवाग्राहीको चाप हुने कार्यालय हो । यो कार्यालयमा सामान्य लेखपढसमेत नगरेका नागरिक पनि सेवा लिन पुग्छन् । तर यो कार्यालयमा हालसम्म सहायता कक्ष छैन । जसकाकारण सर्वसाधारणलाई कुन सेवा कहाँ र कुन कोठाबाट कुन काम हुन्छ भन्ने जानकारी पाउँन सक्दैनन् ।

सेवाबारे जानकारी नहुँदा अधिकांश सेवाग्राही एउटै कामका लागि घण्टौंसम्मा लाइनमा बस्न र कोठाकोठा धाउन बाध्य भइरहेका छन् । निरक्षर सेवाग्राहीले कार्यालयको नागरिक वडापत्रबाट थाहा नपाएको सूचना सहायता कक्ष आवश्यक हुन्छ । तर सेवाग्राहीको भीड भइरहने यो कार्यालयमा प्रभावकारी सूचना बोर्ड र सहायता कक्ष नहुँदा सेवाग्राही हैरानी भोग्दै आएका छन् ।

‘कर्मचारी नहुँदा म आफैले सहायता कक्षको काम गरिरहेको छु’, कार्यालय प्रमुख खत्री भन्छिन्, ‘कर्मचारी भए पनि कार्यालयमा सहायता कक्ष राख्ने ठाउँ नहुँदा समस्या छ ।’ सहायता कक्षको व्यवस्था भएमा सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने अवस्था हुन्थ्यो ।

‘कर्मचारी अभावले सेवाग्राहीको चाप थेग्नै मुस्किल भयो’
मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्रीको तर्क बेग्लै छ । उनी भौतिक संरचना र कर्मचारी अभावकै कारण यस्तो भद्रगोल भएको बताउँछिन् । सेवाग्राहीको चाप बढेपछि आफूहरुले चाहेर पनि सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन नसकेको उनको भनाइ छ ।

‘प्रदेशको राजधानी बनेपछि एकैदिन पाँच सयभन्दा बढी सेवाग्राही आउँछन्, तर कर्मचारीको दरबन्दी र भौतिक संरचना भने पूरानै अवस्थामा छ’ उनी भन्छिन्, ‘चुहिने कार्यालयबाट गुजरा चलाउनु परेको छ, कर्मचारीले एक मिनेट पनि फुर्सद पाउँदैनन, हाम्रो यो पीडा अब कसले बुझ्ने ?’

आफू कार्यालय प्रमुख भएर आएपछि कार्यालय हाताभित्रै बैंकको काउन्टर, कम्प्युटर कक्ष लगायतको व्यवस्था गरेको उनको भनाइ छ । ‘मालपोतले कसरी सेवा दिइरहेको छ ? भनेर जिम्मेवार निकायले हाम्रो निगरानी गरेहुन्छ, कर्मचारीले नियतबस सेवा प्रवाहमा ढिलाइ गरेका छैनन् ।’ उनी थपिन्छन्, ‘अनलाइन प्रणालीका कारण बेलाबेलामा समस्या आउँछ, प्रविधिमा सामान्य समस्या आउँदा अन्यथा बुझ्नु भएन ।’ उनले सेवाग्राहीको चाप अनुसार कर्मचारी र भौतिक संरचना थप भएमा सेवा प्रभावकारी हुने बताइन् । (युगअाह्वान दैनिकबाट)