☰ open Loading... 18 April 2024|  

कर्णाली प्रदेशका सडकमा अब माग्न नपाइने
  | ४ माघ २०७६, शनिबार १८:३१

सहयोगापेक्षी सडक मावनमुक्त प्रदेश घोषणा

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ । प्रदेशका दश जिल्लाकै बेसहारा, असहाय, अशक्त र अभिभावकविहिनहरुलाई उद्धार गरेर आश्रममा राखेपछि शनिवार सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको हो ।

कर्णाली प्रदेशमा रहेका बेसहारा, असहाय, अशक्त र अभिभावकविहिनहरुको संरक्षण सरकारले गरेपछि सयोगापेक्षी मावनमुक्त प्रदेश घोषणा गरिएको छ । प्रदेशका विभिन्न जिल्लामा अभियान नै सञ्चालन गरेर वेसहाराहरुको उद्धार गरेर मावन सेवा आश्रममा राखेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरेको हो ।

बेसहाराहरुले अब सडकमा देखिए तत्काल उनीहरुको उद्धार गरेर आश्रममा राखिनेछ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बेसहाराहरुको व्यवस्थापन गर्ने जिम्मा सरकारको भएको बताए ।

उनले बेसहाराहरुको उद्धार, पालपोषण, उपचार तथा पारिवारिक पुनर्मिलन गराउने दायित्व सरकारको भएको उल्लेख गरे । अपांगता भएका, शारीरिक रुपमा अशक्त भएका, मानसिक रोगी भएका सहयोगापेक्षी व्यक्तिकालागि उपचारको पनि व्यवस्था गरिने बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘यसका साथै उनीहरुले सिकेका सीपबाट उत्पादन गर्न लगाउने र त्यसो गर्दा आम्दानीका साथै उनीहरुको समय पनि सहज रुपमा वित्ने हामीले देखेका छौं ।

सामाजिक विकास कार्यालयबाट प्रदेशका १० ओटै जिल्लामा भवन बनाउने र व्यवस्थापन गर्नेछौं ।’ मुख्यमन्त्री शाहीले ज्येष्ठ नागरिक ज्यूँदो इतिहास भएको बताउँदै उनीहरुको सीप, ज्ञान सबैले लिनैपर्ने बताए ।

सडक तथा विभिन्न धार्मिक स्थलमा परिवारबाट वेवस्थाका कारण मानसिक रोगबाट पीडितहरुलाई उद्धार गरेर वीरेन्द्रनगरको मानव सेवा आश्रममा राखिएको छ ।

आश्रममा हाल ५३ जना सडक बालबालिका, अशक्त, अपाङ्ग र मानसिक रोगीहरु छन् । उद्धार गरिएकाहरुमध्य प्रदेशका अन्य जिल्लाहरुको तुलनामा सुर्खेतमा भेटिएका बेसहाराहरु बढी छन् ।

सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाले आश्रममा रहेका बेसहाराहरुलाई आर्थिक सहयोग गरिरहेका छन् । आश्रममा रहेका मध्य हालसम्म १३ जनालाई परिवारसंग पुनर्मिलन गराइएको छ । सरकारले सडक बालकालिकाहरुलाई आमाघर, वृद्धवृद्धालाई प्रशान्ति वृद्धाआश्रम र अन्य अशक्तहरुलाई मानव सेवामा आश्रममा राख्ने व्यवस्था मिलाएको छ ।

 कार्यक्रमको आयोजना वीरेन्द्रनगर नगरपालिका, मानव सेवा आश्रम सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेत र सामाजिक विकास मन्त्रालयले गरेको थियो । घोषणा पूर्व मंगलगढी चोकबाट ¥याली निकाली जिल्ला समन्वय समितिमा गई सभामा रुपान्तरण गरिएको थियो ।