☰ open Loading... 19 April 2024|  

वीरेन्द्रनगरमा ‘बुद्ध सराेवर’ निर्माण गर्न धम्म देशना शुभारम्भ
  | ४ माघ २०७६, शनिबार १८:४८

प्रदेश सरकारले कुनै पनि जातिलाई विभेद गर्दैन : मन्त्री बुढा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुद्धपथमा निर्माण गरिने बुद्ध सरोवरका लागि धम्म देशना कार्यक्रम शुभारम्भ गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बुद्ध सरोवर निर्माणकोलागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री बुढाले आफ्नो मन्त्रालयमा डिपिआर बुझाएको अवस्थामा समपुरक र विशेष अनुदान मार्फत सहयोग गर्न सक्ने बताए ।

प्रत्येक कर्णालीबासीले आर्थिक सहयोग गरेर सरोवर बनाउँदा समय धेरै लाग्न सक्छ त्यसैले समृद्ध कर्णाली बनाउनकालागि यस्लाइ परियोजनाको रुपमा लिएर काम गर्दा छिटो निर्माण सम्पन्न हुने बताए ।

उनले प्रदेश सरकारले कुनै पनि जातिलाई विभेद नगरेको भन्दै उनले कर्णालीका ऐतिहासीक घार्मिक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रसंग जोडेर पर्यटनको विकास गर्न सकिने जनाए ।

त्यस्तै कर्णाली प्रदेश सभा सदस्य सिता नेपालीले बुढापाकाको भनाई अनुसार यो वीरेन्द्रनगरमा रहेको चौहान पोखरी हो यहाँ पहिला पोखरी नै थियो आज यही स्थानमा बुद्ध सरोवर निर्माण अभियान नै एउटा गौर‍वको विषय भएको बताइन् । कर्णालीमा अलि धेरै वेर पर्यटक भुल्ने ठाँउ नभएकोले यो सरोवर पर्यटक ध्यान तान्ने स्थल बनाउनुपर्ने उनकाे धारणा थियाे ।

कार्यक्रममा धर्मगुरु प्रेमदोर्जे लामाले विगत केही बर्ष देखि जिल्ला प्रहरी कार्यालय सुर्खेत परिसरमा अपराधीलाई जस्तो गरेर बाँधेर राखिएको बुद्ध मुर्तीलाई सरकारले चाँडो निकास दिनुपर्ने बताए ।

वीरेन्द्रनगर वडा नम्बर ६ स्थित बुद्धपथमा नेपालमा नै पहिलो पटक १ सय ८ फिट अग्लो बुद्धको मुर्ती सहित बौद्ध सरोवर निर्माण हुनेछ । बौद्धसरोवर निर्माणमा सहयोग संकलनको लागि शनिबारदेखि ‘घम्म देशना’ सुरु गरिएको हाे । यहि माघ ९ गते सम्म सञ्चालन हुने ‘घम्म देशना’बाट करिब ५० लाख सहयोग रकम संकलन हुने विश्वास आयोजककाे छ ।

बुद्ध सरोवर निर्माणका लागि ९ करोड देखि १२ करोड लागत लाग्ने अनुमान गरिएको छ । २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजक बुद्ध सरोवर व्यवस्थापन समितिका अध्यक्ष पञ्च सिंह रोकाय खाम्पाले बताए । बुद्ध सरोवरमा ३५ फिट अग्लो बौद्ध झण्डा अनुरुप पानीको फोहोरा पनि निर्माण गरिने अध्यक्ष रोकायले जनाए ।

धम्म देशनाको शुभारम्भ समारोहमा नगद र प्रतिवद्धता गरेर करिव १ लाख बराबरको दान संकलन भएको छ । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य सोसिला शाही १० हजार १ सय सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् भने गुरुङ समाज परिषद्का केन्द्रीय सदस्य खगेन्द्र बहादुर गुरुङले ५१ हजार स्थानीय झकबहादुर सिजापति मगरले नगद ३१ हजार १ सय १ रुपैयाँ सहयोग गरे ।

वीरेन्द्रनगर नगरपालिका नगर विकास समितिको ८ कट्ठा क्षेत्रफलमा सरोवर निर्माण गरिने सरोवरको लागि इ–सेवा मार्फत पनि सहयोग गर्न सकिने समितिका महासचिव जीवनकुमार शाक्यले जानकारी दिए । उनले इ-सेवाबाट ९८५८०४७२८७ मा दान गर्न सकिने बताए ।