☰ open Loading... 28 March 2024|  

वीरेन्द्रनगर सामान्य बन्दै मुख्य चौकमा कडा सुरक्षा
  | १५ माघ २०७६, बुधबार ०८:२३

सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरमा लगाएको कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्न थालेको छ । टिप्परको ठक्करबाट युवाको मृत्यु भएपछि उग्र प्रदर्शनले तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजा साँझ ६ः३० बजेदेखी आज विहान ६ बजेसम्म कर्फ्यु लगाएको थियो । मंगलगढी, यरिचौक र वीरेन्द्रचोकमा सुरक्षाकर्मी बाक्लो संख्यामा खटाइएको छ ।

टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षिय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो ।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो । घटनापछि वीरेन्द्रनगर तनावपूर्ण बनेको थियो । स्थानीयले घटनाको विरोधमा सडकमा दिनभर टायर बालेर प्रदर्शन गर्दै बजार तोडफोड समेत गरेका थिए ।

चालकको लापरबाहीले घटाना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् । प्रहरीले सडकबाट लास उठाएपछि अवस्था थप तनावपूर्ण बनेको हो । सोहीक्रममा दोहोरा झडप भएको थियो ।

अश्रुग्यास प्रहार गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।