☰ open Loading... 20 April 2024|  

सांसद थापा भन्छन्, ‘दुल्लू–भैरवीका २० वटै वडामा समान बजेट’
  | १६ माघ २०७६, बिहीबार १८:१५

सुर्खेत  । कर्णाली प्रदेशसभाका सदस्य सुशिललकुमार थापाले आफ्नो प्रदेश क्षेत्र अन्तर्गत पर्ने दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाका २० वटै वडामा सन्तुलित विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।

चालू आर्थिक वर्ष २०७६÷०७७ को विनियोजित बजेटबाट प्रदेशसभा क्षेत्रको पूर्वाधार विकास कार्यक्रमबारे दुल्लूमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो पहलमा प्रदेश सरकारबाट समान हिसाबले बजेट विनियोजन गरेको बताए ।

‘निर्वाचित भएदेखि आफ्नो निर्वाचन क्षेत्रका समस्यालाई प्रदेश सरकारका विभिन्न निकायसंग समन्वय गर्दै सहजीकरण गर्दै आएको छु,’ उनले भने, ‘दुल्लू र भैरवीका सबै बस्तीमा आवश्यकता एवं समानताका आधारमा योजना समावेश गरिएको छ ।’ प्रदेशसभा सदस्य थापाले समयमै योजना सम्पन्न गर्न स्थानीय तह र प्रदेश सरकारका कार्यालयहरुलाई निर्देशन दिए ।

प्रदेशसभा क्षेत्र २ (क) मा चालु आर्थिकमा पूर्वाधार विकास कार्यक्रमको नियमित बजेट र आफ्नो पहलमा ल्याएका १४ वटा सडक, २१ वटा विद्यालय, ३२ वटा सिचाइँ योजना, २२ वटा खानेपानी योजना र ३ वटा सडक पुल निर्माणका लागि ५५ करोड बढी रकम परेको सांसद थापाले जानकारी दिए ।

प्रदेशसभा सदस्य थापाले माथिल्लो डुंगेश्वर बैंक दूल्लू डाडीमाडी हुँदै ब्याउली सडकमा १ करोडको काम भइसकेको र १ करोड ५० लाख बजेटमा निर्माण अघि बढेको बताए ।

उनका अनुसार बैक–छिउडी–रातीमाटा सडक कालोपत्रेका लागि २ करोड, किर्तीखम्ब–पटांगिनी–पौवा, घियातिदु–सडक कालोपत्रेका लागि ३ करोड, चगत्रा–डाडीमाडी–कुसापानी सडक कालोपत्रेका लागि ३ करोड ५० लाख विनियोजन गरिएको छ । बजेटमा सडक, खानेपानी, सिचाई, कृषि र शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले संघ, प्रदेश र स्थानीय सरकारबाट परेका विकास योजना पारदर्शी र गुणस्तरीयता कायम गर्न प्रयास गरिएको भन्दै उपभोक्ता, ठेकेदार र समुदायको पनि इमान्दारिता जरुरी हुने बताए । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले तीनै तहका सरकारका योजना छनौट स्थानीय आवश्यकताकै आधारमा छनौट भएका बताए ।

बजेट बाँडफाँड जनप्रतिनिधिहरुबाट भएको, योजनाहरुको अनुगमन तथा मूल्यांकन प्रभावकारी रुपमा गरिरहेको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख रामआशिष दासको भनाई थियो ।

कार्यक्रममा दुल्लू् नगरपालिकाका उप–प्रमुख बिष्णु थापा र भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले लक्षित समुदायका लागि स्थानीय तहले सम्पादन गरेका विकास गतिविधिका बारेमा धारणा व्यक्त गरेका थिए ।