☰ open Loading... 19 April 2024|  

कुपोषणबाट बचाउनका लागि नगरपालिकाको लगानी
  | २३ माघ २०७६, बिहीबार १२:४४

जाजरकोट : बाल मृत्युदर घटाउन तथा कुपोषणबाट बचाउनका लागि नलगाड नगरपालिकाले सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गरेको छ। गर्भवती भएदेखि १ हजार दिनसम्मका महिला तथा नावालकलाई यो कार्यक्रममा समेट्न लागि नगरले यो कार्यक्रम सुरु गरेको हो। नगरभित्रका १३ वटा वडामा नै लागू भएको यो कार्यक्रमबाट प्रतिवडाबाट ३५ जना गर्भवती महिलालाई सुविधा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए।

सुत्केरीलाई सरकारले दिदै आएको यातायात खर्च मध्ये नगरले थप १ हजार रुपैयाँ थपेर दिने गरेको उनले बताए। उनका अनुसार प्रत्येक गर्भवती महिलालाई घ्यू, तेल र कुखुरा समेत उपलव्ध गराएको छ।  कुखुरा उपलव्ध गराएसँगै औषधि समेत दिइएको पोषण सम्पर्क व्यक्ति किरण थापाले जानकारी दिए। त्यस्तै करेशावारीमा ताजा तरकारी उत्पादन गर्नका लागि बीउका साथै तालिम दिइएको उनले जानकारी दिए।

उनले नियमित गर्भजाँचका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई मात्र यो सुविधा उपलव्ध गराएको बताए। नगरपालिकाले वहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालन गरी यस्ता गतिविधि सञ्चालन गर्दै आएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। घर-घरमा झण्डा, गर्भवतीलाई अण्डा भन्ने नारासहित नगरले अर्को कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। गर्भवती भएको घरमा झण्डा गाडेर सूचकका आधारमा सेवा, सुविधा दिन सुरु गरिएको प्रमुख रावलले जानकारी दिए।

स्वास्थ्य संस्था आउने संख्या वृद्धि 

नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भई सेवा दिन थालेपछि यहाँका गर्भवती महिला नियमित स्वास्थ्य जाँच गर्नेको संख्य वृद्धि भएको छ। दैनिक घरियासी काममा मात्र व्यस्त हुने ग्रामीण क्षेत्रमा महिला अहिले सेवा, सुविधा पाउने भएपछि नियमित स्वास्थ्य जाँच गराउन थालेको जानकारी दिए।

आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख प्रचण्डकुमार कार्कीले गाउँ, गाउँमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यप्रति चिन्तित हुँदै गर्भवती महिला स्वास्थ्य जाँचका लागि आउने गरेको उनको भनाइ छ। उनले स्वास्थ्य जाँच गरेर के हुन्छ र भन्ने गलत धारणा विस्तारै हट्दै गई सुरक्षित सुत्केरी एवं पोषणमा समेत ध्यान दिन लागिएको बताए।  नलगाड नगरपालिका ८ विष्णुकुमारी खत्रीले खेतीयोग्य जमिन भएर पनि करेसाबारी निर्माण नगर्ने तथा खाली राख्ने चलन समेत विस्तारै हट्दै गइ करेसाबारीमा हरिया साग र तरकारी उत्पादन गर्नेतर्फ उन्मुख भएको जानकारी दिए।

नमुना वस्तीमा थप नमुना कार्यक्रम

नमुना वस्तीलाई थप नमुना बनाउका लागि सवै प्रकारका सूचक पूरा गर्न स्थानीय सरकार लागेको छ। खानेपानी, स्वास्थ्य, सरसफाई, विद्युत, सडक र बिभिन्न पूर्वधारका कार्यक्रम समेत जोडेर थप नमुना बनाउन लागिएको हो। नमुना बस्तीमा गर्भवती तथा सुत्केरी महिलालाई विशेष योजना बनाई कार्यक्रम सञ्चालन गरिएको नगर उपप्रमुख बालकुमारी बस्नेतले जानकारी दिइन्।

न्यायमा समानताका आधारमा दैनिक कार्य सञ्चालन गरी महिला तथा बालबालिकाको जीवनस्तर माथि उठाई नमुना नगर बनाउने अभियान जारी रहेको उनको भनाई छ। जिल्लाको उत्कृष्ट नगरको रुपमा उदयमान भएको नलगाडलाई थप विकास र समृद्धिका हिसावले दुनियाँको आँखा लगाउने बनाउनु हाम्रो लागि मुख्य एजेण्डा भएको उ‍नको दावी छ।