☰ open Loading... 19 April 2024|  

सुर्खेतमा पनि सर्जिकल र कपडा मास्कको अभाव
  | २२ फाल्गुन २०७६, बिहीबार १७:३५

सुशील खड्का
सुर्खेत । सुर्खेतमा रहेका मेडिकलहरुमा सर्जिकल मास्कको अभाव भएको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसका कारण सुर्खेतका मेडिकलहरुमा पनि सर्जिकल मास्कको अभाव भएको हो ।

जिल्लामा रहेका झण्डै एक सय मेडिकलहरुमा सर्जिकल मास्क स्टकमा नरहेको नेपाल औषधी व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जानकारी दिए । कुनै पनि मेडिकलहरुले कृत्रिम अभाव नगरेको दावी अध्यक्ष खड्काको छ ।

‘हामीले ल्याउने डिलरमै माक्स छैन्’ खड्काले भने, ‘एक महिनादेखी मास्क ल्याउने प्रयास गरेपनि नआउँदा मेडिकलहरुमा मास्कको अभाव भएको सत्य हो ।’

फेन्सी रेडिमेट तथा वस्तुगत समितिका अध्यक्ष खडकप्रसाद ढकालले कपडाको मास्कहरु पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिए । ‘दैनिक पसलमा आउनेहरु माक्स खोज्नुहुन्छ तर प्रयाप्त कपडाको मास्कहरु भने छैन’ ढकालले भने, ‘प्रयाःफेन्सी पसलहरुमा विस्तारै कपडाका मास्कहरु पनि विस्तारै सकिदै गएको अवस्था छ ।’

‘बाहिरबाट मगाउँदा पनि स्टकमा मास्क नभएको बताएकाले आपूर्ति गर्न नसकिएको ढकालले जनाए । ‘कृत्रिम अभाव गरे जस्तो लाग्दैन्, बरु थोरै महंगोमा व्यापारीहरुले विक्री गरेका होलान्’ ढकालले थपे, ‘समिति अन्तरगत रहेका व्यवसायीहरुलाई यस्तो अभावमा मास्क लुकाउने कार्य नगर्न पनि अनुरोध गर्दछु ।’

सुर्खेतमा कपडाका थाइ मास्क, जाली मास्क र बाइकमा प्रयोग हुने मास्कहरु बजारमा आउने गरेको ढकालको भनाई छ । सुर्खेतमा झण्डै एकहजार दुईसय फेन्सी व्यवसायीहरु छन् ।