☰ open Loading... 19 April 2024|  

जनताका गुनासाे सुन्न गाउँ पुगे कानून मन्त्री भण्डारी
  | २३ फाल्गुन २०७६, शुक्रबार १६:०७

जुम्ला । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी जनताको गुनासो सुन्न गाउँ घुमफिरमा छन् । उनी कर्णाली प्रदेश सरकारका योजना तथा कार्यक्रम गर्दै जनताको गुनासो सुन्न गाउँमा पुगेका हुन् । मन्त्री भण्डारीले प्रदेश सरकारले दिएका विकासको अवस्थालाइ मध्येनजर गर्दै बिकास निर्माणका काम प्रभावकारी र सुशासनयुक्त बनाउन जनतासंग आग्रह गरेका छन् ।

उनले सरकारी काममा हुने ढिलासुस्ती, विकासमा हुने मनपरी तन्त्र र बिकृति देखिएको खण्डमा सिँधै फोन गरेर जानकारी दिन जनतालाई सचेत गराए । उनले भने,‘ कर्णाली प्रदेश सरकार विकासका क्रियाकलापमा सुशासन र पादर्शिता हुनुपर्नेमा जोड दिँदै आएको छ । विकासमा विवाद सिर्जना गर्ने र कमसल सामाग्री प्रयोग गर्नुहुदैन।’

प्रदेश सरकारका योजना तथा कार्यक्रमको स्थलगत अनुगमनमा गाउँमा पुगेका मन्त्री भण्डारीले गुणस्तरहिन काम कर्णाली प्रदेश सरकारलाई स्वीकार्य नहुने बताए ।

जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, तातोपानी र गुठीचौर गाउँपालिकामा प्रदेश सरकारले गरिरहेका कामको स्थलगत अनुगमन गरेका उनले प्रभावकारी विकासमा जोड दिए ।

मन्त्री भण्डारीसहितको टोलीले सदरमुकाम खलङ्गादेखि उर्थु हुँदै खाली, भुलभुलेसम्म मुगु रारा जोडिने सडक स्तरवृद्धि, स्थानीय सडक, सिँचाइ, कुलो, नमूना भवनलगायतका परियोजनाको अनुगमन गरेका थियो । अनुगमनका क्रममा जनताले कर्णाली सरकार विकासमैत्री हुनुपर्ने, जनताका आवश्यकता परिपुर्तिमा केन्द्रित हुनुपर्ने बताएका थिए ।

खलङ्गा–उर्थु–भुलभुले हुँदै मुगु रारा सडकको अनुगमनपछि पटमारा र उर्थु जोड्ने वैकल्पिक मार्गको स्तरवृद्धिको काम अघि बढेको जनतालाई मन्त्री भण्डारीले जानकारी गराए । उनले भने,‘ यो सडक पर्यटकमैत्री हुनेछ । यो सडक नाग्म गमगडी राजमार्ग हँुदै रारा जो सबैभन्दा छोटो सडक हुने छ ।’

जनताले पर्यटकले मनपराउने आलु, सिमीलगायतका स्थानीय वस्तुको उत्पादन गर्न आग्रह गरे । सरसफाईमा ध्यान दिएर पर्यटकका लागि होमस्टे बनाउनु पर्छ । यहाँका होमस्टेमा पर्यटक आवागमन बढेर आर्थिक रुपमा समृद्धि ल्याउनेछ ।

सडकको यात्रा सहज भएमा गाउँमा उत्पादित वस्तु निर्यात गर्न सजिलो हुने भन्दै स्थानीयले सडक कालोपत्रे गर्न प्रदेश सरकारलाई माग गरेका थिए ।

प्रदेश सरकारले भौतिक संरचना निमार्ण जोड दिएको छ । वैकल्पिक उर्जा केन्द्र, चुकेनी जलविद्युत निर्माण, र धौलिगाड बृहत खानेपानी परियोजना समेत मन्त्री भण्डारीको पहलमा सुरु भइरहेका छन् ।

कर्णाली प्रदेशकै ठूलो स्वास्थ्य हबको रुपमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पनि मन्त्री भण्डारीकै पहलमा स्थापना गरिएको हो ।

प्रदेश सरकार खलंगामा एक मेघावाटको सोलार प्लान्ट, जुम्ला सदरमुकामसहित जुम्लाको आधा जनसंख्यालाई समेटने गरी २ अर्ब २५ करोड रुपैयाँ संघीय सरकारको पहलमा प्रदेशको गौरवको आयोजना धौलीघाट खानेपानी आयोजना ग्लोबल टेण्डरको तयारीमा छ ।

यस्तै कर्णाली प्राविधिक शिक्षालय प्रविणता प्रमाणपत्र अध्ययन, जुम्ला बहुमुखी क्याम्पसमा स्नाकोत्तर सञ्चालन, सिंजा क्याम्पसको स्थापनाको पनि अघि बढेको छ ।

मन्त्री भण्डारीसहित जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, पातारासी गाउँपालिकाका उपाध्यक्ष पन्नकली महतारा, निमित्त प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटा, शशस्त्र प्रहरी उपरीक्षक सरद न्यौपाने, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी भौतिक पूर्वाधार कार्यालयका कर्मचारी टोलीमा सहभागी थिए ।

यो संगै जुम्ला बसाइका क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीले गुठिचौर र तातोपानी गाउँपालिकामा प्रहरी चौकी उद्घाटन, विपन्न वर्ग लक्षित कार्यक्रम सुभारम्भ,जनता आवास कार्यक्रम समन्वय समितिको बैठक तातोपानी हियाखोलाका जनतासँग छलफल गरेका छन् ।