☰ open Loading... 19 April 2024|  

नेपाली सुरक्षा टाेलीलाइ चुनाैती दिँदै भारतीय पाेशाकसहितका प्रहरी दैलेखमा
  | ४ चैत्र २०७६, मंगलवार १७:३४

सुर्खेत । नेपाल सरकारको अनुमति विना भारतको हरियाणाका ४ जना प्रहरी सुरक्षा पोशाकसहित मंगलवार जिल्ला प्रहरी कार्यालय दैलेखमा पुगेका छन् ।

हरियाणामा काम गर्ने दैलेखको नारायण नगरपालिका–१ घर भएका एक व्यक्तिको ठेगाना पत्ता लगाउँदै जिल्ला प्रहरी कार्यालय परिसरमा पोशाकसहित भारतीय प्रहरी छिरेपछि नेपाली सुरक्षा निकायको लापरवाही छरपस्ट भएको छ ।

कर्णाली प्रदेश अन्तर्गत भेरीगंगा नगरपालिकाको बबईदेखि दैलेख सदरमुकाम नारायण नगरपालिका–१ पुग्न १२ वटा प्रहरीको चेकपोस्ट पार गर्नुपर्छ । भारतीय प्रहरी पोशाकसहित दैलेख पुग्न सुर्खेतको बबई, हर्रे, छिन्चु, सुब्बाकुना, पिपिराचोक, मंगलगढी चोक, कपासे, छेडा, दैलेखको रातानांग्ला, डुंगेश्वर, चुप्रा, दैलेख बजार चेकपोस्ट पार गर्नुपर्ने हुन्छ ।

बबईदेखि दैलेख सदरमुकामसम्म करीब ११० किलोमिटरभित्र भारतीय प्रहरी पोशाकसहित कसरी निर्बाध रुपमा हिँडडुल गर्न सके भन्ने प्रश्न जन्मिएको छ । कर्णाली प्रदेश छिर्नुअघि समेत भारतीय सीमासँग जोडिएको ५ नम्बर प्रदेशमा समेत सुरक्षा चेकजाँच हुने गरेको छ ।

‘भारतीय प्रहरीहरू बजारको मानसरोवर होटलमा बसेका रहेछन् । ड्रेसमा आएपछि मात्रै हामीले थाहा पाएका हौं,’ दैलेख प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) नैनबहादुर साउँदले भने, ‘दैलेखका १ जनाले भारतमा काम गरिरहेको घरको परिवारका सदस्यलाई विष खुवाएर २५ लाख जति लिएर भागेको रहेछ । उसको ठेगाना फरक–फरक भएपछि ठेगाना कन्फर्म गर्न उनीहरू यहाँ आएका रहेछन् ।’

प्रहरी कार्यालयमा आएका प्रहरी नायब निरीक्षक (सई) विजय विवेकको कमान्डमा हवल्दार परविन कुमार र सिपाही भुपेन्द्र सिंहले माफी मागेको प्रहरी निरीक्षक साउँदले बताए । ‘यहाँ पोशाक लगाएर आउन हुँदैनथ्यो, हामीले किन आएको भनेर सोधेपछि उनीहरूले प्रहरी कार्यालय जाँदा लगाउनुपर्छ होला भन्ने लागेर लगाएको भन्नुभयो,’ साउँदले भने, ‘हामीले यसो गर्न मिल्दैन भनेपछि तुरुन्तै माफी मागेका छन् ।’

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सेनाले भारतीय प्रहरी कहिले आएका हुन् भन्ने जानकारी नभएको बताए । ‘उनीहरूले काँकडभिट्टा नाकाबाट नेपाल आएको भनेर भनेका थिए । उनीहरू नेपाली गाडी नै प्रयोग गरेर आएका कारण थाहा भएन,’ उनले भने, ‘गाडी दर्ता प्रणाली नभएका कारण उनीहरू कुन गाडीमा आए, कहिले आएका हुन् भन्नेबारे थाहा हुन सकेन ।’

डीएसपी तिम्सेनाले चेकपोस्टमा आउने हरेक व्यक्तिको अनुहार हेरेर सोध्न नसकिने बताए । ‘तराईतिरका नागरिक होलान् भन्ने ठानेर चेकपोस्टमा त्यति कडाइ नभएको होला,’ उनले भने ।