☰ open Loading... 19 April 2024|  

संघकाे सहयाेगमा स्वास्थ्यकर्मीलाई सुर्खेतमै सुरक्षित पोशाक तयार
  | ११ चैत्र २०७६, मंगलवार १८:५९

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पतालमा कोरोनासँग लड्ने डाक्टरहरूले लगाउने सुरक्षित पोशाक अभाव भएपछि डाक्टरहरुले स्थानीय स्तरमा पाइने विभिन्न सामाग्रीहरुको प्रयोग गरी स्थानीय होजियारी कम्पनीसँग सहकार्य गर्दै उत्पादन शुरू गरिएको छ ।

प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डा. नवराज देवकोटाले बताए प्रदेश अस्पतालमा कार्यरत डाक्टर, सुर्खेत उद्योग वाणिज्य संघ लगायतको सहयोगमा पचास हजार रुपैंया जुटाएर किट निर्माण कार्य सुरु गरेको बताए ।

‘त्यसको डिजाइन हामी सबै डाक्टरहरु मिलेर गरेका हौं,’ डा. देवकोटाले भने, ‘विदेशबाट ल्याउन अहिले सम्भव नभएको र कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीका लागि यो किट अत्यावश्यक परेका कारण विदेशमा उत्पादन भएका किटको विकल्पमा कर्णालीमा नै उत्पादन गर्न सुरु गरेका हौं ।’

किटमा सुरक्षित गाउन, ग्लोब्स, मास्क, प्रोटेक्टिव हेडसेट रहने गरेको उनले बताए । विदेशबाट आयात गर्दा यसको मूल्य नेपाली १० हजारदेखि २५ हजारसम्म प्रतिसेट पर्ने तर यहाँ नै डिजाईन गरिएको यो किट तयार गर्न एक हजार मात्रै लाग्ने गरेको उनको भनाइ छ ।

ADVERTISEMENT

‘देश नै लकडाउन भइसकेको अवस्थामा हामीले नागरिकको स्वास्थ्य जाँच गर्नैपर्ने र त्यसका लागि कडा रुपमा स्वास्थ्यको सुरक्षा गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘कोरोना भाइरस कपडामा १२ घण्टासम्म बच्ने र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको खण्डमा धेरैलाई सर्ने जोखिम भएको हुँदा कोरोना जाँच गर्ने, क्वारेन्टाइनमा बस्ने, सीमा नाकामा बस्ने स्वास्थ्यकर्मीलाई प्रतिव्यक्ति दुई सेट यो किट आवश्यक पर्छ ।’

उनले बुधबार दुई सय वटा बराहताल र चौकुने गाउँपालिकाका स्वास्थ्यकर्मीलाई वितरण गर्ने र विहीबार वीरेन्द्रनगरमा रहेका नगर स्वास्थ्य तथा निजी क्लिनिकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गर्ने योजना बनाएको बताए ।

‘क्लिन सिटी, ग्रीन सिटीका अभियान्तासमेत रहेका डा. देवकोटाले कुनै अभियानबाट यो काम नगरेको बताउँदै यहाँ अत्यावश्यक परेका कारण मात्रै यस्तो डिजाइन गरिएको बताए ।

‘यो किटको लागत खर्च मात्रै एक हजार पर्ने रहेछ,’ उनले भने, ‘कम्तिमा कर्णालीका सबै स्वास्थ्यकर्मीलाई यो किट वितरण गर्न सके स्वास्थ्यकर्मी तथा संचारकर्मीलाई अत्यन्तै राहत पुग्ने देखिन्छ ।’

उनले अहिले आफुहरुसँग पचास हजार रुपैंया रहेको र दक्षिण कोरियामा कार्यरत लक्ष्मी नारायण बस्नेतको टिमले पचास हजार पठाइदिने बताएका कारण जति सकिन्छ निःशुल्क रुपमा वितरण गर्ने तयारी गरेको बताए । ‘स्थानीय तथा प्रदेश सरकारले चाहेको खण्डमा यस्ता किटहरु होजियारी उद्योगले सहजै बनाउन सक्छन् । गुणस्तरीय तथा स्थानीय उत्पादनको प्रयोग बढि भएका कारण यो सस्तो पनि छ,’ उनले भने ।

उनका अनुसार यो किटको प्रयोग गरेको खण्डमा स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण हुनबाट अहिलेको भन्दा एक सय गुणा बढी बचाउन सकिन्छ ।

यता, सामाजिक विकासमन्त्री दल रावलले त्यस्ता किट संघीय सरकारसँग माग गरेको र आज ५० पिस किट आइपुग्ने बताए । यद्यपी कर्णालीका डाक्टरले नै उत्पादन गरिरहेको भन्ने सुनेको बताउँदै यदि उक्त किट गुणस्तरीय भएको खण्डमा बाहिरबाट नल्याउने बरु यहीं उत्पादन बढाउने योजना रहेको उनको भनाइ छ ।

‘यहीं उत्पादन भएछ र किट उच्च गुणस्तरयुक्त बनाउन कर्णालीका डाक्टर सफल भएछन भने हामी यही प्रयोग गर्न लगाउँछौं । अन्यत्रबाट ल्याउन जरुरी नै छैन,’ उनले भने, ‘कर्णालीका उर्जावान डाक्टरहरु लागिरहेका छन् । यसका लागि सरकारले दश बीस लाख होइन एक करोड आवश्यक पर्छ भनेपनि लगानी गर्न तयार छ ।’