☰ open Loading... 20 April 2024|  

भारतबाट फर्किएकाहरुको निगरानी गर्दै नगरपालिका
  | १२ चैत्र २०७६, बुधबार १६:३८

सुशील खड्का
सुर्खेत । भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएर वीरेन्द्रनगर फर्किएकाहरुको नगरपालिकाले विवरण संकलन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ र ९ ले १७ जनाको विवरण संकलन गरेको हो ।

वडा नम्बर ९ ले विदेशबाट वीरेन्द्रनगर फर्किएकाको संख्या १६ जना रहेको विवरण नगरपालिकालाई बुझाएको छ । यी मध्य १५ जना भारत र एक जना कतारबाट आएको बताइएको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उनकाअनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा एक जना मात्रै भारतबाट फर्किएका छन् । भारत र कतारबाट फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न भनेका छौं’ उपप्रमुख ढकालले भनिन्, ‘सबै वडामा नयाँ व्यक्ति आएमा उनीहरुको विवरण संकलन गर्न वडा कार्यालयलाई निर्देशन समेत दिइसकेका छौं ।’

वीरेन्द्रनगर फर्किएकाहरु सबैको विवरण संकलन गर्ने र उनीहरुमा समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा सम्बन्धीत निकायहरुमा सम्पर्क गर्न जानकारी गराएको ढकालको भनाई छ ।

सम्पूर्ण वडाहरुमा कोरोना संक्रमण विरुद्ध समन्वय समिति गठन गरी जनचेतना, माईकिङ्ग आदि गरी प्रत्येक टोलमा जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुलाई निगरानी गर्ने ब्यवस्था मिलाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

उनकानुसार जन उच्च माबि, श्रीकृष्ण संस्कृत मावि र केहरु सँस्थाहरुसँग समन्वय गरी करिव १०० शैया जतिको क्वारेन्टाईन तयार गरिएको छ । जस मध्ये ६० सेट बेड नगरपालिकाले तयार गरेको र अन्य निकायमा भएकै बेड प्रयोग गर्ने गरी ब्यवस्थापन गरिएकाे छ ।

‘सबै स्वास्थ्यकर्मीहरु, दमकलको टोली र फोहरमैला ब्यवस्थापनको टोलीलाई चौबिसै घण्टा सम्पर्कमा रहने गरी काममा खटाईएको छ’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘सबै स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम् आवश्यक पर्ने सुरक्षा सामग्री PPE स्थानीय स्तरमै तयार गर्न लगाई भोलिदेखि वितरण गर्दैछाैं ।’