☰ open Loading... 19 April 2024|  

दैलेखमा ज्वराे देखिएका १० जना स्वास्थ्यकर्मीको सम्पर्कमा
  | १३ चैत्र २०७६, बिहीबार १४:५५

दैलेख  दैलेखका चार स्थानीय तहमा १० जनामा ज्वरो देखिएको छ। ज्वरोका विरामीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएपछि निगरानीमा राखिएको जनाइएको छ । दैलेखमा ज्वरोका विरामीहरु देखिएपछि निगरानीमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । ज्वरो देखिनेमा भारतबाट फर्किएकाहरु र गाउँमै बसेकाहरुमा देखिएको हो ।

अहिले स्वास्थ्यकर्मीहरु परिचालन गरि विरामीहरुको हेरचार गरिएको छ । भगवतीमाई गाउँपालिकामा ५, दुल्लु नगरपालिकामा २ जना, आठविस नगरपालिकामा २ जना र नौमुले गाउँपालिकामा १ जनालाई ज्वरो देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निराजन पन्तले बताए ।

कोरोना भाइरसले नागरिकहरु असुरक्षा महशुस गरेका बेला त्यस्तै लक्षण देखिएपछि दैलेखमा सुरक्षित रुपमा उपचार प्रवन्ध मिलाइएको छ। ‘नौमुले र अन्य पालिकामा केही विरामीमा ज्वरो घट्दै गएको छ’ डा. पन्तले भने, ‘अन्य पालिकामा स्वास्थ्यकर्मीहरुले निगरानी उपचारको व्यवस्था मिलाएका छौं । उनीहरुको अवस्था जटिल भए, जिल्लामा बनाइएको आइसोलेसनमा राखेर उपचार गरिने तयारी गरेका छौं ।’ ज्वरो आएकामध्ये केही भारतमा फर्किएर आएको प्रमुख जिल्ला अधिकारी कटेलले बताए ।

‘थकान वा अन्य कारणले पनि ज्वरो आएको हुन सक्छ ।’ प्रमुख जिल्ला अधिकारी कटेलले भने, उनीहरुको अवस्था हेरेर थप उपचारको व्यवस्था मिलाउँदैछौं ।’ अहिले जिल्लाको जिल्ला अस्पताल, नारायण क्याम्पस, दुल्लु अस्पतालर सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको आइसोलेसन र क्यारेन्टाइन प्रयोग गर्ने तयारी भईरहेको छ ।

जिल्लाका स्थानीय तहमार्फत वडा र गाउँसम्म भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरुको अन्तिम पहिचान भईरहेको र ती व्यक्तिहरुलाई विभिन्न ठाउँमा बनाइएको क्यारेन्टाइनमा राखिने तयारी भएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर ओलीले बताए ।