☰ open Loading... 18 April 2024|  

मन्त्रीको समन्वयमा क्वारेन्टाइनमा बसेका किरियापुत्रीलाई दैलेख पठाइयो
  | १८ चैत्र २०७६, मंगलवार १४:३३

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको समन्वयमा क्वारेन्टाइनमा किरियापुत्री बसेकालाई दैलेख पठाइएको छ । आठविस नगरपालिकासँग मन्त्री रावलले समन्वय गरेर गएराती देउमले लोहारसहित चारजनालाई दैलेख पठाइएको हो ।

याे पनि पढ्नुहाेस् : भाइ गुमाएका देउमले क्वारेन्टाइनमा : ‘काजकिरिया नि गर्न नपाउने हो सरकार !’

भारतको हल्द्वानीमा काम गर्न गएका देउमले भारतमै हुँदा उनका भाइ पहरे कामी (लोहार) ले मुम्बइमा आत्महत्या गरेका थिए । भाइको दाहसंस्कार मुम्बइमा गरेपनि काजकिरिया दैलेखमा नै गर्नेगरी देउमले चैत १५ गते सुर्खेत आएका थिए ।

प्रदेश सरकारले कञ्चनपुरबाट उद्धार गरेका देउमलेसहित ६० जनालाई होटल अशोकाको क्वारेन्टाइनमा राखिएको थियो । तीन दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई सोमबार साँझ दैलेख पठाइएको मन्त्री रावलको भनाई छ ।

‘भीडभाडमा नजान र नगरपालिकाको सम्पर्कमा रहन उहाँहरुलाई आग्रह गरेर पठाएका छौं’ मन्त्री रावलले भने, ‘आठविसले पनि क्वारेन्टाइन बनाएकाले तत्काल होम क्वारेन्टाइनमा राखेर उहाँहरुको नगरपालिकालाई निगरानी गर्न भनेका छौं ।’