☰ open Loading... 10 August 2020|   सोमवार, साउन २६, २०७७

दैलेख नौमुलेका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार

  |

सुशील खड्का
सुर्खेत । दैलेखको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि स्थानीय युवाहरुले गालीगलौजसहित अभद्र व्यवहार गरेका छन् । ओपिडी सेवा किन बन्द गरेको भन्दै नाैमुले गाउँपालिकाका सवारी चालक कुलविर खत्री, गणेश थापा तारामी र दिनेश चन्दले मदिरा सेवन गरेर स्वास्थ्यकर्मी माथि अपशव्द प्रयोग गरेर गालिगलौज गरेका हुन् ।


सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेर स्वास्थ्य केन्द्रका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । स्वास्थ्य संस्थामा काम गरिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवाहरुले गालीगलौज गर्दै धम्की दिएको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रका डा. विप्लव सुवेदीले जानकारी दिए ।

‘कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन र उच्च सर्तकता अपनाउन दुरी कायम गरेर औषधी दिने गरेका थियौं’ डा. सुवेदीले भने, ‘औषधी दिने क्रममा उनीहरुले अन्य समय जस्तै चेकजाँच गरेर औषधी नदिएको भन्दै हामीमाथि अपशब्द बोल्दै गालीगलौज र अभद्र व्यवहार गरेका हुन् ।’

आफूमाथि गालीगलौज र अभद्र व्यवहार गरेपछि कारवाहीको लागि ईलाका प्रहरी कार्यालय नौमुलेमा जानकारी गराउँदा पनि प्रहरीले कारवाही नगरेको दुखेसो डा. सुवेदीको छ ।

‘नौमुले प्रहरीबाट सहयोग नपाएपछि जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी गराएका छौं’ सुवेदीले भने, ‘सुरक्षाविना काम गर्नेस्थिति छैन्, केन्द्रमा कार्यरत १५ जना स्वास्थ्यकर्मीले नौमुले छाड्ने तयारी गरेका छौं ।’

यता, जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरीबहादुर ओलीले घटनाबारे थाहा पाएपछि कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिए । संकटको घडीमा स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्ने जो-कोहीलाई नछाड्न नौमुले प्रहरीलाई निर्देशन दिएको बताए ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६     5:54:19 PM
error: Content is protected !!