☰ open Loading... 25 April 2024|  

उपभाेक्ताकै घरमा सामान पुर्याउँदै सुर्खेत उद्याेग बाणिज्य संघ
  | २४ चैत्र २०७६, सोमबार १५:४९

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले लकडाउनको असहजतालाई ध्यानमा राखेर वीरेन्द्रनगर नगरपालिकामा रहेका उपभोक्तालाई घरदैलोमै उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ ।

संघले व्यापारीहरूसँग समन्वय गरेर आइतवारदेखि ‘होम डेलिभरी’को सुविधा ल्याएको हो । दैनिक उपभोग्य वस्तुहरू चामल, दाल, नून, तेल, लगायत घरमै पुर्‍याउन थालिएको छ ।

संघका अध्यक्ष धनबहादुर रावतले लकडाउनका समयमा घरबाहिर निस्कन समस्या हुने भएकाले व्यापारीहरूसँगको समन्वयमा उपभोक्ताको घरदैलोमै सामान पुर्‍याउने काम शुरू गरिएको जानकारी दिए । उनका अनुसार यो सुविधा लिने उपभोक्ताले कम्तीमा पनि १ हप्तासम्मका लागि पुग्नेगरी सामान मगाउनुपर्ने हुन्छ ।

अर्डर बमोजिमको सामान बिहानदेखि साँझसम्म नगरपालिकाका सबै वडामा उपलब्ध गराइने अध्यक्ष रावतले बताए । अत्यावश्यक दैनिक उपभोग्य वस्तु चाहिएमा ९८४८२१५००० नम्बरमा सम्पर्क गर्न समेत संघले आग्रह गरेको छ ।