☰ open Loading... 20 April 2024|  

नयाँ व्यक्तिलाई घर प्रवेशमा रोक लगाउन वीरेन्द्रनगरको आग्रह
  | ४ बैशाख २०७७, बिहीबार १३:२६

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानीको नगरपालिका वीरेन्द्रनगरले कुनै पनि नयाँ व्यक्तिलाई आफ्नो घर प्रवेशमा रोक लगाउन आग्रह गरेको छ । कोरोना भाइरस (कोभीड–१९) को रोकथाम तथा उच्च सर्तकता अपनाउन अबदेखि आफ्नो घरमा आफन्त, पाहुनाहरुलाई घर प्रवेशमा रोक लगाउन नगरपालिकाले आग्रह गरेको हो ।


लकडाउनको समयमा नगरपालिकामा आउने विदेश, अन्य जिल्ला वा पालिका बाहिरबाट आउने पाहुना तथा नातेदार व्यक्तिलाई घरमा प्रवेश गर्न नदिन सबै वडाहरुमा सर्कुलर गरिएको कार्यबहाक मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नगर बाहिरबाट आउने पाहुनालाई प्रवेशमा रोक लगाइने निर्णय कार्यपालिकाको बैठकले निर्णय समेत गरेको ढकालको भनाई छ ।

‘नगरपालिकामा बाहिरबाट आउने पाहुनालाई प्रवेश नगराउन सम्पुर्ण नगरवासीमा वडामार्फत अनुरोध गरेका छौ’, कार्यवाहक नगरप्रमुख ढकालले भनिन्, ‘अत्यावश्यक भई बाहिरबाट आउनै पर्ने भएमा होम क्वारेन्टाइन कायम गरी रहन बस्ने व्यवस्था गर्ने तयारी गरेका छौँ ।’

आगामी दिनमा बाहिरबाट आउने व्यक्तिलाई राख्ने गरी एकसय शैय्याको क्वारेन्टाइन सार्वजनिक विद्यालयमा व्यवस्थापन गर्ने गरी अघि बढ्ने निर्णय समेत गरिएको ढकालले जानकारी दिइन् । नगरपालिकाले ६० शैय्याको क्वारेन्टाइन तयारी अवस्थामा भने राखिसकेको छ ।