सुशील खड्का
सुर्खेत । विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस (कोभीड–१९) को संक्रमण रोक्न सरकारले चौथो पटक लकडाउन थप गरेको छ । गत वर्ष चैत्र ११ गतेबाट शुरु गरिएको लकडाउन यहीँ बैशाख १५ गतेसम्म कायम गरिएको छ । लकडाउनमा सवारी आवागमन ठप्प हुँदा ज्याला मनदुरी र अध्ययन गर्न घरबाहिर गएकाहरु कर्णाली फर्कन लर्को लाग्ने गरेको छ । पछिल्लो एक सातामा नेपालका विभिन्न जिल्लाहरुमा रोजगारी र अध्ययन गर्न गएकाहरु कर्णाली प्रदेशमा फर्किरहेका छन् ।
नेपाली सेनाको उत्तरपश्चिम पृतनाले सुरक्षा तथा व्यवस्थापनमा तयार गरिएको क्वारेन्टाइनमा आइतबार मात्रै ५९ जनालाई उद्धार गरेर राखिएको छ । नयाँ सबुज दल गणका क्याप्टेन दयाराम ढकालको कमाण्डले क्वारेन्टाइन व्यवस्थापनको जिम्मा लिएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा बसेका १८८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।
दोस्रो चरणमा काठमाडौं, नवलपुर लगायतका स्थानबाट आएकाहरुलाई राखिएको छ । उनीहरुलाई प्रदेश सरकारले आईतबार बबईबाट ल्याएको हो । आफ्नै जन्मभूमिमा मरौला भनेर पैदल हिडेर बबईसम्म आएको कालिकोटका कलबहादुर खड्काले बताए । ‘काम गर्दासम्म रुपैयाँ पाइयो त्यसपछि रुपैयाँ नपाउदा छाकटार्न समस्या भयो’ खड्काले भने, ‘बरु गाउँमा उब्जाउ गरेको खाद्यन्नले गर्जौ टारौला भनेर फर्किएका हौं ।’ वीरेन्द्रनगरको खुलामञ्चमा निर्माण गरिएको क्वारेन्टाइमा हालसम्म दुईसय पाँच जनालाई राखिएको छ ।
कर्णालीबाट बाहिरीनेको पीडा पनि उस्तै छ । जुम्लाबाट चार हिडेर सुर्खेतका आएका बर्दियाका १५ जनालाई शनिवार राती बागिनाको भवनमा राखियो । उनीहरुलाई सुर्खेतका व्यवसायी बाशुदेव शर्माको पहलमा आइतबार बबईसम्म पठाइएको छ । बर्दियाको राजापुर नगरपालिका लगायतका उनीहरुलाई बबईसम्म पठाइदिन आग्रह गरेपछि व्यवसायी शर्माको अगुवाईमा पठाइएको हो ।
शर्माले बर्दियाका १४ जना र बुटवल उपमहानगरपालिकाका ८ जना गरी २२ जनाको उद्धार गरेर बबईसम्म पठाइ दिएका हुन् । बबईसम्म पठाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतसँग समन्वय गरिएको थियो ।
‘लकडाउन लम्बिदा जुम्लामा थप खर्च चलाउने स्थिति थिएन्, पैदल हिडेर सुर्खेत आएका थियौं’ बर्दिया राजापुर नगरपालिका–८ का युवराज चौधरीले भने, ‘व्यवसायी शर्माको पहलमा बबईसम्म पुगेका छौं, त्यहाँबाट आफ्नै नगरपालिकाले सवारी पठाएर घर जाँदैछौं ।’
चैत्रमा आएका सबैको परीक्षण
सुर्खेतका पालिकाहरुले विदेशबाट आएकाहरुमा कोराना भाइरसको संक्रमण भएनभए बारे परीक्षण गरिएको जनाएका छन् । छिमिके प्रदेश सुदूरपश्चिमसम्म सीमा जोडिएको चौकुने गाउँपालिकाले भारतबाट आएकाहरुको लगत संकलन गरेर कोरोना भाइरसको संक्रमण भएनभए बारे परीक्षण गर्ने काम चलिरहेको अध्यक्ष धिरबहादुर शाहीले बताए ।
‘गाउँपालिकाको क्वारेन्टाइनमा हाल एक भारतीयसहित सात जना छन्’ शाहीले भने, ‘उनीहरुको अवस्था सामान्य छ, १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउँछौं ।’ शाहीकाअनुसार झापाबाट उद्धार गरेर फर्किएकाहरु झापामै क्वारेन्टाइन बसेर आएकाले सात दिन घरबाहिर ननिस्किएर होम क्वारेन्टाइनमा बसालिएको छ ।
लकडाउन अगावै विदेशकाट आएकाहरुको पनि परीक्षण गरिरहेको पञ्चपुरी नगरपालिका मेयर उपेन्द्र थापाले बताए । ‘नगरपालिकाले पाँच ठाउँमा बनाएको क्वारेन्टाइमा हालसम्म २० जनालाई राखिएको थियो’ मेयर थापाले भने, ‘१३ जनालाई पठाइसकेका छौं, बाँकी पाँच जनामात्रै क्वारेन्टाइनमा हुनुहुन्छ ।’
नगरपालिकाले तेस्रो मुलुकबाट फर्किएकाहरुको पनि तथ्याङ्क संकलन गरेर ¥यापिड टेष्ट गरिरहेको थापाको भनाई छ । पञ्चपुरीमा बावियाचौरमा ५२, सालकोटमा ४८ र विद्यापुरमा ४७ जना भारतबाट आएका छन् । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको मेयर थापाले जनाए ।
गाउँसम्मै पठाउने गृहकार्य
कर्णाली सरकारले देशका अन्य जिल्लाहरुबाट फर्किएकाहरुलाई सम्बन्धित जिल्लाहरुम पठाउने गृहकार्य शुरु गरेको जनाएको छ । प्रत्येक दिन कर्णालीमा बाहिरबाट आउने संख्या बढ्न थालेपछि उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित जिल्लामा पठाउने सरकारले तयारी गरेको हो ।
‘कर्णाली फर्कने सबैलाई सुर्खेतमा राख्न नसकिने अवस्था देखिएको छ’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘कर्णालीका सबै पालिकाहरुले क्वारेन्टाइन बनाएकाले सुर्खेत आउनेको विवरणका आधारमा सम्वन्धित जिल्ला पठाइदिने गृहकार्यमा छलफल चलेको छ ।’ कर्णाली भित्रने प्रमुख नाका बबईमा दैनिक पचासबढी नागरिकहरु आइरहेको मन्त्री रावलले जानकारी दिए ।
‘पछिल्लो पटक आएका दुई पाँच जनालाई खुलामञ्चस्थित क्वारेन्टाइनमा राखेको छौं’ मन्त्री रावलले थपे, ‘अझै आउने क्रम झनझन बढिरहेकाले नजिकका जिल्लाहरुमैै पठाउने व्यवस्था मिलाउन प्रहरीलाई जिम्मेवारी दिने की भन्ने विषयमा छलफल भइरहेको छ ।’
मुगु, डोल्पा र हुम्लाका नागरिकलाई भने अनिवार्य सुर्खेतकै क्वारेन्टाइनमा राख्ने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री रावलको भनाई छ । बाँकी सात जिल्लाका नागरिकलाई भने जिल्ला प्रशासनलाई व्यवस्थापन गर्नेगरी सरकार लागिरहेको पनि रावलले बताए । तर जिल्लामा पठाइने नागरिकलाई भने घर नपाठाएर पालिकाहरुले बनाएको क्वारेन्टाइनमा अनिवार्य राखिने मन्त्री रावलले जनाए ।