☰ open Loading... 16 April 2024|  

भोलीसम्म कर्णालीमा ठूलो वर्षा हुने प्रक्षेपण
  | २२ बैशाख २०७७, सोमबार ११:३७

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आसपासका जिल्लामा भोलीसम्म भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । पश्चिमी वायुको प्रभावका कारण सोमबार विहानबाट चट्याङसहितको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावामा स्थानीय बायु मिसिदा मौसम बदली भइ पानी परिरहेको छ ।

‘अहिले सुर्खेतसहित कैलाली र बर्दियामा पश्चिमी वायुका कारण वर्षा भइरहेको छ’ मौसमविद् नगरकोटीले भनिन्, ‘त्यस क्षेत्रका खहरे खोलामा एक्काशी बाढी आउने सम्भावना रहेकाले सजकता अपनाउन जरुरी छ ।’

पश्चिमी वायुको ठूलो प्रणाली पश्चिम नेपालमा सक्रिय रहेकाले भोलीसम्म सक्रिय रहने मौसमविद् नगरकोटीको भनाई छ । ‘कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने प्रक्षेपण अहिले नै गर्न सकिदैन्’ नगरकोटीले भनिन्, ‘पश्चिमी वायुको ठूलो प्रणाली कर्णालीका उच्च पहाडी र प्रदेश पाँचका तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ ।’ हावाहुरीसहित असिना पानी र चट्याङ पनि पर्ने भएकाले उच्च सर्तकता अपनाउन मौसमविद् नगरकोटीको आग्रह छ ।

आज र भोली नदीहरुमा बहाब सामान्य मात्र बढ्ने, पर्सि बबई, कर्णाली र महाकाली नदीहरुमा उल्लेख्य बहाब बढ्ने महाशाखाको अनुमान छ ।

कञ्चनपुर, कैलाली, बर्दिया र बाँके जिल्ला भएर बहने चुरे खोला तथा डडेलधुरा, डोटी, अछाम, सुर्खेत, लगायत जिल्लाहरुका स–साना खोलाहरुमा आकस्मिक बाढी समेत आउने सम्भावना रहेको मशाखाको भनाई छ ।

सुर्खेतमा पछिल्लाे २४ घण्टामा १६‍.७ मिलिमिटर वर्षा मापन भएकाे माैसम फिल्ड कार्यालय एयरपाेर्टका फिल्ड इन्चार्ज हिमाल सिवाकाेटीले जानकारी दिए । उनकाअनुसार सुर्खेतकाे अधिकतम् तामक्रम ३१.३ र न्यूनतम तामक्रम १८.१ डिग्री रहने छ भने बायुकाे अाद्रता ७१ प्रतिशत छ ।