☰ open Loading... 29 March 2024|  

कर्णाली सरकारले अत्यावश्यक वस्तुमा पनि लगायाे राेक, सुर्खेतमा ग्यास अभाव
  | २९ बैशाख २०७७, सोमबार १०:४५

सुशील खड्का
सुर्खेत । कर्णाली सरकारले प्रदेश भित्रने मुख्य नाका सिल गरेपछि खाना पकाउने ग्यासको अभाव भएको छ । बैशाख २२ गते रातिदेखि लागु गरिएको नाका सिल निर्णयले अत्यावश्यक वस्तु ढुवानीमा समेत सरकारले रोक लगाउँदा कर्णालीमा ग्यास अभाव भएको हो ।


कर्णाली ल्याउन तयारी अवस्थामा राखिएका ग्यास लोड गरिएका सवारीहरु विभिन्न ठाउँमा रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्णाली भित्रने ग्यास बोकेका गाडीहरुबाट कोरोना भाइरस भित्रने भन्दै अनुमति नै नदिएको एक व्यवसायीले बताए ।

सुर्खेतमा भेरी, राप्ती, मनकामना र रेडियन्स ग्यासका विक्रेताहरु छन् । आठौं दिनदेखि ग्यास आपूर्ति गर्न अनुमति नपाउदा ग्यास ढुवानी गर्न नसकिएको नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दिपकप्रसाद घिमिरेले जानकारी दिए ।

उनकाअनुसार विभिन्न जिल्लाबाट ग्यास भर्न पठाउन लागिएका झण्डै १० हजार खाली सिलिण्डर सुर्खेतमा रोकिएका छन् । सुर्खेत ल्याउन तयारी अवस्थामा रहेका मनकामना र भेरी ग्यास बोकेका गाडी नेपालगञ्ज तथा रेडियन्स ग्यासका धनगढी र राप्ती ग्यासका दाङको अमेलियामा रोकिएको प्रमुख घिमिरेले बताए ।

‘अत्यावश्यक वस्तु ग्यास ढुवानीमा प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको छु’ प्रमुख घिमिरेले भने, ‘अनुमति नदिँदा कर्णाली सरकारले लागु गरेका नाका सिलले कुनै पनि कम्पनीका ग्यास ढुवानी गर्न सकिएको छैन् ।’

सोमबार विहानसम्म भेरीका ११, मनकामनाका एकसय ३५, राप्तीका ३२ र रेडियन्सका ५० ओटा मात्रै भरी ग्यास मौज्दात छ । कर्णालीमा दैनिक सरदर एक हजार पाँचसय ग्यास आपूर्तिहुँदै आएको घिमिरेको भनाई छ । लकडाउनका क्रममा दैनिक सरदर एकहजार ग्यास सिलिण्डर विक्रीहुँदै आएको छ ।