☰ open Loading... 5 June 2020|   शनिबार, जेष्ठ २४, २०७७

ग्यास, कृषि र हार्डवेयर सामग्री ढुवानी गर्न दिने कर्णाली सरकारको निर्णय

  |

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेश सरकारले ग्यास, कृषि जन्य सामग्री र हार्डवेयर सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश ५ को नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित फेला परेसँगै कर्णाली भित्रने मुख्य नाका सुर्खेतको बबई र कुइने र सल्यानको कपुरकोटमा बैशाख २३ गते विहानबाट नाका सिल गरेको थियो ।

बैठकले कर्णाली प्रदेश प्रवेश सिमा नाकाहरुबाट सवारी आवत जावतमा कडाई यथावत राख्ने तर अत्यावश्यक ढुवानी गर्ने सवारीहरुलाई भने सहज भित्रने दिने निर्णय गरेको छ ।

बैठकले बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गर्ने निर्णय गरेको छ । यस्तै, कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु (बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने छन् ।

यसैगरी, महत्वपूर्ण र रोजगारमूलक विकास निर्माणका लागि आवश्यक सामग्री (पाइप, छड, सिमेन्ट र निर्माण उपकरणहरु ढुवानी र ओसारपसार, चामल, दाल, नुन, तेल, चिनी जस्ता अत्वावश्यक खाद्य सामग्री, ग्याँस र डिजेल पेट्रोलजस्ता पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको हो ।

सुरक्षा सतर्कता अपनाउदै परियोजनाहरुमा काम गर्ने जनशक्ति बाह्य जिल्लाबाट आवत जावतको व्यवस्था पनि गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले भारत र नेपालका बिभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्नका लागि नाकामा नै क्वारेन्टाइन निर्माण गरेर राख्ने जनाएको छ ।

तर तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न लगाउन सकिने निर्णय बैठकले गरेको छ ।

तर भारत लगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकहरुले थप क्वारेन्टाइन निर्माण गराउन लगाइने छ । नाका सिल थप गरिएकाे वा अन्त्य भएकाे बारे बैठकले गरेकाे निर्णयमा उल्लेख गरिएकाे छैन् ।

प्रकाशित मितिः सोमवार, बैशाख २९, २०७७     8:52:07 PM
error: Content is protected !!