☰ open Loading... 18 April 2024|  

कर्णाली नदीमा तीन वेपत्ता, कैलालीबाट गोताखोर ल्याइँदै
  | ३ जेष्ठ २०७७, शनिबार १२:४६

सुर्खेत । पश्चिम सुर्खेतको धामु र कैलालीको कोलतडीस्थित कर्णाली नदीमा डुंगा पल्टिदा तीन जना वेपत्ता भएका छन् । सुर्खेतको चौकुने गाउँपालिका–२ धामुबाट कैलालीको मोहन्याल गाउँपालिका–२ कोल्तडी जाँदै गरेको डुंगा कर्णाली नदी पल्टिदा तीन जना वेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा चौकुने गाउँपालिका–२ धमु १० वर्षीय हरु विक, मोहन्याल गाउँपालिका– २ कोल्तडीका २५ वर्षिय मानकुमारी विक र उनका ४ वर्षिय छोरा धन बहादुर विक रहेको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक असरफ अलि अन्सारीले जानकारी दिए ।

उनकाअनुसार स्थानीयले डुंगा हिजो दिउँसो ४ बजे पल्टिएपनि प्रहरीलाई राती ९ बजे खवर गरेका थिए । घटनास्थलमा अस्थाई प्रहरी पोष्ट लगामका असई सुविन शाहको नेतृत्वमा हिजो साँझ नै प्रहरी परिचालन गरिएको अन्सारीले बताए ।

अहिलेसम्म नदीमा वेपत्ताहरु फेला नपरेको जानकारी दिए । ‘ईलाका प्रहरी कार्यालय पण्डाैन कैलालीकाे टाेली र हाम्रोतर्फका प्रहरीसहित स्थानीयले खोजी जारी राखिएका छन्’ अन्सारीले भने, ‘कैलालीतर्फ डुंगा पल्टिएकाले गोताखोरको टोली ल्याएर खोज्ने तयारी भइरहेको छ ।’

बन्दाबन्दीमा सुर्खेततर्फका सबै पुल, डुङ्गाहरु बन्द भएपछि कैलालीबाटै डुङ्गा मगाएर उनीहरु जाँदै गर्दा पल्टिएको खुलेको अन्सारीले बताए । डुङ्गा चालक भने पौडी खेलेर बाँचेको प्रहरीको भनाई ।