☰ open Loading... 25 April 2024|  

वनवासामै ३५ दिन क्वारेन्टाइन बसेका थिए कर्णालीका पहिलाे संक्रमित
  | ६ जेष्ठ २०७७, मंगलवार ०७:०७

सुर्खेत ।  देशैभर कोरोना त्रास बढिरहेको समयमा लकडाउनको ५६ औं दिनमा कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । दैलेख जिल्लाको आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवामा सोमवार कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिवार स्वाब संकलन गरी आइतवार जाँच गर्दा सुर्खेतमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना संक्रमण देखिएको थियो । थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि कोरोना पोजेटिभ देखिएको छ ।

भारतको आगरामा कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति आगराबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए । वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइन अवधि पूरा भएपछि भारतीय पक्षले जबरजस्ती नेपालतिर पठाएपछि ती युवासहित नेपालीहरूलाई स्थानीय तहको समन्वयमा उद्धार गरेर सम्बन्धित पालिका पठाइएको थियो ।

‘उहाँहरू भारतबाट आउनुभएको हो । महेन्द्रनगरबाट हामीले गाडी रिर्जव गरी उद्धार गरेर ल्याएका हौं । लक्ष्मी माध्यमिक विद्यालय सात्तालामा अहिले त्यहाँबाट ल्याइएका ३९ जना नागरिकलाई क्वारेन्टाइनमा राखेका छौं,’ आठबीसका वडाध्यक्ष पर्वसिंह विश्वकर्माले भने, ‘जेठ ३ गते शनिवार हामीले सबैको पीसीआरको स्वाब संकलन गराएका थियौं । उहाँहरू यहाँ आउने बेला आरडीटी जाँच गरिएको थियो, त्यसमा रिपोर्ट नेगेटिभ देखिएको थियो ।’ कोरोना पोजेटिभ देखिएको खबर पाएपछि अहिले वडा ‘लक’ गरिएको वडाध्यक्ष विश्वकर्माले बताए ।

आठबीस नगरपालिकाका नगर प्रमखु खड्गराज उपाध्यायले अब नगरपालिका नै सील गर्ने तयारी गरिरहेकाे बताए । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकी निर्देशक रिता भण्डारी जोशीले संक्रमितलाई दैलेख जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा ल्याउने तयारी गरिएको बताइन् । ‘उहाँहरू महेन्द्रनगरबाट जेठ १ गते आउनुभएको हो । स्वास्थ्य अवस्था एकदम नर्मल छ । समस्या भएको खण्डमा दैलेख अस्पतालमा नै भेन्टिलेटर भएका कारण त्यहीँ राखिने छ ।’

क्वारेन्टाइनमा बसेका ३९ जनाको स्वाब जाँच गर्दा ती व्यक्तिमा मात्रै पोजेटिभ देखिएको थियो । ‘अब क्वारेन्टाइनमा बसेका अन्यलाई पुनः जाँच गर्ने वा के गर्ने भन्ने निर्णय गर्नेछौं,’ उनले भनिन्, ‘उनीहरू सिधै महेन्द्रनगरबाट बसमा आएका कारण समुदायमा त्रास मान्नुपर्ने अवस्था छैन । गाडीमा आएका अन्यको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं ।’