☰ open Loading... 20 April 2024|  

दैलेखमा ६५० जना कोरोना जितेर घर फर्किए, थप ९ जनामा संक्रमण
  | १९ असार २०७७, शुक्रबार २०:३९

दैलेख । कर्णाली प्रदेशको कोरोनाको हटस्पट बनेको दैलेखमा ६ सय ५० जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना पोजेटिभ पुष्टि भएका ७ सय ८० जना मध्ये ६ सय ५० जना घर फर्किएका हुन् ।

दैलेखको नारायण नगरपालिकामा केही दिन अघि कोरोना परिक्षणको लागि स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी ।

कोरोना संक्रमित भरिभराउ भएका आइसोलेशन कक्ष संक्रमित सञ्चो भएर घर फर्किएपछि रित्तिएका छन् । पछिल्लो समय कोरोना जितेर घर फर्किनेको संख्यामा बृद्धि हुन थालेपछि जिल्ला सदरमुकाममा पसल फाटफुट खुल्न थालेका छन् । कोरोनाको डर त्रासले आक्रान्त बनेका सदरमुकामबासी अब बाँचिन्छकी भन्ने आशा पलाएको व्यापारी मयाराम पाण्डेले बताए ।

‘शुरु शुरुमा एकैदिन १८६ जनाको रिपोर्ट आउँदा बाँचिदैनकी भन्ने डरत्रास लागेको थियो । संक्रमितहरु सञ्चो भएर धमाधम घर फर्किन थालेपछि यो रोग सामान्य जस्तै लाग्न थालेको मनोबल बढेको छ’, उनले भने । ‘युवाहरुसँग यो रोगसँग लडन सक्ने क्षमता छिटो सञ्चो भयो । बुढाबुढी बालबालिका र गर्भवती महिलामा यो रोगबाट संक्रमित भए अवस्था जटिल हुने देखिन्छ । अब यो रोगबाट बुढाबुढी, बालबालिका गर्भवती महिला र दिर्घरोगीलाई बचाउन ११ वटै स्थानीय तहमा सचेतना कार्यक्रम चलाउनु पर्छ’ पाण्डेले थपे ।

दैलेख प्रयोगशालाबाट कोरोना परिक्षण शुरु
शुक्रबारदेखि दैलेख जिल्लाबाट कोरोना परिक्षण शुरु गरिएको छ । ११४ जना परिक्षण गरिएको शुक्रबार ९ जना कोराना संक्रमित पुष्टि भएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखले शुक्रबार जारी गरेको कोभिड– १९ प्रतिवेदन अनुसार प्रयोगशालामा १ सय १४ जनाको परीक्षण गरिएमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको र ९५ जनाको रिपोर्ट नेगेटिभ आएकोमा १० जनाको स्वाब पुन परीक्षण गर्दा पनि पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । दैलेखमा कोरोनाका बिरामी दिन दिनै बढ्दै गएपछि निर्वाचन क्षेत्र नं–१ का संघीय सांसद रवीन्द्रराज शर्माको पहलमा दैलेखमा पिसिआर मेसिन ल्याइएको थियो । पीसीआर मेसिनबाट जिल्लामा कोरोना परीक्षण हुँदै आएको छ ।

दैलेख प्रयोगशालाबाट कोरोना पोजेटिभ आएका मध्ये १ जना महिला,८ जना पुरुष रहेका छन् । कोरोना पोजेटिभ देखिएका मध्ये नारायण नगरपालिकाका जनप्रतिनिधी समेत रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । शुक्रवार दैलेख प्रयोग शालाबाट कोरोना पोजेटि देखिएका नारायण नगरपालिका १ मा ५ जना पुरुष, १ जना महिला वडानं २ मा १ जना पुरुष, वडानं १० मा एकजना पुरुष रहेका छन् भने डुगेश्वर गाउँपालिका २ मा एकजना पुरुष रहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिए । कोरोना पुष्टि भएका अधिकांशलाई आइसोलेशनमा ल्याएर उपचार भएपनि केही व्याक्ति भने होमक्वारेन्टाईनमा बसिरहेका छन् , उनले भने ।साभार राजधानी