☰ open Loading... 25 April 2024|  

मप विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप
  | ६ श्रावण २०७७, मंगलवार १७:००

सुर्खेत । असार २९ गतेदेखि रजिस्ट्रारविहीन बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रारका लागि आवेदन आहृवान गरेपछि उक्त पद हात पार्न दौडधुप सुरु भएको छ ।

रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका छन् । तर विश्वविद्यालयले पूर्वडीन तथा सेवा आयोगका सदस्य प्रा.डा. केशरसिंह राना, पूर्वडीन प्रा. डा. दीपबहादुर रावल, पूर्वडीन सह-प्राध्यापक अनन्तराज घिमिरे, डा. नारायप्रसाद पौडेल शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख उपसचिव जीतबहादुर शाह र डा. वुद्धि सापकोटाको नाम मात्र सार्वजनिक गरेको छ ।

केही व्यक्तिहरुको नाम सार्वजनिक भइसके पनि विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले गोपनीयताका कारण सबैको नाम सार्वजनिक नगरिएको बताएका छन् ।

नाम सार्वजनिक भएपछि उनीहरु आफ्नो पक्षमा माहोल बनाउन शक्ति केन्द्र धाउन थालेका छन् ।

राना र पौडेलको चर्चा

सार्वजनिक भएका व्यक्तिमध्ये बाटै रजिस्ट्रार बन्ने आकलन गरिएको छ । मुख्य प्रतिस्पर्धीको रूपमा सेवा आयोगका सदस्य तथा विज्ञान संकायका पूर्वडीन केशरसिंह रानालाई हेरिएको छ ।

राना यसअघि उपकुलपतिको दौडबाट बाहिरिएका हुन् । राना अनुभव र कार्यसम्पादनको हिसाबले आवेदन दिएका अरुभन्दा वरिष्ठ हुन् ।

विश्वविद्यालयको आधार क्याम्पसको रुपमा रहेको पब्लिक साइन्स क्याम्पसको प्रमुख रहिसकेका राना विश्वविद्यालयको डीन हुँदै सेवा आयोगको सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

अर्का उम्मेदवार डा. नारायण पौडेल लामो समय काठमाडौं विश्वविद्यालयमा अध्यापन गरेका र हाल मप विश्वविद्यालयमै करारमा कार्यरत छन् ।

हाल मप विश्वविद्यालयको व्यवस्थापन संकायका निर्देशक पौडेल यसअघि विश्वविद्यालय सेवा आयोगले लिएको प्राध्यापकको खुलातर्फको परीक्षामा असफल भएका थिए । उनले अहिले पनि प्राध्यापकका लागि परीक्षा दिएका छन् ।

यस्तै, पूर्वडीन एवम् सह-प्राध्यापक अनन्तराज घिमिरेको पनि रजिष्ट्रारको लागि चर्चा रहेको छ ।

क्षमतावान मान्छे ल्याउँछु : उपकुलपति सिंह

रजिष्ट्रारको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई छ । उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले अर्थशास्त्रमा अब्बल पात्रलाई रजिस्ट्रारको लागि सिफारिस गर्ने बताउँदै आएका छन् ।

छनोट प्रक्रिया पारदर्शी बनाउन भन्दै विश्वविद्यालयले रजिष्ट्रारसँगै विभिन्न तीन संकायका डीनका लागि खुला दरखास्त आहृवान गरेको थियो ।

उपकुलपति प्रा.डा. सिंहले योग्य र दक्ष उम्मेदवार रजिष्ट्रार हुने बताए । ‘रजिष्ट्रार, सम्बन्धित विषयमा व्यवसायिकता भएको, अर्थशास्त्र बुझेको, प्रशासन बुझेको नियुक्त हुन्छ,’ उपकुलपति सिंहले भने ।

विश्वव्यापी मान्यतामा आधारित रहेर रजिष्ट्रारको नियुक्त हुने र विश्वविद्यालयमा योग्य मान्छे आउने उनले बताए ।

उपकुलपति सिंहले तीन सदस्यीय छनौट समिति पनि बनाइसकेको जानकारी दिए । ‘तपाईंहरु ढुक्क हुनुहोस्, मैले योग्य र क्षमतावान मान्छे ल्याउछु,’ उनले भने ।

तर, विश्वविद्यालयका कर्मचारीहरुले भने उपकुलपतिको नियत राम्रो नभएको बताएका छन् । विश्वविद्यालयका एक कर्मचारीले उपकुलपतिले आफू निकट जुनियर व्यक्तिलाई रजिष्ट्रार बनाउने खेलमा लागिरहेको बताए । अनलाइनखबरबाट