☰ open Loading... 29 March 2024|  

कमिशनमा सेनेटरी प्याड खरिद
  | ९ श्रावण २०७७, शुक्रबार २१:०४

गोविन्द केसी
दैलेख, साउन ९ – विद्यालयले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ । कमिशनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लार्यस सुर्खेतबाट सुचना र कोटेशनविना विद्यालयको नाममा खरिद गरेको हो ।
फ्रिज जाने भन्दै असारमसान्तमा नगरपालिकाले विद्यालयमा किशोरीहरुका लागि आवश्यक सेनेटेरी प्याड खरिदका लागि नारायण नगरपालिकाको १७ विद्यालयमा २१ लाख ७९ हजार रुपैँया जम्मा गरेको थियो । साउन लागेसंगै नारायण नगरपालिका शिक्षा शाखाले कमिशन पाउने लोभमा प्रतिस्पर्धाविनै सुर्खेतको एक सप्लायर्सबाट खरिद गरेको हो । सामानसंगै सप्लायर्सले विद्यालयपिच्छे सेनेटरी प्याट र विलहरु पठाएपछि दैलेखका विद्यालयहरुले असहमती जनाएका हुन् । नारायण नगरपालिकाभर रहेका ६ देखी १२ कक्षासम्म पढ्ने छात्राहरुका सेनेटरी प्याड खरिदको कार्यक्रम गर्त आर्थिक वर्षमा नगरपालिकामा आएको थियो । सेनेटरी प्याड खरिदका लागि पैसा विद्यालयको खातामा रहेपनि नगरपालिकाले सेनेटरी प्याट किनेर विद्यालयमा एक्कासी ल्याएर भुक्तानी सप्लायर्सले मागेको त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजारमा प्रधानाध्यापक निरक तारामीले बताए । ‘विद्यालयले कोटेशन तथा सुचना निकालेर खरिद गर्ने कार्ययोजना रहेको थियो ।’ प्रधानाध्यापक तारामीले भने, नगरपालिकाले सामान ल्याएको छ । अव, के गर्ने गाह्रो भयो ।’ सामान विद्यालयमै पठाएर भुक्तानीका लागि विक्रेता आउने गरेको विद्यालयका एक प्रधानाध्याकले गुनासो गरे ।
सामान खरिदको लागि विद्यालयको खातामा पैसा पठाईएकोले विद्यालयले नै सेनेटरी प्याड खरिद गर्नुपर्ने नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले बताए । खरिदबारे आफुहरुलाई थाहा नभएको तर, नगरपालिकाले खरिद गरेर विद्यालयमा पठाउन नमिल्ने प्रमुख प्रशासकिय अधिकृत नेपालीको भनाई छ । सवै प्रअहरुलाई नगरपालिकामा बोलाएर शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले नगरपालिकाबाटै खरिद गरेर विद्यालयमा उपलब्ध गराउने बताएको एक प्रधानाध्यापकले नाम नछाप्ने शर्तमा बताए । मोटो कमिशनको लोभमा सवै विद्यालयको सामान नगरपालिका मार्फत किनिएको भन्दै अहिले विद्यालयहरुले विरोध गरेका छन् । २१लाख ७९ हजार रुपैँयामा १७ विद्यालयका लागि कम्पनीसंग आफुहरुले कुरा गरेर मगाईदिएको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहीले बताए । उनले भने, ‘सजिलो होस् भनेर सामान मगाएपनि विद्यालयले किन्ने या नकिन्ने निर्णय स्वयम लिन सक्छ ।’ पैसा फ्रिज हुन लागेकाले आफुहरुले कोटेशन नलिई एउटा कम्पनीबाट मगाएको शाहीले बताए । निम्न माध्यमिक विद्यालयहरुमा ४० हजारदेखी माध्यमिक विद्यालयमा १ लाख ५० हजारसम्म सेनेटरी प्याड किन्नको लागि नगरपालिकाले पैसा पठाएको थियो ।